कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेर रिस फेरेपछि इरानले इसराइलसँगको युद्ध अन्त्य गरेको छ। अमेरिकाले आइतबार आफ्ना आणविक भट्टीमा आक्रमण गरेको जबाफमा इरानले सोमबार सांकेतिक हमला गरेपछि १२ दिनदेखि चलिरहेको युद्ध रोकिएको हो।
इसराइलले इरानको आणविक हतियार कार्यक्रम रोक्न जुन १३ मा युद्ध छेडेको थियो। इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टी इसराइलले ध्वस्त पार्न नसकेपछि अमेरिका पनि युद्धमा होमिएको थियो।
अमेरिका युद्धमा सहभागी भए कडा जबाफ फर्काउने चेतावनी इरानले दिएको थियो। त्यसका बाबजुद राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रहार गरे।
अमेरिकाको मिजोरीबाट करिब १८ घन्टा उडेर गएका एक सय २५ वटा विमानले इरानमा आक्रमण गरेका थिए। त्यसमा बी–२ बमवर्षक, लडाकु र हावामै तेल भर्न सक्ने विमान थिए।
तर अमेरिकाले हमला गर्नुअघि इरानलाई भट्टीहरूमा मात्र प्रहार गरेको र अन्त कतै प्रहार नगर्ने भन्दै सुटुक्क सन्देश पठाएको थियो। आफ्नो सैन्य कारबाही सकिएको र त्यसको कडा जबाफ दिए सारा शक्तिका साथ इरानमाथि जाइलाग्ने चेतावनी पनि दियो।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी संरचनाहरूमा कडा प्रहार गर्ने वा आफ्नो नजिकै रहेको समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गर्ने खतरा थियो। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल अनि करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। अमेरिकी संरचनामा कडा प्रहार गरे वा विश्व अर्थतन्त्र नै संकटमा पार्ने गरी 'स्ट्रेट अफ हर्मुज' बन्द गरे अमेरिकाको इरानसँग पूर्ण युद्ध हुन्थ्यो।
इरानले जबाफ दिनैपर्थ्यो तर युद्ध नभड्कियोस् भनेर सचेत पनि थियो। द न्यूयोर्क टाइम्सका अनुसार इरानी सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले आफू लुकेको बंकरबाटै पूर्ण युद्ध नहुने गरी जबाफी हमला गर्न सन्देश पठाएका थिए। अनि ट्रम्पले फेरि जबाफ दिने गरी ठूलो क्षति नहोस् भनेर इरानले कतारमार्फत अमेरिकालाई अग्रिम सूचना दिएर सांकेतिक हमला गर्यो।
इरानले जबाफी हमलाका लागि कतारस्थित अमेरिकी सैन्य अखडा छान्नुमा दुई कारण रहेको मानिन्छ।
पहिलो, मध्यपूर्वको सबभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारकै हो।
दोस्रो, अमेरिकी सैन्य अखडा भएका मध्यपूर्वका देशमध्ये कतारसँग इरानको सबभन्दा राम्रो सम्बन्ध छ। त्यसैले यहाँ प्रहार गर्दा कूटनीतिक हिसाबमा इरानलाई सबभन्दा सजिलो हुन्थ्यो। क्षति न्यूनीकरणका लागि सहकार्य पनि सहज हुन्थ्यो।
अमेरिकाले प्रहार गरेको १४ वटा जिबियू–५७ बमको जवाफमा इरानले १४ वटा मिसाइल पूर्वसूचना पछि खाली गरिएको अमेरिकी अखडामा प्रहार गर्यो। त्यसमध्ये १३ वटा मिसाइल एअर-डिफेन्स सिस्टमले खसाले भने खसाल्न नसकेकोले पनि खासै क्षति नभएको अमेरिकाले दाबी गरेको छ।
इरानले आक्रमण गरेको केही घन्टामै ट्रम्पले आफ्नै सरकारका अधिकारीहरूलाई समेत छक्क पार्दै इसराइल र इरानबीच युद्धविराम हुने घोषणा गरे।
उनले सुरूमा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेर मनाए। त्यसपछि कतारमार्फत इरानलाई पनि युद्धविरामको प्रस्ताव गरे।
ट्रम्पले इरानमाथि आक्रमण गरेर त्यत्रो गुन लगाएकाले नेतन्याहुले नमान्ने कुरै थिएन। अर्कातिर युद्धमा इसराइलको दैनिक सरदर २० करोड डलरभन्दा बढी खर्च भइरहेको थियो। मानवीय क्षति धेरै नभए पनि जनजीवन प्रभावित थियो। आफ्ना सबै लक्ष्य प्राप्त गरिसकेकाले पनि युद्ध लम्ब्याउने इसराइलको उद्देश्य थिएन।
इरानले सुरूदेखि नै इसराइली हमला रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेको थियो। निरीह भइसकेको उसका लागि युद्धविराम झन् आवश्यक थियो।
युद्धविराम घोषणापछि पनि इरानले इसराइलमाथि मिसाइल प्रहार गरेको समाचार आएका छन्। तर दुवै देशले युद्धविराम पालना गर्ने देखिन्छ।
अब यो युद्धविरामपछि मध्यपूर्वमा के होला भन्नेबारे चर्चा गरौं।
आफ्नो सीमा नजोडिएकाले इरानले इसराइललाई घेराबन्दी गर्न छिमेकी मुलुकहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गाजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। यसको निम्ति इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुद्स फोर्सले विदेशी समूहहरू परिचालन गर्छ।
इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेसिस्टेन्स' भनिन्छ। बसर अल–असदले शासन गरेको सिरिया पनि यो मोर्चाबन्दीको हिस्सा थियो। इरानले एक्सिस अफ रेसिस्टेन्स र त्यसकै आडमा आणविक हतियार कार्यक्रम पनि चलाउँथ्यो। आणविक हतियार बनाए आफूलाई कसैले आक्रमण नगर्ने ठानेर इरानले आणविक कार्यक्रम चलाएको हो। इरानले आणविक हतियार बनाउन खोजे पनि एक्सिस अफ रेसिस्टेन्सबाट खतरा भएकाले इसराइलले इरानमाथि खुल्लमखुल्ला प्रहार गर्न सक्दैनथ्यो।
२०२३ अक्टोबर ७ मा हमासले हमला गरेपछि भने इसराइलले एक–एक गरेर एक्सिस अफ रेसिस्टेन्समा रहेका समूहलाई कमजोर पार्यो। अन्ततः इरानमाथि नै धावा बोल्यो।
इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम हतियार बनाउन नभई शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ। तर इसराइल र अमेरिका लगायत पश्चिमा राष्ट्रले हतियार नै बनाउन खोजेको भन्दै रोक्ने कोसिस गर्दै आएका हुन्।
पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले आणविक हतियार कार्यक्रम रोक्नेबारे गरेको बहुराष्ट्रिय सम्झौता ट्रम्पले पहिलो कार्यकालमै तोडेका थिए। त्यसपछि वर्षौँसम्म अप्रत्यक्ष वार्ता भए पनि कुनै सफलता हासिल भएको छैन।
इसराइल र अमेरिकाले इरानलाई कहिल्यै आणविक हतियार बनाउन नदिने चेतावनी दिइरहेका थिए। ट्रम्पले भने आफ्नो दोस्रो कार्यकालमा अप्रत्याशित रूपले इरानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरे। ट्रम्पलाई नोबेल शान्ति पुरस्कार जित्ने उत्कट चाहना छ। रूस–युक्रेन युद्ध रोक्ने योजना सफल नहुने देखे पछि नोबेल पुरस्कारको आशमै ट्रम्पले इरानमाथि हमला नगरेर वार्ताको पहल गरेको कतिले अनुमान गरेका थिए।
सुरूमा त अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने ट्रम्पका अर्बपति मित्र स्टिभ विट्कफले झन्डै ओबामाले गरेकै खालका सर्तमा सम्झौता हुन सक्ने संकेत गरेका थिए। तर आफूले काम नलाग्ने भनेर पहिलो कार्यकालमा तोडेकै खालको सम्झौता गर्नु हुँदैन भनेर ट्रम्पलाई सल्लाहकारहरूले सम्झाए।
त्यसपछि अमेरिकाले इरानमाथि आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने र अरू देशमा विभिन्न समूह सञ्चालन पनि नगर्ने कडा सर्त तेर्स्यायो।
अहिलेका आणविक भट्टीहरू बन्द गरेर ऊर्जा निकाल्ने लगायत गैरसैनिक प्रयोजनका लागि साउदी अरब लगायत देशहरूसँग संयुक्त आणविक कार्यक्रम चलाउनुपर्ने प्रस्ताव अमेरिकाले गरेको मानिन्छ।
अमेरिकाले प्रस्ताव गरेको संयुक्त आणविक कार्यक्रम इरानी भूमिमा सञ्चालन हुने हो भने इरानले मान्ने अनुमान केही मिडियाहरूले गरेका थिए। कतिले त दबाब बढाउँदै लगे अरू देशमै उक्त कार्यक्रम चलाए पनि इरानले मान्छ भन्ने अड्कल गरेका थिए।
एक्सिस अफ रेसिस्टेन्स र इरान दुवै कमजोर भएकाले यो वर्षको सुरूदेखि नै इसराइलले इरानमाथि हमला गर्ने प्रयास गरिरहेको थियो। तर अमेरिकाले पटक पटक वार्ताबाटै समाधान खोज्नुपर्छ भनेर इसराइललाई रोकेको थियो।
अप्रिलमा ट्रम्प आफैले इरानसँग वार्ताका लागि इसराइलसँग ६० दिनको समय मागेका थिए। यस्तोमा ट्रम्पले नेतन्याहुसँग मागेको दुई महिनाको समय जुन १२ मा सकियो। त्यसै दिन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आणविक हतियार कार्यक्रम अघि नबढाउने प्रतिबद्धता अनुसारका केही सर्त इरानले उल्लंघन गरेको घोषणा गर्यो। छोटो समयमै केही आणविक हतियार बनाउन सक्ने गरी युरेनियम प्रशोधन गरेको आरोप लगायो।
यसले इसराइललाई इरानमाथि हमला गर्न थप कारण मिल्यो। इरानले बाहिर वार्ता गरेजस्तो गरी भित्रभित्रै आणविक कार्यक्रम अघि बढाएर हतियार बनाउन लागेको भन्दै भोलिपल्टै इसराइलले आक्रमण गर्यो। इरानको सैन्य संरचना, हतियार प्रणाली, हवाई सुरक्षा प्रणाली, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकैपटक प्रहार गर्यो र यी कार्यक्रममा संलग्न धेरै वैज्ञानिकको हत्या गर्यो।
आइतबार अमेरिकाले फर्दोसहित तीन आणविक भट्टीमा प्रहार गरेपछि इरानको आणविक कार्यक्रम धेरै पछाडि धकेलिएको छ। आक्रमणले इरानी आणविक भट्टीहरूमा कति क्षति भयो भन्ने अझै यकिन छैन। त्यस्तै आक्रमण हुनअघि नै इरानले उच्च प्रशोधित युरेनियम लुकाएको हुन सक्ने समाचारहरू पनि आएका छन्। तैपनि इरानले आणविक हतियार बनाउने सम्भावना अहिलेलाई टरेको देखिन्छ।
इरानका लागि यो युद्ध लज्जास्पद रह्यो। अत्याधुनिक अमेरिकी लडाकु विमान प्रयोग गरेर इसराइलले इरानको आकाशमाथि कब्जा जमायो। जहाँ मन लाग्यो त्यहीँ प्रहार गर्यो। रातमा मात्र नभएर दिनकै उज्यालोमा पनि बमबारी गर्यो।
अर्कोतर्फ इरानले प्रहार गरेका प्रायः मिसाइल इसराइली एअर–डिफेन्स सिस्टमले खसाल्यो। इसराइलले मनलाग्दी प्रहार गरिरहँदा इरानले आक्कल–झुक्कल मात्र नोक्सान पुर्याउन सक्यो।
यी दुई देशबीच १२ दिनसम्म चलेको युद्धबाट के पाठ लिने भन्ने चाहिँ इरानमै भर पर्छ।
इरानले जे दाबी गरे पनि हतियार बनाउनै आणविक कार्यक्रम चलाएको देखिन्छ। ऊर्जा निकाल्न युरेनियम थोरै प्रशोधन गर्दा पनि हुन्छ। तर इरानले हतियार बनाउन मिल्ने गरी उच्च स्तरसम्म प्रशोधन गरिरहेको थियो। आणविक भट्टी पनि गोप्य बंकरमा बनाएको थियो।
इसराइलले लज्जास्पद रूपमा हराएको र अमेरिका समेत युद्धमा समावेश भएपछि इरानले अब सधैंका लागि आणविक हतियार कार्यक्रम त्याग्न पनि सक्छ।
दोस्रो विश्व युद्धमा पराजित भएपछि जर्मनी र जापानले अँगालेको जस्तो शान्तिको नीति अपनाएर आर्थिक विकासमा ध्यान दिन सक्छ। आणविक कार्यक्रम चलाएकै कारण इरानमा अमेरिका लगायत पश्चिमा देशहरूले नाकाबन्दी गरेका थिए। यो अब फुकुवा हुनेछ। त्यसपछि प्रशस्त तेल भएको इरानले द्रुत गतिमा विकास गर्न सक्छ।
इसराइल लगायत अरू छिमेकी देशविरूद्ध विभिन्न समूह परिचालन नगरे आणविक हतियार नहुँदा पनि इरानलाई सुरक्षा खतरा हुँदैन।
ट्रम्पले प्रस्ताव गरेजस्तो ऊर्जा निकाल्ने लगायत गैरसैनिक प्रयोजनका लागि साउदी अरब लगायत देशसँग संयुक्त आणविक कार्यक्रम चलाउन इरानले पाउनेछ। यस्तो भए, इरानले साउदी, छिमेकी मुलुक र इसराइलसँगै पनि सम्बन्ध सुधारेर आर्थिक छलाङ मार्न सक्नेछ। पूरै मध्यपूर्वमा शान्ति र उच्च विकास हुनेछ।
यहाँनिर अमेरिका र इसराइलले कमजोर इरानलाई हेपेर मान्नै नसक्ने लाजमर्दा सर्तहरू राख्न हुँदैन। पहिलो विश्व युद्ध हारेको जर्मनीलाई धेरै हेपेकै कारण उसले शक्ति आर्जन गरेर दोस्रो विश्व युद्ध सुरू गरेको थियो। त्यही गल्ती अमेरिका र इसराइलले दोहोर्याएर इरानलाई कुनामा पुर्याउनु हुँदैन।
इरानले अब आणविक हतियार नभएकैले आफ्नो लज्जास्पद हार भयो भन्ने पनि सोच्न सक्छ।
यस्तो भयो भने उसले गोप्य रूपमा फेरि आणविक हतियार बनाउन थाल्नेछ। इसराइल र अरू छिमेकीलाई दुःख दिन फेरि विभिन्न समूह परिचालन गर्नेछ। तर यो कुरा थाहा पाउनेबित्तिकै इसराइलले आक्रमण गर्नेछ। इरानको शक्तिमा व्यापक क्षय भएकाले इसराइललाई आक्रमण गर्न झन् सजिलो हुनेछ। इसराइलले आफै रोक्न नसके अहिलेको जस्तो अमेरिकाको सहयोग माग्नेछ। अमेरिकाले सहयोग नगरे आणविक हतियार प्रहार गरेर भए पनि इरानलाई रोक्न खोज्नेछ।
इरानले इसराइलको अस्तित्व नै स्वीकार नगर्ने र ध्वस्त पार्ने प्रण लिएको छ। त्यसैले इसराइलले उसलाई आणविक हतियार बनाउन कुनै हालतमा दिँदैन।
भौगोलिक रूपमा सानो इसराइल ध्वस्त पार्न एउटा आणविक बम काफी छ भनेर इरानका पूर्वराष्ट्रपति अली अकबर हसेमी रफसनजानीले सन् २००१ मै भनेका थिए।
त्यसैले इरानले आणविक हतियार बनाउन प्रयास गर्यो भने पटक पटक अहिलेको जस्तो युद्ध भइरहनेछ। अमेरिका लगायत पश्चिमा देशले नाकाबन्दी जारी राख्नेछन् र इरानको अर्थतन्त्र संकटमै रहनेछ। पटक पटक युद्ध लड्न र आणविक कार्यक्रमका लागि ठूलो लगानी गर्नुपर्ने भएकाले इरानी जनताको जीवन झन् कष्टकर हुनेछ।
इरानले जस्तो पाठ लिए पनि यो युद्धका कारण ट्रम्पका सामु गजाको युद्ध रोक्ने र प्यालेस्टिनी समस्या समाधान गर्ने सुनौलो अवसर भने जुरेको छ।
इसराइलले गजामा दसौं हजार बालबालिका र महिलाको हत्या गरेको छ। प्यालेस्टिनीको नरसंहार गरेको आरोप नेतन्याहुमाथि छ। अहिले इसराइलभित्रै पनि निर्दोष प्यालेस्टिनी बालबालिकाको हत्या गरेर विश्वभर छवि बिगारेको भन्दै नेतन्याहुको विरोध हुन थालेको छ।
इरानको आणविक भट्टी ध्वस्त पार्न सहयोग गरेको बदलामा ट्रम्पले नेतन्याहुलाई गजाको युद्ध रोक्न दबाब हाल्न सक्छन्। प्यालेस्टिनीका लागि बेग्लै राज्य बनाउन इसराइल राजी भए मध्यपूर्वमा साँचो अर्थमा शान्ति आउनेछ। त्यसका लागि नेतन्याहुलाई मनाउन सके ट्रम्पको नोबेल पुरस्कार जित्ने सपना पनि साकार हुन सक्छ।
***