नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।
नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताए।
उनले सकारात्मक पक्षहरूमा आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने स्पष्ट पारे।
'यी कुराहरूमा लाई हामीले स्वागत पनि गर्नुपर्छ र आवश्यक परेको ठाउँमा भोलि यसका लागि चाहिने कानुनहरू निर्माण गर्नुपर्ने छ यसमा हामीले मद्दत पनि गर्नुपर्छ । जहाँ ठिक कुरा भएको छ त्यसलाई हामीले ठिक भन्नुपर्छ । तर केही कुराहरू छन् जहाँ हामीले सचेत गराउनुपर्छ,' उनले भने।
उनले अहिलेको सरकारले गरिब र गरिबीबारे मेसो नपाएको पनि बताए।
'यो सरकारले के गर्नुपर्ने हो भने गरिबी हटाउँछु भन्नुपर्ने ठाउँमा यो गरिबी हटाउने तिर लागेको छैन यो गरिब मास्न तिर लागेको छ । गरिबी हटाउने होइन गरिब मास्ने कुराले सोचले कहिल्यै पनि गरिबी सकिँदैन । भूमिहीन र सुकुम्बासीको सन्दर्भमा गरेको व्यवहारलाई कतिवटा टहरा भत्क्यो भनेर नहेरौँ । यो राज्यको नियत के देखिन्छ प्रवृत्ति के देखिन्छ भने म गरिबी हटाउँछु होइन म गरिबलाई हटाइदिन्छु । मेरो अगाडि जो गरिब पर्छ त्यसलाई मास्दिन्छु म हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ,' उनले भने।
सरकार गरिबबारे उदासिन भएको पनि उनले बताए।
'उनले हिजोको बजेटमा पनि हामीले यो कुरा देख्यौँ । आर्थिक मन्दीबाट सबैभन्दा बढी पिल्सिएको अहिलेको महँगीबाट सबैभन्दा बढी पिल्सिएको सबैभन्दा न्यून आय भएका मानिसहरू जसको भान्सा चल्न गाह्रो भएको छ, जसको केटाकेटीलाई पढाउन गाह्रो भएको छ विद्यालयको शुल्क तिर्न गाह्रो भएको छ जसलाई अस्पतालमा गएर पैसा तिर्न गाह्रो भएको छ हिजो हामीले करका दरहरू पुनरावलोकन गरेको हामीले हेर्यौँ भनेदेखि भए के पाउँछौँ भने स्टेटको दिमागमा नै यो गरिबप्रति ठूलो उदासीनता छ,' उनले भने।
माथिल्लो आम्दानी भएका मानिसहरूको सन्दर्भमा भने कयौं कुराहरू सकारात्मक रहेको उनले बताए।
उनले सामाजिक सञ्जालमा बजेटबारे वाहवाही भइरहेको पनि बताए। तर विपक्षी भएको हैसियतले वाहवाहीमा बहकिने र बोल्न बाट भाग्न नहुने जिम्मेवारी रहेको उनले बताए।
'कतै गएर बोल्दै गर्दा गाली खाइन्छ भनेर तर्सेर भाग्ने पनि होइन हाम्रो ड्युटी छ । हामी अपोजिसन हौँ । सरकारले संविधान मास्छ कांग्रेस उभिन्छ । सरकार कानुनका विरुद्धमा बोल्छ कांग्रेस उभिन्छ । सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन उसले त्यसको नीति उसको स्रोत साधन नियम कानुन त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले यो कुरा प्राप्त गर्नुपर्छ भनेर त्यहाँ कांग्रेस उभिन्छ यो अपोजिसनको ड्युटी हो,' उनले भने।
विपक्षीको जिम्मेवारी निर्वाह गर्न गाह्रो हुने पनि उनले बताए।
'अपोजिसनको ड्युटी निर्वाह गरिराख्दै गर्दा तपाईंसँग त्यो नैतिक साहस चाहिन्छ नैतिक ताकत चाहिन्छ नागरिकको भरोसा जित्नुपर्छ जनताको बीचमा जानुपर्छ,' उनले भने।
सभापति थापाले पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्वको गन्थन छोडेर जनताको बीचमा जान निर्देशन दिए। थारु संघ, विद्यार्थी संगठन, महिला र दलित संघ जस्ता संस्थाहरूले आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर नागरिकको भरोसा जित्नुपर्नेमा उनले जोड दिए। –न्युज एजेन्सी नेपाल