'कोलोराडोको नेपाली साहित्य मेलामा के के भयो?'
समाचार त दिनेश कार्की बस्टन आइपुग्नुभन्दा पहिल्यै पढेको हुँ। तर सबै रोचक कुरा समाचारमा हुँदैनन् नि!
त्यो 'अफ द रेकर्ड' को तलतल शरद धितालले अझै बढाइरहेको थियो, उताबाट छुस्स छुस्स गफगाफका 'टिजर' हरू पठाएर।
बस्टनबाट साथीहरू नारायण श्रेष्ठ र दिनेश साहित्य उत्सवमा सहभागी हुन कोलोराडो उडेका थिए। मनोज अधिकारी र म भने कोलोराडोको कुरा सुन्न टेक्सास यात्रा कुर्दै छौं, जहाँ आज शनिबार साहित्यको अर्को अखडा जम्नेवाला छ। र, हामी चारै जना मेला भ्याउन तम्तयार जात्रालुजस्तो भएका छौं।
ओहो साथीहरू कति जाँगरिला! नारायणको कवितामाथि दिनेशले बनाएको भिडिओ आइसकेछ।
'देखिस्, कोलोराडोले केटाहरूलाई कति क्रियटिभ बनायो,' मलाई उता नगएकोमा हल्का 'जलाउने' अभिप्रायले भिडिओको लिंक पठाउँदै शरदले म्यासेन्जरमा लेख्यो।
'कवि, कवितामाथि भिडिओग्राफरको अर्को कविता!' नर्थ क्यारोलाइनाबाट पेशल पोखरेल दाइले व्यक्त गरेको प्रतिक्रियाको प्रत्युत्तर दिनेशले कविताकै शैलीमा दिएछ, 'नारायणजीका भिडिओहरू संकलित थिए। सोचेँ, ती भिडिओहरू उनकै कवितालाई जिम्मा लगाइदिन्छु। अनि यसरी फिर्ता गरिदिएँ।'
कवितालाई दृश्यमा उतार्न खोज्नु पानीलाई आकार दिन खोजे जस्तो लाग्छ मलाई। जस्तो आकारमा ढाले पनि पानीको स्वभाव र जस्तो अर्थ लगाए पनि कविताको भाव उस्तै बसिरहँदैन।
कुनै कुनै कविताले त यस्तो संसारमा पुर्याउँछ, जुन कहिल्यै आँखाले देखेको हुँदैन। फेरि कुनै स्थानलाई विशेष समय र संयोगले यति सुन्दर बनाइदिन्छ, त्यो कविताजस्तो लाग्छ।
'कविहरू लेख्नुअघि कविता देख्छन् होला है? कस्तो हुन्छ होला कविले देखेको कविताको रङ?' न्यू ह्याम्सर यात्रामा रहँदा मैले नारायणलाई सोधेको थिएँ।
कविताको चर्चाले हो कि प्रकृतिको प्रभाव, उनको मुखबाट गजबको परिभाष निस्कियो, 'शब्द र शब्दबीचको दूरी नै कविताको गहिराइ हो।'
नागबेली घुमेको कालोपत्रे बाटो जंगलमै बिलाएजस्तो, शिशिर जितेर पलाएका पातले छेक्न नभ्याएर भुइँमा पोखिएका घामका किरण, कतै घाँसे मैदान, कतै गोठ, कतै सानो बजार। नारायण यी सबै दृश्य नियाल्दै भन्छन्, 'आहा, यही त टिपेर पस्किएछन् फ्रस्टले!'
उनले यसो भनेपछि मलाई रोबर्ट फ्रस्टको कविता 'द रोड नट टेकन' को वर्णन अनुरूप त्यो भूगोलको अवलोकन गर्न मन लाग्यो। आहा, कस्तो दुरूस्त!
सौन्दर्यमाथि दर्शन हाबी भएको हो कि दर्शनले सौन्दर्यलाई अझै गहिरोसँग उजागर गरेको हो, मलाई बुझ्न हम्मे हम्मे परेको थियो।
फ्रस्टकै अर्को कविता 'स्टपिङ बाई उड्स अन अ स्नोई इभिनिङ' मा उनले छोटो दिनका हिउँदे जंगललाई दिएको उपमा 'लभ्ली', 'डार्क' र 'डिप' कस्तो बेग्लै!
उधुमै राम्रो 'फल कलर' देखिने न्यू इङ्ल्यान्डका जंगललाई कवि हिउँदको लामो अन्धकारमा पो 'लभ्ली' देख्छन्। हामीले नरमाइलो ठानेको यताको चार महिने हिउँद कवितामा त कति राम्रो! त्यसमा छिपेको भाव आकलन गरेर त्यसलाई आकार दिने मैले चेष्टा गरिनँ।
'सौन्दर्य दृश्यमा हैन, दृष्टिकोणमा हुन्छ' भन्ने पुरानै भनाइमा पुनः सहमत भएँ।
प्रकृति र जीवनको उम्दा वक्तव्य बनेर कविलाई चिनाउँदै आएका छन् उनका कविता। र, पानामा छापिएका कविताका पनि प्रेरणा भनेर चिनिने न्यू इङल्यान्डका वनपाखा चहार्दा अक्सर हामी साहित्यकै कुरा गरिरहेका हुन्छौं।
कुरा कविताकै थियो, साथीहरू काव्य पारखी थिए र गाउँ थियो फ्रस्टकै 'फेभरेट'!
म कविदेखि कविसम्मको फराकिलो अन्तरालमा पो भुल्नु खोज्छु। कविता लेख्छु भन्ने कवि र कविताले बनाउने कविमा टड्कारै देखिँदैन त त्यो अन्तराल?
त्यो अन्तराल साथी नारायण र कवि नारायणमा पनि छ। उनले दुई दशकअघि लेखेको कविता संग्रह 'साक्षी' र 'पार्थिव तस्बिर' पढेर म त्यो अन्तरालको आकलन गरिरहेको छु।
कविलाई संगतले मात्र बुझिँदैन रहेछ। कविताले मात्रै सही परिचय दिँदो रहेछ कविको। कविताले चिनाएको नारायण अन्तरयात्री हो। अवलोकन हैन, आफ्नै अनुभूतिको रेसाले जाल बुन्ने आत्मनिर्भर माकुरो।
'तिमीले यी किताब पढिसक्यौ र?' मैले च्यापिरहेका किताबतर्फ हात बढाउँदै दिनेशले सोध्यो।
'तिमी पढ्ने भए लैजाऊ न,' मैले किताब दिएँ तर उसको प्रश्नको जबाफ दिन सकिनँ।
'मैले यी कविताहरू पढेर सकेँ?' यो प्रश्नले ममा मनोवाद पैदा गर्यो। कुनै कविता म पढ्नै सक्दिनँ, कुनै पढेर कहिल्यै सकिँदैन।
मैले कविता कोर्ने साहस गर्न सकेको छैन। तर पढ्न र सुन्न असाध्यै मन पर्छ। उपनिषद्का ऋचादेखि गद्य कविताका हरफहरूले मलाई छुन्छन्। म यस्तो समाजको हुँ, जहाँ कवि पुज्य पनि छन् र परिहासका पात्र पनि। विरोधाभासले जेलेको छ कविको छविलाई।
'यो काठमाडौंमा यति धेरै कवि छन्, धरहराको टुप्पोबाट ढुंगाको टुक्रा खसाल्यो भने पनि कविकै टाउकोमा लाग्छ होला!' कुनै बेला मैले काम गर्ने पत्रिकामा कविता छपाउन आएका कवि फर्किएपछि न्यूज रूममा यस्ता जोक हुन्थे।
अनि परिहासको अर्को पोको खुल्थ्यो।
'कवि गोष्ठीमा अन्तिम कविको पालो आउँदासम्म दर्शक दिर्घामा जम्मा एक जना थिए। एक जना भएपनि गम्भीर दर्शक पाएको खुसीमा कवि धाराप्रवाह कविता वाचन गर्दै गए। र, अन्तिममा उनको 'काव्य परख' लाई धन्यवाद दिए।
कविले अघिसम्म दर्शक ठानेका व्यक्तिले भनेछन्, 'महोदय तपाईंले प्रयोग गरेको माइक मेरो कम्पनीको हो। त्यो लिएरै जानुपर्ने भएकाले अहिलेसम्म रोकिएको हुँ!'
अलंकार र उपमाले संसार सिँगार्ने कविलाई समाजले भने उतिसारो राम्रो देख्दैन।
'नमस्कार, म कवि' भन्दै कविताले स्थापित गर्नुअगावै कविको पगरी गुथ्न चाहने पनि देखेको छु। कविता नबुझ्नेहरूबाट उपेक्षित कवि पनि पढेको छु। काव्यको जगतको लामो परम्पराले 'कवि' लाई सजिलै चिनिने बनाएको छ। र, कविताले चिनाउने कवि बन्ने चुनौती पनि उत्तिकै बढाएको छ।
कवि चिन्तनले मस्तिष्क घुमिरहेका बेला मैले सम्झिएँ, नेसनल जियोग्राफिकले बनाएको डकुमेन्ट्री 'अर्थ राईज: द स्टोरी अफ द फोटो द्याट चेन्ज्ड द वर्ल्ड'।
कुरा सन् १९६८ को हो। पहिलो पटक नासाका खगोलशास्त्रीहरूले एपोलो–८ नामक अन्तरिक्ष यानमार्फत चन्द्रमा बुझ्न पृथ्वी छाडेका थिए। उनीहरूले चन्द्रमाको १० चक्कर लगाए। योजना बमोजिमका सबै उद्देश्य पूरा गरे। तर पूर्वतयारी र निर्देशनबिनाको एउटा कार्यले उनीहरूलाई अमर बनायो।
त्यो थियो 'अर्थ राइज' को फोटो।
दुई सय ४० हजार माइल परबाट उनीहरूले देखेको पृथ्वी यति सानो थियो, त्यो हातको बूढीऔंलाले छेकिन्थ्यो। खैरो चन्द्रमासामु पृथ्वी यति सुन्दर, 'ब्लू मार्बल' जस्तो। उदाउँदो पृथ्वीको त्यो दर्शनले उनीहरू खगोलशास्त्री मात्र रहेनन्, दार्शनिक भए।
फ्र्यांक बोर्म्यान, जिम लोभेल र विलियम एन्डर्सको स्वीकारोक्ति थियो, 'पृथ्वीको त्यो भव्यता जाबो फोटोमा के कैद हुनु! त्यतिखेरको हाम्रो अनुभूति हामीले कसरी शब्दमा भन्न सक्नु? त्यो यात्रामा कवि पनि हुनुपर्थ्यो।'
आफ्नो परिवार र घर रहेको त्यो सुन्दर ग्रहमा त्यतिखेर उनीहरूले देशका सिमाना, मान्छेका रङ र सहरका नामहरू सम्झिएनन्। उनीहरूलाई लागेछ, त्यो सुन्दर पृथ्वी नै आफ्नो घर हो।
चन्द्रमा नजिक जाने, परिक्रमा गर्ने र जिउँदै फर्किने मिसन बोकर गएका फ्र्यांक, जिम र विलियम सकुशल अवतरण त गरे, तर जाँदाभन्दा फरक मनोदशामा।
'पृथ्वी उदाएको त्यो दृश्य देख्दा कस्तो लाग्यो?'
जे लागेको हो त्यो बताउने उनीहरूसँग शब्द थिएन। बरू आफूहरूले नै खिचेको फोटो देखेर अमेरिकी कवि आर्चिबाल्ड म्याकलिसले जे पंक्ति लेखेका थिए, फ्र्यांकलाई लाग्यो त्यसमा आफ्नो भावना राम्रोसँग 'क्याप्चर्ड' भएको छ।
उनले आफ्नो अनुभूति प्रकट गर्न त्यही पंक्ति पढे। जसको भावानुवाद यस्तो छ —
'त्यो अनन्त मौनतामा तैरिएको सानो, नीलो र सुन्दर पृथ्वीलाई जस्तो हो त्यही रूपमा हेर्नु भनेको अब वास्तवमै हामी एकअर्काका दाजुभाइ हौं भन्ने बुझाइका साथ आफूलाई पृथ्वीसँगै सवार सहयात्रीका रूपमा देख्नु हो। र, त्यो उज्यालो सौन्दर्य र असीम शितलतामा भ्रातृत्वको अनुभूति गर्नु हो।'
Archibald MacLeish: To see the earth as it truly is, small and blue and beautiful in that eternal silence where it floats, is to see ourselves as riders on the earth together, brothers on that bright loveliness in the eternal cold — brothers who know now they are truly brothers.
राम्रा कविहरू सायद हृदयले लेख्छन्। त्यस्तो लेखाइले हृदय नै छुन्छ। कवि आर्चिबाल्डका वचनले उसैगरी छोयो, जसरी मलाई माधव घिमिरेको 'धर्तीमाता' भित्रका पंक्तिहरूले छोएको थियो।
एउटै पृथ्वीलाई सयौं सिमामा विभाजन गरेका राज्यहरू हैन, ती खगोलशास्त्रीहरूले चन्द्रमाबाट देखे जस्तै सिंगो, सुन्दर र पुज्य पृथ्वीको चर्चा पूर्वीय साहित्यमा उहिल्यै भएको रहेछ। धर्तीमै बसेर धर्तीलाई देख्ने कविको 'स्याटलाइट भ्यू' ले मलाई जहिल्यै नतमस्तक बनाउँछ। 'धर्तीमाता'को यिनै पंक्तिले जस्तै —
जहाँ बसे तापनि मर्त्यजाति
हे धर्ती तिम्रै प्रिय काखमाथि
मनुष्यको हृदय मात्र सुन्छ्यौ
र बाँसुरी झैं लय मात्र गुन्छ्यौ
सहस्र भाषाहरू सुन्दिनौ रे
पियार भन्दा अरू सुन्दिनौ रे
'पृथ्वीसुक्त' को यो नेपाली अनुवाद 'धर्तीमाता' बारे घिमिरेले लेखेका छन्, 'जहाँको पनि माटाको गन्ध, पानीको गीत र मुटुको माया उही नै हो। धर्ती सबैकी आमा हुन्।'
'धर्तीमाता'ले एउटा सोचमा पुर्याउँछ। यो धर्ती यतिविधि सुन्दर हो कि कविता! कि धर्तीमा कविता देख्ने र कवितामा धर्तीको सौन्दर्य लेख्ने चेतना एकै हुन्, अद्वेत ब्रह्मको व्याख्याजस्तो!
छ साँझ राम्रो अनि प्रात: राम्रो
नछुट्टिएको दिन रात राम्रो
कैले पहेँली, कहिले सुनौली
परन्तु जैले पनि धर्ती नौली
धर्ती र कविता दुवै सधैं नयाँ। हेरेर नअघाइने, पढेर नसकिने।
यो विराट विश्वलाई कवितामा अटाउने र कविताले नै अर्थ्याउन सक्ने कविलाई बजारमा चल्ने 'अर्थ' संकटले भने थिलथिलो बनाइरहन्छ।
हालै भूषिता वशिष्ठले पलेँटीमा बाचन गरेको छन्द कविता सुनिरहेको थिएँ। करिब दुई घन्टाको त्यो शृंखला अन्त्यतिर पुगिसकेको थियो। भरतमणि भट्टराई रचित कविता 'फूल, बिन्दु र जून' मा पोखिएको दर्शन र सौन्दर्यलाई भूषिताको वाचनले अझै उकासेको थियो।
जब उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित 'एक सुन्दरी वेश्याप्रति' लाई कार्यक्रमको अन्तिम कविता छनोट गरिन्, अनि कवि र गरिबीलाई जोडेर चर्चा गरिन्, मेरो आल्हादित मनमा एक्कासि उदासी भरियो।
तत्कालीन ज्ञानको महानगर वनारसमा निर्धन भएपछि महाकवि पनि कुल्ली हुनुपर्यो। त्योभन्दा कारूणिक के थियो भने उनले कविता बेच्नुपर्यो।
सुन्दै आएको विषय भूषिताले पुनः उजागर गरिन्, 'पत्रिकामा छापिएको कविता देखाउँदै मानिसहरू भन्थे रे लक्ष्मीप्रसादले लेखेर बेचेको कविता!'
परिस्थिति अहिले पनि उति फेरिएजस्तो लाग्दैन।
कोही कवि भएर गरिब छ कि गरिबीले उसलाई कवि बनाउँछ भन्न सक्दिनँ। तर यो कुराले मलाई घोचिरहेको छ — किन कोही धनीलाई कविता किनी किनी कवि बन्न मन लागेको होला। फेरि किन कोही कवि कविताको किताब बेचेर धनी बन्न नसकेको होला!
कवि हैन कविता बिकोस् न। तब पो लेखिन्थे होला ऋतुसँगै फेरिने धर्तीको रङजस्ता सुन्दर कविता!
***