नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डले सुकुम्वासी, गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाएका छन्।
शनिवार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा उनले वर्तमान सरकार गरिब, सुकुम्बासी तथा निमुखा वर्गको विरुद्धमा भएको बताएका हुन्।
उनले वर्तमान सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दाबी गरे।
२०८२ साल भदौ २३–२४ गते भएको जेन–जी आन्दोलन योजनावद्ध षड्यन्त्रको परिणाम भएको दाबी गर्दै कम्युनिष्ट शक्तिहरूलाई पुनः संघर्षका लागि तयार हुन आह्वान समेत गरे।
'अहिले त हेर्ने हो भने सुकुम्वासी र गरिब, गरिब निमुखाको विरोधी पार्टी अहिले सरकारमा पुगेको देखिन्छ। त्यो अवस्था हामी व्यवहारबाट देखिरहेका छौं। हामी लामो लडाईं लड्यौं, निरंकुश पञ्चायतलाई फ्याँक्यौं,' उनले भने।
उनले अहिलेको सरकारलाई विगतमा जनताले बगाएको रगत, नेताहरूले लडेको, दुःख गरेको, भूमिगत बसेको, अप्ठ्यारो भोगेको, जनयुद्ध, जनआन्दोलन लडेको कुनै अनुभव नभएको र उनीहरूलाई त्यो माया पनि नभएको बताए।
'राजालाई संविधानभित्र बाँध्या थियौं, निहुँ खोज्न आयो, त्यो राजालाई पनि बिदा ग¥यौँ । सारा गरेर लडेर ल्याउने हामी, जसले पञ्चायत फ्याँक्नमा पनि कुनै योगदान दिएको छैन, राजतन्त्रको विरुद्ध पनि लडेको छैन, कुनै योजना, कुनै भुमिका छैन, त्यो आज अहिले देशको प्रधानमन्त्री, मन्त्री, संसद सबै ठाउँमा जिम्मा लिएर बसेको छ,' उनले भने।
उनले पार्टी एकता केन्द्रिय तहका नेताहरुका बीचमा भए पनि तल्लो तहका कार्यकर्ताबीच हुन नसकेको दाबी गरे। उनले पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादीको विचारबाट माथी उठ्न कार्यकर्ताहरुलाई निर्देशन दिए। –न्युज एजेन्सी नेपाल