नेकपा एमालेको सोमबार च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।
केन्द्रीय कमिटी बैठकको पहिलो दिन बोल्ने बहुसंख्यक केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा अभिव्यक्ति दिएका छन्। खासगरी ओलीको अनुकूलताका लागि हटाइएको उमेर हद र दुई कार्यकालको विषयमा धेरैले समर्थन प्रकट गरेका छन्।
यद्यपि मधेसबाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य अरबिन्द सिंहले भने उमेर हदलाई आफू अनुकूल राख्ने र हटाउने विषयप्रति प्रश्न उठाएका छन्।
‘उमेर हद आफू अनुकूल राख्ने र हटाउने क्रम अन्त्य हुनुपर्छ,’ सिंहले बैठकमा बोल्दै सोधेका छन्, ‘३ किसिमको विधान छापिएको भन्ने कुराको पार्टी नेताहरूबाटै सामाजिक सञ्जालमा छरपस्ट पार्ने काम हुँदैछ। सत्यतथ्य के हो?’
७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउँदा पदाधिकारीको प्रतिस्पर्धा झन् बढ्ने भन्दै सिंहले पदाधिकारीको संख्या १९ बाट २१ बनाउनुपर्ने बताएका छन्।
‘आखिर नेतृत्व चयन गर्ने महाधिवेशनसम्म पुग्दा संख्या बढी हाल्ने विगत छ हाम्रो,’ उनले भने।
वरिष्ठ उपाध्यक्षको पद हटाइएकोबारे पनि सिंहले प्रश्न गरेका छन्।
‘वरिष्ठ उपाध्यक्ष किन हटाइयो?,’ उनले प्रश्न गर्दै थपेका छन्, ‘विधान महाधिवेशनको बेला विधान र नीतिको मात्रै चर्चा गर्नुपर्छ। नेतृत्वको चर्चा गर्न हुँदैन भन्छौं तर आफै फलाना नै अध्यक्ष हो भन्छौं। यो विरोधाभाषी कुरा अन्त्य हुनुपर्छ।’
उनले पूर्वराष्ट्रपतिको सदस्यताबारेको विवाद छिटो सल्टाउनुपर्ने पनि बताएका छन्।
‘पूर्वराष्ट्रपतिको सदस्यता र जिम्मेवारीवाला लफडा छिटो टुंग्याउन जरूरी छ। कसैले नवीकरण भैसकेको छ भन्छ, कसैले पेन्डिङ छ भन्छ। जे गर्ने हो छिटो टुङ्याउन जरूरी छ। लाजको पसारो भैसकेको छ,’ उनले बैठकमा भनेका थिए,‘विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदनहरू छिटो प्रकाशित भएर तलसम्म छलफलको लागि आओस्।’
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म ४४ जनाले बोलिसकेका छन्। आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा दुई सय जनाले बोल्नका लागि नाम टिपाएका छन्। मंगलबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्ने समय दिइएको छ।
हालसम्म गण्डकी, मधेस, सम्पर्क समन्वय, उपत्यका प्रदेश कमिटीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले बोलिसकेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।