काठमाडौंमा जेन–जी समूहले आयोजना गरेको प्रदर्शनका लागि सोमबार बिहान ९ नबज्दै युवा र विद्यार्थीहरू माइतीघरमा जुट्न थालेका थिए। विस्तारै यस्ता विद्यार्थीको संख्या बढ्दै गयो।
बिहान ११ बजेसम्ममा विद्यार्थीको समूह बबरमहल हुँदै बिजुलीबजारको पुलसम्म ढाकिने गरी बढ्यो। भीड बढ्दै गएपछि प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढे।
प्रदर्शनमा कुनै नेतृत्व थिएन।
सरकारले फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी (सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका) उमेर समूहका युवाहरूले केही दिनयता टिकटक, रेडिट र डिस्कर्ड जस्ता सञ्जालबाट आन्दोलनको आह्वान गरिरहेका थिए। उनीहरूले आन्दोलनका लागि गरेको आह्वानमा इन्फुलएन्सर र सेलिब्रेटीहरूले समर्थन जनाइरहेका थिए।
सामाजिक सञ्जालबाटै पहिचान बनाएका इन्फ्लुएन्सर सञ्जाल बन्द गर्ने सरकारको हठात् निर्णयबाट बेखुस थिए। अर्कोतर्फ युट्युबमा आश्रित भएको नेपाली फिल्म र संगीत क्षेत्र प्रत्यक्ष मारमा परेको थियो। त्यसैले युवाहरूले आह्वान गरेको आन्दोलनमा उनीहरूले सञ्जालबाट स्पष्ट समर्थन दिए।
यसबीचमा सामाजिक सञ्चाजलमा ‘नेपो बेबी’ ट्रेण्ड पनि चल्यो। खासगरी नेताका छोराछोरीहरूको रवाफिलो जीवनशैली र जनताका छोराछोरीको कष्टपूर्ण जीवन जोडेर बनाइएका भीडिओहरू टिकटकमा भाइरल भएका थिए।
सामाजिक सञ्जालको प्रतिबन्धले बेखुस युवा समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरमा भएको एमालेको विधान महाधिवेशनबाट छुद्र टिप्पणी गरेर थप उत्तेजित बनाए।
‘एक वर्षदेखि सामाजिक सञ्जालहरू नेपालको कानुनअनुसार दर्ता हुनुपर्छ भन्दा तिमीहरूको संविधान थाहा छैन भनेर अटेरी गर्ने,' फेसबुक लगायत सामाजिक सञ्जाललाई लक्ष्य गर्दै ओलीले भने, ‘सामाजिक सञ्जाल दर्ता गर्न आऊ भन्दा ४ जनाको जागिर खोसियो अरे। ४ जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान?’
सञ्जाल प्रतिबन्ध गर्ने निर्णयलाई युवाहरूले आफूहरूको आवाज दबाउन खोजेको रूपमा बुझे। माइतीघरमा बिहानैबाट जुटेका युवाहरूका ब्यानरमा यही आक्रोश प्रतिनिधित्व भएको थियो।
माइतीघरमा यही आक्रोशित युवा समूह उत्तेजित्त हुँदै नयाँ बानेश्वरतर्फ लाग्यो। नयाँ बानेश्वरको संसद भवन आसपास सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको थियो।
जेन–जीको प्रदर्शनकारी करिब १२ बजे आसपास नयाँ बानेश्वरमा रहेको संसद भवनमा प्रवेश गर्नुअघि प्रहरीको ब्यारिकेड तोडे। त्यसपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहरा प्रहार गर्यो। त्यसको केही समयमै प्रहरीले रबरको बुलेट प्रहार गरेको हो।
तर ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीलाई तितरबितर पार्न सकेन। उनीहरू अगाडि बढे।
सवा १२ बजे आसपास प्रदर्शनकारीहरू संसद भवनको गेट हल्लाउन थाले। सुरक्षाकर्मी बस्ने गेटको भवनमा चढे। प्रहरीले केहीबेर अश्रुग्यास प्रहार गर्यो। त्यसपछि गोली समेत चलाउन थाल्यो। भीड नियन्त्रण गर्न असफल भएपछि संसद भवनको सुरक्षामा खटिएको प्रहरीले पनि गोली चलायो। प्रहरीको गोली लागेर यो समाचार तयार पार्दासम्म १७ जनाले ज्यान गुमाए। जबकी २०६२/६३ को जनआन्दोलनमा समेत यतिधेरै मानिसले एकैदिन ज्यान गुमाएका थिएनन्।
सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालका अनुसार राजधानीमा ठूलो संख्यामा युवाहरू आन्दोलनमा उत्रने आकलन सुरक्षा अंगलाई थियो। साथै घुसपैठ हुने शंका पनि थियो। गृह मन्त्रालयमा आइतबार बसेको बैठकमा समेत घुसपैठ हुने र ठूलो संख्यामा युवा विद्यार्थी आउने ब्रिफिङ सुरक्षा निकायले गरेका थिए।
‘धेरै विद्यार्थी आउँछन् भन्ने आकलन हामीले सुरक्षा बैठकमा गरेका थियौं,’ अर्यालले भने, ‘नयाँ बानेश्वरको घटनामा बालबालिकालाई ढाल जसरी प्रयोग गरियो। बालबालिकालाई बल प्रयोग नगर्ने भन्ने कुरा गृह मन्त्रालयको सुरक्षा संयन्त्रको बैठकमा भएको थियो।’
नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड हटाउँदासम्म जेन–जी युवाहरू अगाडि थिए। तर त्यसपछिको प्रदर्शनमा भने घुसपैठ भएको समूह अघि बढेको प्रहरीको विश्लेषण छ। तर प्रदर्शनमा घुसपैठ गर्नेलाई चिन्न नसकेको नेपाल प्रहरीका प्रमुख आइजिपी चन्द्रकुबेर खापुङ बताउँछन्।
‘घुसपैठको सम्भावना त छ भन्ने हो। विभिन्न दलहरूले पनि समर्थन गरेको थियो, सकारात्मक भाषण गरिरहेकै थिए। हुन्छ भन्ने पनि थाहा थियो। तर कसरी फिल्टर गर्ने त? घुसपैठले अवस्थालाई प्रतिकूल बनाउन सक्छ भनेर सकेसम्म सहज गर्ने, कम बल प्रयोग गर्ने भन्ने नै थियो,’ खापुङले भने, ‘शान्तिपूर्ण होस् भन्ने नै थियो। तर परिस्थिति बिग्रिँदै गएपछि जिल्ला सुरक्षा समितिले बल प्रयोग गर्ने निर्णय गर्नुपर्ने भयो।’
सुरक्षा अंगका प्रमुखहरूका अनुसार राजधानीमा भएको सम्पूर्ण सुरक्षा बल आन्दोलनमा प्रयोग भएको थियो।
‘एकदमै राम्ररी नै तयारी गरेका थियौं। ब्यारिकेड धेरै ठाउँमा राख्नुपर्ने अवस्था थियो। हामीले भएको जनशक्ति, स्रोत साधन परिचालन गर्ने हो,’ खापुङले भने, ‘त्यसअनुसार अधिकतम प्रयोग गरेका छौं।’
सुरक्षा अंगका प्रमुखहरूले घटनाबारे सुरक्षा ब्रिफिङ गर्दा समेत गृह मन्त्रालयले प्रदर्शनको जटिलता बुझ्न नसकेको देखिन्छ।
ठूलो संख्यामा युवा विद्यार्थीहरू प्रदर्शनमा जुट्न लागेको ब्रिफिङ पाएका गृहमन्त्री रमेश लेखक संसद भवनभित्र प्रदर्शनकारी प्रवेश गर्दासम्म संसदीय समितिमा विधेयक माथिको छलफलमा जुटेका थिए। जबकी प्रदर्शनमा क्षति हुन नदिन सुरक्षा अंगसँग प्रत्यक्ष सम्पर्कमा रहेर गृहमन्त्रीले आवश्यक रणनीति बनाउनुपर्थ्यो। भीड तितरवितर पारेर क्षति पुग्ने अवस्थामा नपुर्याउन भूमिका खेल्नुपर्थ्यो। तर गृहमन्त्री रमेश लेखक झण्डै साढे १२ बजेसम्म पनि प्रदर्शनबारे बेखबर जस्तै सिंहदरबारको संसदीय समितिमा बसेका थिए।
संसद भवनमा प्रदर्शनकारीले आगजनी प्रयास गरेका थिए। त्यस्तै पर्खाल समेत प्वाल पारेर भित्र छिरेका थिए। संसद भवन छिर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नमस्कार गरेर रोकिन आग्रह गरेका थिए। प्रदर्शनकारी नरोकिएपछि प्रहरीले संसद भवन भित्रबाटै गोली चलाएको थियो।
सुरक्षा विज्ञहरू भने प्रहरीले सुरक्षा चुनौती विश्लेषण गर्न नसकेको र त्यस अनुरूप तयारी गर्न चुकेको बताउँछन्।
नेपाल प्रहरीका पूर्वएआइजी उत्तमराज सुवेदी नेतृत्वविहीन आन्दोलनको चुनौतीबारे प्रहरीले बुझ्न नसकेको बताउँछन्।
‘आन्दोलनमा नेतृत्व हुँदा उसले समूहलाई नियन्त्रणमा राख्छ,’ सुवेदीले भने, ‘प्रहरीको फिल्ड कमान्डरले पनि आन्दोलनको कमाण्डरसँग कुराकानी गरेर गिभ एण्ड टेक गराउन सक्छ। यसपटक आयोजकले नै नेतृत्वविहीन भनेपछि सुरक्षा निकायले पनि त्यही हिसाबको चुनौतीका रूपमा लिनुपर्थ्यो।’
सुवेदीले सामाजिक सञ्जाल बन्द भएको आक्रोश, राजनीतिक अवस्था र नेतृत्वसँग पिरोलिरहेको अवस्थाले आउने ‘फ्रस्टेशन’ को आकलन प्रहरीले नगरेको बताए।
सुवेदी आफै पनि दिउँसो नयाँ बानेश्वर क्षेत्र पुगेका थिए। उनले प्रहरी परिचालनमा समेत केही त्रुटि देखेको बताए।
‘माइतीघरमा आन्दोलनका लागि अनुमति दिएको छ। प्रहरीले नयाँ बानेश्वर पुग्न सक्ने आकलनमा प्रहरीको ब्यारिकेड राखेको छ। तर त्यसलाई बलियो बनाएको देखिएन,’ सुवेदीले भने, ‘केही लेयर थप गरेर निषेधित क्षेत्रमा जान युवालाई रोकेको भए यो तहको क्षति हुँदैन थियो कि जस्तो लाग्छ।’
उनले आज उपस्थित भएकै युवाको संख्याको आन्दोलन प्रहरीले विगतमा पटक पटक नियन्त्रणमा लिएको बताए।
‘आयोजकले शान्तिपूर्ण गर्छु भने पनि आन्दोलन घुसपैठ हुनसक्छ भन्ने अनुमान सुरक्षा अंगले गर्नुपर्थ्यो,’ सुवेदीले भने, ‘दु:खद् घटना हुन पुग्यो।’
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग दंगा नियन्त्रणका लागि छुट्टै प्रहरी छैन। एउटै प्रहरी आवश्यकता फरक फरक भूमिकामा खटिने गरेको छ।
काठमाडौंमा एकपटकमा बढीमा ७ देखि ८ हजार मात्र प्रहरी खटिन गरेको सुवेदी बताउँछन्। जबकी नेपाल प्रहरीको संख्या नै झण्डै ८० हजार छ।
‘प्रहरीको दरबन्दी ८० हजार भए पनि ५ हजार जति पदपूर्ति नै गरिएको हुँदैन। त्यस्तै कति संख्या तालिममा हुने अवस्था छ,’ सुवेदीले भने, ‘कतिपय प्रहरी भिआइपी र भिभिआइपी सुरक्षामा खटिन्छन्। त्यस्तै कतिपय प्रहरी प्रदेश सरकारको सुरक्षामा खटिएको छ। त्यसैले यस्तो आन्दोलनका बेला आवश्यक पर्दा सुरक्षाकर्मी हुँदैनन्।’
उनले भीड नियन्त्रणका उपकरण नभएका लगायतका समस्या नयाँ नभएको बताए। साथै दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको आन्दोलनको क्षतिबाट प्रहरीले सिक्न नसकेको सुवेदीको टिप्पणी छ।
नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी पनि प्रहरीले सामाजिक सञ्जालमा आन्दोलनका लागि यत्रो आह्वान भइरहेको अवस्थामा प्रहरीले पूर्वचुनौती आकलन गर्नै नसकेको बताए।
‘जेन–जी मुभमेन्टबारे पूर्वअनुमान गर्न नसकेको देखियो,’ भण्डारीले भने, ‘नयाँ बानेश्वरमा तीनदेखि चार तहसम्म सुरक्षाकर्मी राख्नुपर्थ्यो। तर प्रहरीले अन्तिम बिन्दुमा मात्र केन्द्रित देखियो।’
सुवेदीले जस्तै भण्डारीले पनि नेतृत्व नभएको आन्दोलनमा जे पनि हुन सक्ने भनेर प्रहरीले आकलन गर्न नसकेको बताए।
‘आवेश र उत्तेजनाबाट यस्तो नेतृत्वबिहीन आन्दोलन अघि बढ्छ। त्यसमाथि मानिसकहरू मन र चित्तबाट भक्कानिएका छन्,’ भण्डारीले भने, ‘त्यसमाथि प्रधानमन्त्रीले युवा भावनालाई हेपेर टिप्पणी गर्नुभयो।’
भण्डारीले ‘इमोसन र मोसन’ दुबै यो जेन-जी आन्दोलनमा देखिएको बताए। प्रहरीले नेपालमा ‘स्मार्ट पोलिसिङ’ गर्न नसकेको बताए।
‘दक्षिण कोरियाहरूमा भीड नियन्त्रणमा अत्याधुनिक सामान आइराखेका छन्,’ भण्डारीले भने, ‘प्रदर्शनकारी पनि अश्रु ग्यास र फोहोरासँग तर्सन छाडे। झट्का दिने इलेक्ट्रिक ब्यारिकेड (झट्का) हरू प्रयोग गर्नुपर्छ। तर संसद भवनको पर्खाल खन्दासम्म पनि प्रहरीले सहने कुरा हुँदैन।’
उनले आफू प्रहरीमा भएका बेला हतियारभन्दा पनि भीड नियन्त्रणको उपकरण खरिदका लागि पहल गर्दा समेत अघि बढाउन नसकेको बताए।
भण्डारीले पछिल्लो समय गृह मन्त्रालयको नेतृत्व र प्रशासनिक नेतृत्वमा असक्षमता देखिएको बताए।
‘गृह मन्त्रालयदेखि र जिल्ला प्रशासनको नेतृत्व अपरिपक्वता देखिन्छ,’ भण्डारीले भने, ‘यिनीहरूले मातहतको निकायको हौसला बढाउने, सुपरीवेक्षण गर्ने, तत्काल अर्डर दिन सक्ने काम गर्न सक्दैनन्। सिडिओहरू आलोकाँचो छन्। प्रशासकहरू चुकेका छन्।’
उनले प्रदर्शनले लिने ‘मुभमेन्टम’बारे आयोजकहरू समेत बेखबर हुँदा समस्या निम्तने गरेको बताउँछन्।
‘आक्रोश, उत्तेजना, घृणा सडकमा पोखिन थालेको छ,’ भण्डारी भन्छन्, ‘परिचालन हुने प्रहरी पनि अहिले दुविधामा हुन्छन्। गोली हानौं जागिर जाने डर हुन्छ। हान्दै नहानौं, कैलालीको टिकापुरमा जस्तो एसएसपीसहित सबैमाथि आक्रमण होला भन्ने डर हुन्छ।’
नेपाल प्रहरी पछिल्लो समय भीड नियन्त्रणमा चुक्दै आएको छ।
राजधानीको तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनका क्रममा २ जनाको ज्यान गएको थियो। त्यस्तै काठमाडौंमा केही समय अघि बालाजुको ल्होत्से मल लुटपाट भएको थियो। त्यसैगरी एकान्तकुनामा इपिएस कोरिया भाषा परीक्षामा सामेल हुन माग गर्दै युवाहरूले प्रदर्शन गर्दा २ जनाले ज्यान गुमाएका थिए। यी सबै घटनामा प्रहरी भीड नियन्त्रणको काममा चुकेको थियो।