चर्चित भारतीय इन्फ्लुएन्सर एवं युट्युबर ध्रुव राठीले भारतको चुनाव ताकाको एउटा युट्युब शृंखलामा राजनीतिले कसरी जनताको 'ब्रेनवास' गर्छ भनेर विस्तृतमा बोलेका थिए।
दोस्रो विश्वयुद्ध ताकाको जर्मनीदेखि वर्तमान भारतको उदाहरण दिँदै उनले 'ब्रेनवासका चार तह' लाई यसरी अर्थ्याएका थिए:
१. गर्व र अहंकार – आफ्नो जातीय, धार्मिक वा राष्ट्रिय ऐतिहासिक अस्तित्वको बयान गरी जनतामा अहंकार मिश्रित गर्वको बीउ रोप्ने।
२. पीडित चित्रण गर्ने – जनताले दुःख पाएको वा देश विकास नभएको दोष पहिलेका शासक वा व्यवस्थामा थोपरी जनतामा पीडित भएको हीनताको भावनाले गर्व र अहंकारको बीउ मलजल गर्ने।
३. डरको वातावरण सिर्जना गर्ने – अब ढिलो भयो भने हामी र हाम्रो देश खत्तम हुन्छ, बर्बाद भइसकेको छ भन्ने भाष्य प्रचार गरी डर र आतुरीको वातावरणको आभास दिलाउने।
४. मसिहाको जन्म र परिचय – यी सबै समस्याको समाधानका लागि एक जना 'मसिहा' रूपी नेताको आगमनको वातावरण निर्माण। यस्तो मसिहा, जसले जे भने पनि पत्याउने भक्तहरूको हुल – 'कल्ट' माथिका तीन चरणले निर्माण गरिसकेको हुन्छ।
यो ब्रेनवासको तरिका प्रायः सबै राजनीतिक दलले अनुशरण गरेको देखिन्छ। प्रायः अविकसित राष्ट्रका जनता यो राजनीतिक चालमा सजिलै फसेको हामी देख्छौं। अचम्म त 'शिक्षित र सम्पन्न' समाज मानिएका पश्चिमी देशका नेताले पनि यो नीति प्रयोग गरेको र सफल भएको उदाहरण देखिन थालेको छ।
हाम्रो देश पनि चुनावी माहोलमा प्रवेश गरेका बेला यो नीति नेताहरू र पार्टीहरूले कसरी प्रयोग गरिरहेका छन् र जनता कसरी अन्धभक्त 'कल्ट' मा परिणत भइरहेका छन् भन्नबारे लेख्न मनलाग्यो।
यसका लागि मैले सन् २०१९ ताका हेरेको एउटा डकुमेन्ट्रीको 'रिभ्यू' गर्ने कोसिस गरेको छु।
- नाम – द ग्रेट ह्याक (११४ मिनेट)
- सार्वजनिक भएको साल – सन् २०१९
- निर्देशक – करिम अमेर, जेहाने नौजैम
- निर्माण – नेटफ्लिक्स
सामाजिक सञ्जालको दुरूपयोग गरी डेटा कम्पनी केम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी निर्वाचनमा पारेको प्रभावको खोजमूलक प्रस्तुति।

'मिडिया डिजाइन' का प्राध्यापक डेभिड करोल आफ्ना विद्यार्थीहरूलाई प्रश्न गर्छन् — आफ्नो फोनमा देखिने विज्ञापन हेर्दा, कति जनालाई लाग्छ आफ्नो फोनको माइकले आफूलाई सुनिरहेको हुन्छ?
कक्षामा उपस्थित सबैले हाँसोको फोहोरा सहित हात उठाउँछन्।
'म इन्टरनेटसँगै हुर्केको पुस्ताको भएर होला, फोनमा विज्ञापन आउनु मलाई त साधारण लाग्छ,' एक छात्राले आफ्नो राय राख्छिन्।
डेभिडलाई भने आफ्नो व्यक्तिगत डाटा कुनै कम्पनीको अधीनमा रहेको र त्यसलाई प्रयोग गरेर खर्बौं डलरको उद्योग सञ्चालनमा रहेको कुरा पाच्य हुँदैन।
'मेरोबारे तिमीलाई के के थाहा छ भन्ने मैले थाहा पाउनुपर्छ। यो मेरो अधिकार हो,' यही प्रश्नसहित उनी केम्ब्रिज एनालिटिकालाई मुद्दा हाल्न पुग्छन्। र, यो फिल्म अघि बढ्छ।
केम्ब्रिज एनालिटिका बेलायती कम्पनी भएकाले डेभिड बेलायत पुग्छन् जहाँ उनको भेट गार्डियन अखबारकी खोज–पत्रकार क्यारोल केडवाल्डरसँग हुन्छ। क्यारोल तिनै पत्रकार हुन् जसले केम्ब्रिज एनालिटिकाको भण्डाफोर गरेका थिए।
फेसबुकको डेटा दुरूपयोग गरेर केम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी निर्वाचन र बेलायतको 'ब्रेक्जिट' जनमत संग्रहको नतिजा आफ्नो ग्राहकको पक्षमा ल्याउन खेलेको भूमिकाबारे खोजमूलक आलेखहरू सार्वजनिक भएपछि, संसारको आँखामा केम्ब्रिज एनालिटिकाको पर्दाफास भएको थियो।
सन् २०१८ मा तपाईंलाई फेसबुकका मार्क जुकरवर्गले अमेरिकाको सदनको न्यायिक समितिको सुनुवाइको सामना गरेको कुरा कतै स्मरणमा छ भने, यसको कारक क्यारोल र डेभिडको पहलको रूपमा लिन सकिन्छ।
त्यसै ताका फेसबुकमाथि ५ अर्ब अमेरिकी डलर जरिवाना तोकिएको पनि थियो।
फिल्मले केम्ब्रिज एनालिटिकाकै प्रारम्भिक समयका पूर्वकर्मचारीहरू पनि समेटेको छ। केम्ब्रिज एनालिटिकाका कर्तुतबारे 'ह्विसल ब्लोअर' को भूमिकाबाट चिनिने ब्रिट्नी काइजर र कम्पनीका प्रारम्भिक डेटा साइेन्टिस्ट क्रिस्टोफर वाइलीबाट कम्पनीको उद्देश्य र रणनीति बुझ्न सकिन्छ।
'फेसबुकको डेटा केलाएर, हामी मतदाताहरूलाई तीन खेमामा विभाजन गर्थ्यौं। हाम्रा समर्थक, हाम्रा प्रतिस्पर्धीका समर्थक, र कतै पनि समर्थनमा नदेखिएका जमात। आफ्ना समर्थकलाई आफ्नो सकारात्मक चित्रण हुने सामग्री, आफ्ना प्रतिस्पर्धीका समर्थकलाई प्रतिस्पर्धीलाई नकारात्मक चित्रण गरिएका सामग्री सम्प्रेषण गरिन्थ्यो। तेस्रो जमातमा परेकाहरूको भने विस्तृत व्यक्तित्व अध्ययन गरिन्थ्यो। अध्ययनबाट विचारमा अस्थिर र परिवर्तन गर्न सकिनेहरूको सूची निकालिन्थ्यो। अनि यिनीहरू हुन्थे हाम्रो साइबर सिकार। आफ्ना उम्मेदवारका राम्रा कुरा, प्रतिद्वन्द्वीका नराम्रा कुरा, धेरै हदसम्म त गलत सूचनालाई साँचो जस्तो गरी प्रस्तुत हुने गरी सामग्री तयार पारियो अनि योजनाबद्ध रूपमा यिनीहरूको फेसबुक वालमा निरन्तर प्रहार सुरू गरियो। धेरै जनाको विचार र मत परिवर्तन गर्न यो मनोवैज्ञानिक प्रहारले काम गर्थ्यो,' काइजरले अर्थ्याए।
'यस्तो गलत सूचना प्रवाह गरी मत परिवर्तन गर्नु भनेको, कुनै पनि खेलमा प्रतिबन्धित औषधि प्रयोग गरेर खेल जिते सरह नै हो। खेलमा त डोपिङ टेस्ट भएर गलत देखिए जितेको उपाधि खारेज हुन्छ। तर गलत सूचनाको प्रयोग गरी फैलिएको हल्लाले ल्याएको मतबाट हात परेको जित, खारेज हुने चलन छैन,' वाइली भन्छन्।
'केम्ब्रिज एनालिटिकाले आफूलाई डाटा केलाउने कम्पनीका रूपमा परिचय दिए पनि यो पूर्ण रूपमा प्रोपागान्डा मेसिन नै थियो,' उनी थप्छन्।
उनीहरूको भनाइमा – आफू प्रतिकूल सही समाचार र समाचार गृहलाई फेक न्युज भनेर प्रचार गर्ने काम योजनाबद्ध रूपमा गरिन्थ्यो। प्रतिद्वन्द्वी उम्मेदवारलाई हीन जनाउने विशेषणको लगातार प्रयोगले मतदातामा त्यही छाप पर्दै जान्छ। 'क्रुक्ड हिलारी' भनेर हिलारी क्लिन्टनबारे गरिएको प्रचार यसै रणनीतिको एक उदाहरण हो। सिएनएन, न्यूयोर्क टाइम्स लगायतलाई फेक न्युज भनी प्रचार गरिनु पनि यही रणनीतिको अर्को पाटो थियो।
केम्ब्रिज एनालिटिकाको विश्लेषण क्षमता यति सटिक हुन्थ्यो कि, अमेरिका जस्तो विशाल मतदाता भएको देशमा, तीन 'स्विङ' राज्यका ७०,००० अनिर्णित मतदातालाई आफ्नोतिर पार्न सके पूरा देशकै निर्वाचनको नतिजा आफू अनुकूल हुने विश्लेषण गरी रणनीति तयार पारिएको थियो भनी सुन्दा पत्याउन गाह्रो पर्छ।
अझ केम्ब्रिज एनालिटिकाले वेस्ट इन्डिजको त्रिनिडाडमा गरेको चुनावी हस्तक्षेपको किस्सा झन् रोचक छ। आफ्नो ग्राहक, भारतीय मूलका उम्मेदवार, स्थानीय अफ्रिकी–क्यारेबियन मूलका उम्मेदवारभन्दा कमजोर परेको आकलन भएपछि, त्यहाँका मतदाताबारे अध्ययन गरिन्छ।
नतिजा उल्ट्याउन ६ प्रतिशत जति भोटको भूमिका रहने समीकरण निकालिन्छ। १८–३५ उमेरका अफ्रिकी–क्यारेबियन मूलका युवा मतदाता ४० प्रतिशत भएको यो देशमा, युवामा भोट र निर्वाचनप्रति अविश्वासको माहोल तयार पारी 'नो भोट' अभियान चलाइन्छ, जसका लागि एउटा स्थानीय गैरसरकारी संस्थालाई पैसाको प्रलोभनमा प्रयोग गरिन्छ।
योजना अनुसारै ६ प्रतिशत अफ्रिकी–क्यारेबियन मूलका युवाको भोट खस्दैन र निर्वाचन भारतीय मूलका उम्मेदवारले जित्छन्।
केम्ब्रिज एनालिटिकाको डेटाको स्रोत फेसबुक हुन्छ। सुनुवाइका बेला फेसबुकका मार्क जुकरवर्गले यसको अनधिकृत प्रयोगबारे आफू अनविज्ञ रहेको बताए पनि केम्ब्रिज एनालिटिकाकी ब्रिट्नी काइजर उनीहरूलाई थाहा भएको र थाहा पाएपछि पनि रोक्न खासै केही नगरेको बताउँछिन्।
फेसबुकमा हिलारी क्लिन्टनको पक्षमा जम्मा ६६,००० प्रचार सामग्री सम्प्रेषण गरिएकोमा ट्रम्पको अभियानमा ५९ लाख सामग्री सम्प्रेषण गरिएको र सोका लागि 'प्रोजेक्ट अलामो' अन्तर्गत दैनिक १० लाख डलरसम्म फेसबुकमा खर्च गरिएको तथ्य काइजरले प्रकाश पार्छिन्।
फेसबुकका प्रारम्भिक लगानीकर्तामध्येका रोजर म्याकनेमी फेसबुकको नीतिबारे बोल्दै भन्छन्, 'फेसबुकले प्रयोगकर्ताको ध्यानमाथि एकाधिकार जमाउन क्यासिनोमा जुवाडेहरूलाई लठ्याउने चालहरूको प्रयोग गर्छ। लत लगाउन प्रयोगकर्ताको रूचि र चरित्र बमोजिम खुराक देखाएर लठ्याउनु नै यसको सफलता हो।'
आफ्नो हालको मनोभावनाबारे उनी भन्छन्, 'मलाई कुनै बेला फेसबुकसँग आबद्ध भएकामा ग्लानी छ।'
हाल केम्ब्रिज एनालिटिका भन्ने कम्पनी छैन। यसलाई बन्द गर्न भूमिका खेल्ने 'मिडिया डिजाइन' का प्राध्यापक डेभिड करोलको प्रश्न 'मेरोबारे तिमीलाई के के थाहा छ भन्ने मैले थाहा पाउनुपर्छ' भने अझै अनुत्तरित छ।
'केम्ब्रिज एनालिटिका त बन्द भयो, तर हाम्रो निजी डेटा अझै सुरक्षित छैन,' उनको चिन्ता कायमै छ।
संसारमा तेलको खानीको मूल्यको तुलनामा डेटा आधारित व्यापारको बजार मूल्य बढी भएको आजको अवस्थामा यो व्यवसाय कायमै रहनेछ।
हाम्रा महँगा स्मार्टफोनमा महँगो डेटा खर्च गरेर, आफै डेटा उद्योगको उत्पादनका रूपमा बेचिएको थाहा पाएर पनि, नेपालको आसन्न निर्वाचनका उम्मेदवारहरूले 'बायस्ड' र 'फेक पोस्ट' हरू स्क्रोल गर्दै समय बिताउँदा, कुन सही हो, कुन फेक — निर्क्यौल गर्न गाह्रो परिसकेको छ।
सामाजिक सञ्जालले ममा रोपेको डरको माहोलबीच, विभिन्न पार्टीले प्रस्तुत गरेका मसिहाहरू मेरो फोनमा देखा पर्दैछन्। कुन पत्याउने, कुन नपत्याउने भन्ने अन्योलताबीच सन् २०१९ मा हेरेको डकुमेन्ट्री 'द ग्रेट ह्याक' सम्झना पुगेँ, फेरि हेरेँ। झन् डर लाग्न थाल्यो।
(लेखक किरणकृष्ण श्रेष्ठ डकुमेन्ट्री पनि बनाउँछन्। किरणकृष्ण श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @KiranKrShrestha