जेन-जी आन्दोलन क्रममा भदौ २३ गते प्रहरी गोली लागेका सबभन्दा बढी घाइते नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको थियो।
त्यो दिनदेखि आइतबार साँझसम्म ४६० जना घाइतेको उपचार गरेको सिभिल अस्पतालले जनाएको छ। अहिले यहाँ ९ जना मात्र उपचाररत छन्।
सिभिलका मेडिकल डिभिजन प्रमुख डा. दीपक पौडेलका अनुसार ३६६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका थिए भने ५० जनालाई भर्ना गरेर उपचार गरिएको थियो।
'भर्ना गरिएकामध्ये सोमबार बिहानसम्म ४१ जना डिस्चार्ज भइसकेका छन्,' उनले भने, '९ जनाको उपचार जारी छ।'
उनका अनुसार २२ वर्षीय प्रकाश बिष्ट, २५ वर्षीय श्रीयांश न्यौपाने, २२ वर्षीय धर्मेन्द्र शाही, ३२ वर्षीया राधिका सुवेदी, २२ वर्षीय आदित्य रावल, १९ वर्षीय सुवास दाहाल, २४ वर्षीय निशेष महरा, २२ वर्षीय विक्रम देउला र ४९ वर्षीय हरिराम जोशीको उपचार भइरहेको छ।
यी ९ जनाको अवस्था मध्यम छ। शरीरका विभिन्न भागमा गोली लागेर भित्रसम्म असर परेकाले निको हुन केही दिन लाग्ने डा. पौडेलले जानकारी दिए।
यहाँ ल्याइएका घाइतेमध्ये ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय माधवसारू मगर, ६० वर्षीय छत्रमान कुथुमी, २२ वर्षीय विमल भट्ट, २४ वर्षीय असब आलम ठकुराई, ३२ वर्षीय विजय चौधरी र २१ वर्षीय अभिषेक चौलागाईं छन्।
माधव, छत्रमान, विमलको मंगलबार मृत्यु भएको हो भने असब, विजय र अभिषेकको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ।
डा. पौडेलका अनुसार मृत्यु हुनेहरूको टाउको र छातीमा गोली लागेको थियो।
घाइतेहरूको उपचार क्रममा ५० जनाको शल्यक्रिया गर्नुपरेको थियो। त्यसमध्ये पनि ११ जनाको पुन: शल्यक्रिया गर्नुपरेको उनको भनाइ छ।
'एकै व्यक्तिलाई ८ वटासम्म रबरको गोली लागेकाले दोहोर्याएर अप्रेसन गर्नुपर्ने अवस्था आयो,' उनले भने।
उपचार गरेर फर्किएका केही घाइते फलोअपमा आइरहेका छन्। उनीहरूको नि:शुल्क उपचार भइरहेको छ।