भदौ २४ गते प्रदर्शनकारीहरूले पूर्व शिक्षामन्त्री रघुजी पन्तको पुर्ख्यौली घरमा आगो लगाइदिए।
यो घटनापछि आगोमा परेर पूर्वमन्त्री पन्त मात्र बेघर भएका छैनन्, उनका दुई भाइका परिवार पनि सडकमा आइपुगेका छन्।
काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरीमा पन्त दाजुभाइका परिवार पुर्ख्यौली घरमा बस्दै आएका थिए। उनीहरू एउटा एउटा फ्ल्याटमा छुट्टाछुट्टै भान्सा गरेर बस्थे। राजनीतिमा संलग्न रहेकाले चार तलाको घरको दुईवटा तल्ला पूर्वमन्त्री पन्तले प्रयोग गर्थे।
बाँकी एउटा एउटा तल्लामा साइँलो भाइ आत्मजी पन्त र अर्कोमा काइँलो भाइ प्रभुजी पन्त बस्दै आएका थिए।
रघुजी पन्त पाँच दाजुभाइमा जेठा हुन्। माइलो भाइ छुट्टै बस्दै आएका थिए। साइँलो भाइ शिक्षकबाट रिटायर्ड भइसकेका छन्। काइँलो भाइ प्रभुजी पन्त वकालत पेसामा छन्। अरू दुई भाइ विदेशमा छन्।
प्रदर्शनकारीहरूले आगो लगाएपछि उनीहरू कोही पनि घर जान सकेका छैनन्।
'२०४३ सालमा बुबाले बनाउनुभएको घर हो,' पन्तले भने, 'अहिले सुकुम्बासी भइयो।'
घरमा प्रदर्शनकारीहरूले सुरूआतमा लुटपाट गरेको र पछि पेट्रोल खन्याएर आगो लगाएको पन्तले बताए।
'घरमा पुस्तक र केही पुराना दस्तावेजहरू थिए,' उनले भने, 'ऐतिहासिक घटनाक्रमका कुराहरू थिए। सबै खरानी भयो।'
पूर्वमन्त्री पन्तका भाइ प्रभुजीले पनि आफूहरू सामान्य परिवारको व्यक्ति भए पनि आन्दोलनको निशानामा परेको बताए।
'हामी सुखमा हुर्केको होइन,' उनले भने, 'बुबाले बनाएको घरमा एउटा टायल र मार्बल लगाउनसम्म सकेका थिएनौं।'
छिमेकीले केही थान कपडा जोगाइदिएको उनले बताए।
'दाइले राजनीतिमा लागेर गलत गर्नुभएको छैन जस्तो लाग्छ,' प्रभुजीले भने, 'दाइ मन्त्री भएपछि एकपटक मन्त्रालय टेकेको छैन। कुनै काम गरिदिनू भनेको छैन।'
उनले जलेको घरमा भान्साका केही सामान सकुशल रहेको छिमेकीले बताए पनि घर जाने हिम्मत नआएको उल्लेख गरे।
उनले भदौ २३ गते जेन–जीले गरेको प्रदर्शनमा सरकारले उपयुक्त सुरक्षा व्यवस्था गर्न नसकेको बताए।
'शिक्षक आन्दोलन हुँदा त्यत्रो प्रहरी खट्ने। अहिले दसौं हजार मान्छे आन्दोलनमा आउँदा समेत ध्यान दिएनन्,' प्रभुजीले भने, 'आन्दोलनका नाममा 'कोही मान्छे फर्काउन' खोजियो कि जस्तो लाग्छ।'
उनले कुनै सार्वजनिक पद धारणा नगरेका पूर्वमेयरहरूको घरमा समेत आगजनी भएबाट त्यस्तो देखिएको बताए।
शासन चलाउनेहरूले सूचना प्राप्ति र विश्लेषण गर्न नसकेको उनको भनाइ छ।
उनका अनुसार घर आगो लागेपछि अहिले तीन दाजुभाइको परिवार तीनतिर भएको छ।
'रघु दाइ एक जना बहिनीको घरमा बस्नुभएको छ। साइँलो दाइ ससुरालीमा हुनुहुन्छ। म पनि अर्को दाइको घरमा छु,' प्रभुजीले भने, 'आगो लगाइएको घर जान पनि मन लागेको छैन।'