जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ।
मोटरसाइकलमा जाजरकोटबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ चखेलीस्थित सडक खण्डमा चार–पाँच जनाको समूहले बाटो ढुकेर खुकुरी आक्रमणको प्रयास गरेको थियो।
आक्रमणकारीहरूले बेलुकी साढे ६ बजेतिर बाटो ढुकेर अध्यक्ष बस्नेतमाथि खुकुरी प्रहार गर्न खोजेको प्रहरीले जनाएको छ।
सँगै यात्रारत कुशे गाउँपालिका–३ का ३९ वर्षीय नवराज शाही र वडा नम्बर ७ का २८ वर्षीय दीपेन्द्र सिंहले रोक्न खोज्दा शाहीको बायाँ नाडी र सिंहको टाउको तथा दुवै खुट्टामा गहिरो चोट लागेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
उनका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष बस्नेतलाई शाही र सिंहले हमलाबाट जोगाएका थिए। उनीहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको छ।
यसरी बाटो ढुकेर आक्रमण गर्नेहरू को हुन् भनेर अनुसन्धान भइरहेको र खोजी तीव्र पारिएको डिएसपी शर्माले जानकारी दिए।
प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूमध्ये केहीको पहिचान भइसकेको छ।