नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले मंसिरभित्रै नियमित महाधिवेशन गर्न राखेको प्रस्तावमा समर्थन गरेका छन्।
महामन्त्री थापाले अहिलेको कार्यसमितिको कार्यकाल नथप्ने र मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा समर्थन प्रकट गर्दै महामन्त्री शर्माले यदि मंसिरमा नियमित महाधिवेशन नगर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए।
‘मंसिरभित्र नियमित महाधिवेशन गर्न सकिन्छ,गर्नुपर्छ। सकिन्न भन्ने निष्कर्षमा केन्द्रीय समिति पुगे, विशेष महाधिवेशन विकल्प हो,’ शर्माले बैठकमा भनेका थिए, ‘नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ। यसले सभापतिज्यूको बहिर्गमनलाई पनि सहज बनाउनेछ।’
महामन्त्री शर्माले महाधिवेशन तयारीका लागि रातदिन खट्न सक्ने नेतृत्व चाहिने उल्लेख गर्दै कार्यवाहकले त्यो गर्ने अथवा अरू कोही सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो गर्नु उचित हुने बताएका थिए।
‘नियमित महाधिवेशन गर्दा विधानमा संशोधन गरेर सबै तहमा व्यापक युवा सहभागिता बढाउन सकिन्छ,’ शर्माले बैठकमा भने, ‘छोटो समयमा नियमित महाधिवेशन गर्न सकिन्न भन्ने हो भने, विशेष अधिवेशन गर्नुपर्ने हुन्छ। ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको अवस्थामा हस्ताक्षर अभियानका साथीहरूले बताउनु भएको छ।’
फागुन २१ मै चुनाव गर्न सरकारलाई साथ र दबाब दुवै दिनुपर्ने शर्माको भनाइ थियो।
‘प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर हामीले कार्यसम्पादन समितिको बैठकबाट गरेका छौं। अदालतले यसको संवैधानिक परीक्षण के गर्छ, त्यो नै अन्तिम हुनेछ,’ उनले बैठकमा भनेका थिए, ‘तर मेरो दृष्टिमा सबै राजनीतिक दलले चुनाव मार्फत प्रणालीलाई ट्र्याकमा ल्याउने बाटो रोज्नु उत्तम हुनेछ। केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको तयारी सँगसँगै निर्वाचनमा जाने निर्णय गर्नुपर्छ। सरकारलाई साथ र दबाब दिएर जानुपर्छ।’