पोखरा महानगरपालिका-१६ स्थित लिची बगैंचाको १३५ रोपनी जग्गा हडप्ने प्रकरणमा मुछिएका अर्का पूर्वमन्त्री बलराम अधिकारीविरूद्ध बुधबार मुद्दा चलाइएन।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व भूमि व्यवस्था मन्त्री अधिकारी र तत्कालीन सचिव अर्जुन पोखरेलका विषयमा अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान गर्ने निर्णय भएको जनाएको छ।
यही प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालमा मुद्दा दर्ता गरिसकेको छ।
गुप्ताले 'घुस डिल' गरेको अडिओ सार्वजनिक भएसँगै अधिकारीले पनि पैसा लिएको भन्ने अडिओ सार्वजनिक भएको थियो।
उक्त अडिओमा लिची बगैंचाको जग्गा हडप्न तारतम्य मिलाउने बिचौलिया सुजन लामाले पूर्वमन्त्री बलरामका छोरा मनोज अधिकारीमार्फत ३२ लाख रूपैयाँ दिएको भनेका थिए।
त्यही कामका लागि तत्कालीन सचिव पोखरेलले ५ लाख रूपैयाँ नगद र वनकुखुरासहित १० हजार बराबरका सामान किनिदिएको भन्ने अडिओमा सुनिन्छ।
अडिओ सार्वजनिक भएसँगै पूर्वमन्त्री बलरामले पत्रकार सम्मेलन गरेर त्यो आवाज आफ्नो नभएको र चरित्र हत्या गर्न खोजिएको बताएका थिए।
घुस डिलको अडिओ सार्वजनिक भएसँगै अनुसन्धान सुरू गरेको अख्तियारलाई हामीले दुई पूर्वमन्त्रीमाथि मुद्दा चलाइँदा त्यही प्रकरणमा अर्का पूर्वमन्त्रीलाई किन मुद्दा चलाइएन भनेर सोधेका छौं।
फरक फरक प्रकृति र फरक फरक समयको घटना भएकाले छुट्टाछुट्टै अनुसन्धान गर्ने निर्णय गरिएको अख्तियारका एक अधिकारीले बताए।
'पूर्वमन्त्री बलराम अधिकारी र सचिव अर्जुन पोखरेलको अडिओ संवाद फरक समयमा भएकाले त्यसमाथि छुट्टै अनुसन्धान भइरहेको छ,' ती अधिकारीले भने, 'अनुसन्धान सकेपछि मुद्दा दर्ता हुन्छ।'
मुद्दाको प्रकृति एउटै भए पनि आरोप ल्याउने व्यक्ति फरक भएकाले मुद्दा छुट्टाएर अनुसन्धान गर्ने निर्णय भएको उनले जानकारी दिए।
अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले पनि उनीहरूमाथि छुट्टै अनुसन्धान भइरहेको र त्यसमा भेटिने प्रमाणका आधारमा कानुनी कारबाही अघि बढ्ने बताए।
यो पनि पढ्नुहोस्: