नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच अहिले भेटवार्ता भएको छ।
पार्टी कार्यालय सानेपाभन्दा बाहिरै भएको भेटवार्तामा महामन्त्रीद्वयले नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन बैठक आह्वान गर्नुपर्ने कुरा राखेका थिए।
यसमा सभापति देउवाले कुनै ठोस जबाफ दिएनन्। उनले 'सरसल्लाह गरेर अघि बढौंला' मात्र भनेको बैठकका एक सहभागीले बताए।
कांग्रेसको मंगलबार दिउँसो हुने केन्द्रीय समितिको एजेन्डा पनि तय भएको छैन। सभापति देउवा पार्टी कार्यालय आएर केन्द्रीय समितिको बैठकमा बोल्ने र आजका लागि बैठक स्थगित गर्ने कुरा भएको छ। त्यसपछि केन्द्रीय समितिको बैठक बुधबारबाट बस्नेछ।
केन्द्रीय समितिमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन छ। महामन्त्री गगन थापाले यो कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव आफूले केन्द्रीय समितिमा पेस नगर्ने सार्वजनिक रूपमा बताइसकेका छन्।
पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा केही दिनदेखि बसे पनि केन्द्रीय समितिका एजेन्डा तय हुन सकेको छैन। मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने तथा विशेष महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा छलफल भइरहेको छ।
मंसिरभित्रै नियमित महाधिवेशन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन्। नेता शेखर कोइरालाले पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्। सभापति देउवा पक्ष भने मंसिरभित्र नियमित महाधिवेशन गर्न तयारी नपुग्ने बताउँदै चुनावपछि वैशाखमा महाधिवेशन गर्न सकिने बताइरहेका छन्।
मंसिरभित्र नियमित महाधिवेशन नभएका खण्डमा विशेष महाधिवेशनमा जानुपर्नेमा महामन्त्री थापा र शर्मा छन्।
महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्। हस्ताक्षर संकलन अभियानमा सक्रिय नेता गुरूराज घिमिरेका अनुसार अहिलेसम्म ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरिसकेका छन्।
आज केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउने तयारी रहेको उनले बताए।
‘केन्द्रीय समिति बैठकका लागि अहिलेसम्म एजेण्डा तय भएको छैन भन्ने सुनिएको छ, सभापति र महामन्त्रीहरू बीच छलफल भएर एजेण्डा पनि तय होला केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दै रहेछ,´ उनले भने, ` केन्द्रीय समिति बैठकअघि हामी विशेष महाधिवेशन माग गर्न महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउँछौं। अहिलेसम्म ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसक्नुभएको छ।’
मंसिरभित्रै नियमित महाधिवेशन गर्न सभापति देउवा तयार नभएका खण्डमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाउने तयारीमा महाधिवेशन प्रतिनिधिहरू छन्।
जेनजी पुस्ताको भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण गरेका थिए। त्यसयता देउवा सार्वजनिक रूपमा देखिएका छैनन् भने आज दिउँसो १ बजे केन्द्रीय समिति बैठकमा उपस्थित रहने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
सभापति देउवाले आफै सभापतिमा निरन्तरता दिन्छन् कि उपसभापति पूर्णबहादुर खड्का वा अरू कसैलाई कार्यवाहक सभापति जिम्मेवारी दिन्छन् यकिन भइसकेको छैन।