अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकाय गएर त्यहाँका प्रमुखहरूलाई थर्काउँदै राजीनामा माग्ने एक जेनजी प्रतिनिधि वैदेशिक रोजगार ठगीमा पक्राउ परिसकेको पाइएको छ।
जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेको थियो।
तिनैमध्येका अर्जुनबहादुर शाही वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा मुछिएर पक्राउ परिसकेको प्रहरीले जनाएको छ। उनीविरूद्ध चेक बाउन्सका अरू थुप्रै मुद्दा पनि छन्।
अछामको पञ्चदेव विनायक नगरपालिका–४ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय शाहीले आफूलाई 'जेनजी रिभोलुसन नेपाल' का उपाध्यक्षका रूपमा चिनाउँछन्। उनीविरूद्ध काठमाडौंका विभिन्न अनुसन्धान निकायमा मुद्दा परेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकचोटि पक्राउ गरिसकेको प्रहरी स्रोतले बतायो।
स्रोतका अनुसार उनलाई गत वैशाख २८ गते अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगार कसुरमा पक्राउ गरेको हो। पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको थियो। तर उनी बिरामी भएको भन्दै अस्पतालमा बसे।
'शाहीमाथि जापान पठाइदिने भन्दै ८ लाख रूपैयाँ ठगेको आरोप थियो। हामीले पक्राउ गरेर विभागमा बुझाएका थियौं,' प्रहरी स्रोतले भन्यो, 'अस्पताल भर्ना पनि भए, पछि छुटेको भन्ने थियो। तर पीडितलाई रकम बुझाए–नबुझाएको यकिन छैन।'
यसबारे वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालसँग सोध्दा उनले अर्जुन शाहीलाई वैदेशिक रोजगार ठगीमा पक्राउ गरिएको र जेठ २२ गते मेलमिलाप गरेर छुटेको पुष्टि गरे।
'उहाँले आफू बिरामी भएको अस्पतालको प्रमाण पनि ल्याउनुभएको थियो। फेरि आठ लाख रूपैयाँ अनलाइनमार्फत पठाएका रहेछन्। त्यसपछि मेलमिलाप गरी उहाँ जेठ २२ गते छुट्नुभएको हो,' उनले भने।
यसरी विवादमा देखिएका व्यक्ति प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण हुँदा राष्ट्रपति कार्यालयमा समेत उपस्थित रहेका तस्बिरहरू बाहिरिएका थिए। तस्बिरमा उनले सुदन गुरूङको साथमा हात उठाएको देखिन्छ।
अहिले अन्तरिम सरकार गठन भएपछि उनी विभिन्न सरकारी संस्थामा सहभागी भएका नेतृत्वलाई प्रश्न गरी राजीनामा मागेका भिडिओ बाहिरिएका छन्।
सोमबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भेट्न शाहीसहित करिब १५ जनाको टोली पुगेको थियो। उनीहरूले करिब डेढ घन्टा महानिर्देशक अधिकारीसँग कुराकानी गरे। त्यसमा उनीहरूको प्रमुख माग अधिकारीको राजीनामा थियो।
भिडिओमा शाहीले भनेका छन्, 'राजीनामा दिनुस् तपाईं। तुरून्त राजीनामा दिनुस्। गर्न सक्ने मान्छे आउँछ।'
त्यसको जबाफमा अधिकारीले भने, 'सरकारले चाहन्छ भने मलाई केही छैन।'
अर्जुनबहादुर शाही र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा पुगेर पनि उनले आयुक्तहरूलाई भेट्न पाउनुपर्ने भन्दै कर्मचारीसँग चर्को स्वरमा कुराकानी गरेका भिडिओ देखिएका छन्। उनीहरूले अख्तियारका आयुक्तलाई जसरी पनि भेट्न पाउनुपर्ने भन्दै दबाब दिएका थिए।
'दुई मिनेट नभेटिकन जाँदैनौं। आज रातभरि भए पनि बस्छौं। जति हामीलाई अल्झाउनुहुन्छ, त्यति नै मान्छे थपिँदै जान्छन्। नियन्त्रणभन्दा बाहिर जान्छ,' शाहीले कर्मचारीसँग भने।
लामो समयसम्म भनाभन गरेपछि कर्मचारीहरूले नै समन्वय गरी प्रमुख आयुक्त प्रेम राई सहित अन्य आयुक्तहरूसँग भेट गराएका थिए। शाहीले त्यहाँ ज्ञापनपत्र नै बुझाएका थिए।
त्यसपछि उनीहरू नेपाल वायुसेवा निगमको कार्यालय पुगेका थिए।
अख्तियारको कार्यालयमा छेउको सोफामा बसिरहेका शाही।
शाहीविरूद्ध एउटा मुद्दा मात्र नभई एकभन्दा बढी मुद्दा रहेको प्रहरीको रेकर्डमा फेला परेको छ। स्रोतका अनुसार प्रहरी वृत्त महराजगन्ज, प्रहरी वृत्त बौद्ध र प्रहरी वृत्त स्वयम्भूमा समेत मुद्दा रहेको भेटिएको छ।
महाराजगन्जमा चेक बाउन्सको मुद्दा परेको भेटिएको छ। १० लाख ३० हजार रूपैयाँको चेक बाउन्स भएको भन्दै २०८१ वैशाख २७ गते उनीविरूद्ध महाराजगन्जमा जाहेरी परेको थियो। महाराजगन्जमै २०८१ असोज २८ गते दुई लाख रूपैयाँको चेक बाउन्स भएको अर्को मुद्दा परेको थियो।
त्यसैगरी प्रहरी वृत्त बौद्धमा पुस २३ गते सात लाख रूपैयाँ बराबर चेक बाउन्सको मुद्दा परेको थियो। स्वयम्भूमा गत वैशाख २३ गते १० लाख रूपैयाँको अर्को जाहेरी परेको थियो।
शाहीविरूद्ध दायर भएका यी मुद्दाको पछिल्लो अवस्थाबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवन भट्टराईले बताउन चाहेनन्।
'अहिलेसम्म यसबारे थाहा छैन। यसबारे पत्रिका हेरेरै थाहा हुन्छ। उजुरी केही आएपछि हेरौंला,' उनले भने।
यी ठगी तथा चेक बाउन्सका मुद्दाबारे बुझ्न सेतोपाटीले शाहीसँग पनि सम्पर्क गरेको छ।
उनले आफू कुनै पनि कारोबारमा संलग्न नरहेको र अहिले जेनजी आन्दोलनपछि आफूलाई बदनाम गराउने प्रयास भएको बताए।
उनलाई हामीले 'प्रहरीले तपाईंलाई पक्राउ गरेको हो कि होइन' भनेर प्रश्न गर्यौं।
त्यसबारे उनले भने, 'म गलत भएको भए हिजो–अस्ति नै यी कुरा आइसक्थे। हिजो १५ अर्बको प्रतिवेदन सार्वजनिक गर्नुस् भनेर नेपाल वायुसेवा निगममा जाँदै गर्दा म जाबो फुच्चेको कारोबार कहीँ छुटेको होला? पाँच–सात वटा ठाउँमा कारोबार गर्दा कहीँ छुटेको हुनसक्छ? मैले आफ्ना वकिललाई पनि सोधेँ। ती मान्छे पैसा लिन पनि नआएको बाहिर–बाहिर कुनै पार्टीको मान्छेले कुनै व्यक्तिगत रूपमा उचालेर बदनाम गर्न खोजेको मात्र हो। यसमा सत्यता छैन।'
उनले अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेकोबारे अस्पष्ट जबाफ दिएपछि 'तपाईंलाई वैशाख २८ गते प्रहरीले पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाएको रहेछ नि?' भनेर पनि हामीले सोध्यौं।
जबाफमा उनले भने, 'यो विषय केही पनि होइन। यी सबै झुटा मुद्दा हुन्। स्पष्ट रूपमा भन्नुपर्दा त्रिभुवन विश्वविद्यालयका रेक्टर–भिसीहरू र शिवपुरीमा जर्नेल–कर्नेलहरूलाई राख्दै गर्दा झुटा मुद्दा लगाइएको हो। एक महिनामा देश कसरी कब्जा गर्न सकिन्छ, एक सातामा सरकार कसरी ढाल्न सकिन्छ भन्ने कारणले तत्कालीन केपी ओलीको सरकारले दुईचोटि पक्राउ गरेको हो। अन्य झुटा मुद्दाका विषयमा केही पनि छैन।'
वैदेशिक रोजगार विभागमा मिलापत्र पनि गरिएको रहेछ भन्ने विषयमा पनि उनले आफू कहीँ कतै व्यक्तिगत रूपमा नजोडिएको बताए।
'मेरो नाम कहीँ कतै जोडिएको छैन। मेरा व्यक्तिगत चेकहरू छैनन्। कम्पनीका चेक हुन्। उपत्यका बाहिर हुँदा सचिवालयमा हुने साथीहरूले के कसो गरे यसमा आधिकारिक कागजातहरू बुझाइसकेँ। मेरो कुनै संलग्नता छैन। मेरो संलग्नता भेटियो भने कानुन अनुसार सजाय भोग्न तयार छु,' उनले भने।
उनले आफ्नो मिडिया र ट्रेडिङको व्यवसाय रहेको बताए। उनले कुनै पनि पीडितले आफूलाई नचिनेको दाबी पनि गरे। कुनै पनि मुद्दाका चेकमा आफ्नो हस्ताक्षर नरहेको पनि बताए।
'अहिले चेकहरूको विषय सबै कम्पनीका हुन्। कम्पनी मैले चलाउने होइन। पछाडिको मान्छेले चलाउने हो। कम्पनीमा दुई जना पार्टनर छौं, अर्को पार्टनरले कम्पनी हेर्नुहुन्छ। हाम्रो होमराज खपांगी मगर भन्ने हुनुहुन्छ। उहाँ र उहाँको भाइले चलाउने हो। म त्यसमा पार्टनर मात्र हो। सबै निर्णय आधिकारिक ढंगले कहाँ पेस गर्नुपर्ने हो, गरेको छु। हजुरहरूले कम्पनी रजिस्ट्रारमा बुझ्न सक्नुहुन्छ,' उनले भने।
'जाहेरी त तपाईंविरूद्ध परेको हो नि हैन?' भनेर प्रश्न गर्दा उनले आफूसँगै अर्का पार्टनर खपांगीविरूद्ध पनि परेको बताए।
'मेरो विरूद्ध मात्र होइन। उहाँ र मविरूद्ध हो,' उनले भने, 'कम्पनीसँग जोडिँदा सेयरहोल्डर को–को हो आए होलान्। मेरो व्यक्तिगत रूपमा केही पनि छैन। तर ममाथि व्यक्तिगत रूपमा आक्रमण भएको छ। अहिले केही मानिसलाई रिस उठेको छ। कहीँ कतै ढिला भएको, समस्या भएको आफ्नो ठाउँमा छ तर यसरी बदनाम गर्छन् भन्ने लागेको थिएन। गल्ती गरेको छु भने सजाय भोग्न तयार छु।'
***