जेन—जी अभियानी मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन्।
उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गर्नुभयो । आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताएका हुन्।
‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौं। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होइन,' उनले भने।
प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको उनको भनाइ छ।
'संगठित भएर अगाडि बढ्नलाई छरिएर नबसौं, हुलमुलमा नबसौं, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो। हामीले राजनितिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होइन। यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुपर्यो। कि त मैले एनजीओ खोल्नुपर्यो देश विकासका लागी कि त राजनितिक दल खोल्नुपर्यो। त्यो बाहेक त हुलमुल मात्रै हुन्छ,' उनले भने।
उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताए।– न्युज एजेन्सी नेपाल