गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री दीपक खड्का भागिसकेको बताएका छन्।
नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तरवार्तामा मन्त्री अर्यालले सरकारले ठुल्ठूला नेताको सम्पत्ति छानबिन सुरू गरेपछि यसअघिका ऊर्जामन्त्री भागेको बताएका हुन्। उनले खड्काको नाम भने लिएका छैनन्।
‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। अब यहाँ ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’
भदौ २३ र २४ को जेनजी आन्दोलनताका कांग्रेस नेता दीपक खड्का ऊर्जामन्त्री थिए। आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठमा रहेको खड्काको घर पनि जलाइदिएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काकै जोडबलमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रमुख कुलमान घिसिङलाई कार्यकाल सकिन केही महिना बाँकी छँदा हटाइएको थियो।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनै घिसिङ ऊर्जामन्त्री बनेका छन्। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि घिसिङले सम्हालेका छन्।
मन्त्री अर्यालले भ्रष्टाचारका लागि छुट्टै आयोग वा कुनै संयन्त्र बनाउने भन्दा राज्यका संयन्त्रहरुबाटै काम भइरहेको बताएका छन्।
‘पहिला भइरहेका राज्यका संयन्त्रबाट काम गर्ने हो। भइरहेका संयन्त्रहरू जब प्रभावकारी देखिँदैनन्, त्यो बिन्दुबाट अर्को संयन्त्र सुरु हुन्छ। त्यो हामीले नजिकबाट हेरेका छौं।’
नेताहरुको भागाभाग चलेको दाबी गर्ने क्रममा गृहमन्त्रीले उनीहरुलाई रोक्ने उपाय खोजिएको पनि उल्लेख गरेका छन्।
‘उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ। प्रारम्भिक अवस्थामा अनुसन्धान गर्न केही अफ्ठ्यारो छैन। खासगरी सम्पत्ति शुद्धीकरणले सम्पत्तिको विस्तृत विवरण हेर्ने हो,’ उनले भनेका छन् ‘त्यो विवरण हेरेपछि बयानका क्रममा उहाँहरूलाई ल्याउनुपर्ने हुन्छ, हाजिर गराउनुपर्ने हुन्छ। अनि मुद्दा पेश गर्दा उहाँहरूलाई पक्राउ गरेर सँगसँगै लैजाने कुरा हुन्छ।’
गृहमन्त्री अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आक्रोश व्यक्त गरे। ओलीको ‘आपराधिक लापरबाही’ (क्रिमिनल नेग्लीजेन्स) ले भदौ २४ को वितण्डा निम्तिएको अर्यालको आरोप छ।
‘निवर्तमान प्रधानमन्त्री केपी ओली लगायतले सरकार चुनाव नगराउने उद्देश्यसहित धरपकडको प्रयासमा रहेको आरोप लगाइरहनुभएको छ । सरकारले यस्तै गरिरहेको हो ?’ हो भन्ने प्रश्नमा गृहमन्त्री अर्याल भन्छन् ‘उहाँमा सैतानी प्रवृत्ति छ, खालि भड्काउने मात्र खोज्नुहुन्छ। उहाँको विगत पनि त्यस्तै छ। आजसम्म पनि उहाँ सुध्रिनुभएको छैन।’
कुशासनको विरोधमा उर्लेको जनसागर र विद्रोहले ओलीलाई अपदस्त गरेको उनले बताए।
'जेन–जी पुस्ताले हटाएको हो। त्यो पनि उहाँले बोध गर्नुभएन। उल्टो आन्दोलनकारीलाई आतंककारीजस्तो व्यवहार गर्ने उहाँको दिमाग सैतानी छ। त्यो प्रवृत्तिविरुद्ध सरकारले निगरानी गरिरहन्छ। जसको दिमागमै सैतानको वास छ, उसले आफूबाहेक सबैलाई बेठिक भन्छ। उहाँ अवस्था भड्काउन मात्र लाग्नुभएको सबैले बुझिसकेका छन्।’