नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्काले भदौ २४ गते प्रदर्शनकारीहरूले घरमा तोडफोड गर्दा आफू सोही घरमा रहेको बताएका छन्।
सोमबार बिहान बूढानीलकण्ठस्थित सोही घरको प्रांगणमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले त्यतिबेला तोडफो र आगजनी हुन थालेपछि सुरक्षाकर्मीले आफू र परिवारलाई सुरक्षित स्थानमा लगेको बताएका हुन्।
त्यतिबेला दीपक खड्काको घरबाट लाखौं रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि सार्वजनिक भएको थियो।
सो भिडिओबारे पत्रकारहरूले सोमबार खड्कालाई नै प्रश्न गरेका थिए।
जबाफमा खड्काले प्रदर्शनकारीहरूले पैसा उडाउँदै गर्दा आफू घरमै रहेको पनि बताए।
'मेरो घरमा कति पैसा थियो। कति विदेशी पैसा थियो भनेर प्रहरीसँग दर्ज गरेको छु। उडाएर फोटो खिचिएको थियो। यही घरमा बसेर हेरिरहेको थिए,' उनले भने।
उनले दसैंका लागि भनेर राखिएका २० र ५० रूपैयाँका नोटका बन्डलहरू लगेर प्रदर्शनकारीहरूले उडाएको दाबी गरे।
'मैले दसैंका लागि ल्याएर राखेको पैसा थियो। २० र ५० रूपैयाँका नयाँ नोटहरू थिए। त्यसका एकएकवटा बन्डल ल्याएर फुर्र उडाएर सँगसँगै फोटो खिचिरहेका थिए। त्यो प्लानमा थियो। चरित्र हत्या गर्न प्लान गरिएको थियो,' उनले भने।
उनले आफ्नो व्यवसायिक पृष्ठभूमिका आधारमा केही पैसा हुनु अस्वभाविक नहुने पनि बताए।
'दीपक खड्कासँग दुई चार लाख पैसा नहुन सक्छ भनेर तपाईंहरू विश्वास गर्नुहुन्छ? मेरो पृष्ठभूमी हेर्नुभाछ? संगत गर्नुभाछ?,' पत्रकारहरूलाई उनले भने, 'म त्यो पृष्ठभूमिबाट आएको मान्छे। मेरो जे व्यवसायिक संरचना छन् मन्त्री हुनु र राजनीति गर्नुभन्दा पहिल्यै तयार भएका थिए,' उनले भने।