प्रधानमन्त्री सुशीला कार्कीसँगको संवादमा नेकपा एमालेले गृहमन्त्री ओमप्रकाश अर्यालका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै फागुन २१ गते चुनाव हुनेमा संशय पनि व्यक्त गरेको छ।
बालुवाटार केही बेरअघि मात्र सकिएको संवादमा नेकपा एमाले तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले भाग लिएका थिए।
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि एमाले नेतृत्वकै सरकार अपदस्थ गरेर सुशीला कार्कीको अन्तरिम सरकार बनेको हो।
अन्तरिक सरकार बनेको एक महिनापछि प्रधानमन्त्री कार्कीले डाकेको पहिलो राजनीतिक संवादमा एमालेले के धारणा राख्यो भनेर हामीले उपमहासचिव ज्ञवालीसँग कुरा गरेका छौं।
'नेकपा एमाले सहित बैठकमा सहभागी अधिकांश दलले चुनावप्रति संशय व्यक्त गरे,' उनले सेतोपाटीसँग भने, 'चुनावका लागि वातावरण बनाउन सरकार गम्भीर देखिएको छैन भन्ने धारणा हामीले राख्यौं।'
ज्ञवालीले बालुवाटार बैठकमा एमालेले मुख्य गरी चारवटा कुरा राखेको जानकारी दिए —
पहिलो, एमालेको हालै सम्पन्न सचिवालय र केन्द्रीय कमिटी बैठकले फागुन २१ गते चुनाव हुने स्थिति नभएको र संसद पुनर्स्थापना गरेर संविधान प्रणाली ट्रयाकमा ल्याउनुपर्छ भन्ने निर्णय गरेको छ। एमालेले प्रधानमन्त्रीसँगको संवादमा पनि यही कुरा राखेको छ।
दोस्रो, प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतले यसमा संवैधानिक परीक्षण गरेपछि मात्र निर्वाचनमा जाने कि अर्को विकल्पमा जाने भन्ने बाटो खुल्छ।
तेस्रो, भदौ २३ र २४ को आन्दोलनले राजनीतिक दलहरूमाथि विजय हासिल गरेजस्तो व्यवहार यो सरकारले देखाउँदैछ। अन्तरिम सरकारको म्यान्डेट नै चुनाव हो भने दलहरूसँग संवाद गर्न किन यति ढिला गरियो?
चौथो, सरकारले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन हुने वातावरण बनाएको छैन। भदौ २४ को घटनामा १२ सयभन्दा बढी हतियार लुटिएका छन्। देशभरिका जेलबाट कैदीबन्दीहरू फरार छन्। ती सबैलाई बाहिर राखेर निर्भयताका साथ चुनाव हुन्छ भनेर सरकारले कसरी सुनिश्चित गर्छ?
'यी चार कारणले हामीलाई चुनाव हुन्छ भन्नेमा संशय छ,' उपमहाचिव ज्ञवालीले भने, 'गृहमन्त्रीको व्यवहार र उहाँले पूर्वप्रधानमन्त्री केपी ओलीप्रति दिएका अभिव्यक्तिप्रति हामीले आपत्ति पनि जनाएका छौं।'