प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राजनीतिक दलहरूसँग गरेको संवादमा गृहमन्त्री ओमप्रकाश अर्याल र नेकपा एमाले प्रतिनिधिहरूबीच 'नोकझोक' भएको छ।
बैठकमा एमाले तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले भाग लिएका थिए।
उनीहरूले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्रमै प्रश्न उठ्ने गरी गृहमन्त्रीले दिएका अभिव्यक्तिप्रति आपत्ति जनाए।
'आयोगको कार्यक्षेत्र के हो? यदि त्यो निश्चित छ भने गृहमन्त्री किन आफूखुसी बोल्दै हिँड्नुभएको छ?' बैठकमा एमाले प्रतिनिधिहरूले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
यसमा गृहमन्त्री अर्यालले 'सरकारको उद्देश्य चुनाव गराउने हो, दलहरूले पनि सहयोग गर्नुपर्यो' भनेका थिए।
त्यसमा एमालेले 'काउन्टर' दिँदै गृहमन्त्री अर्यालले केही दिनयता दिइरहेका अभिव्यक्तिले नै चुनावी वातावरण बिथोल्ने काम गरेको आरोप लगायो।
बैठकमा यस्तो कुरा उठेपछि गृहमन्त्री अर्यालले पनि राजनीतिक दलहरूको भूमिकामाथि प्रश्न उठाए।
भक्तपुरको गुन्डुमा एमालेले गरिरहेको राजनीतिक कार्यक्रमतर्फ इंगित गर्दै उनले भने, 'चुनावको वातावरण बनाउनमा दलहरूका तर्फबाट सहयोग भएको छैन। भक्तपुरमा दुईथरी अभ्यास भइरहेका छन्। यसलाई तपाईंहरूले पनि नियन्त्रण गर्नुपर्यो।'
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान रोक लगाइएको विषय पनि एमालेले बैठकमा उठाएको थियो।
'प्रमुख नेताहरूलाई जिल्ला यात्रा गर्न रोक लगाएर कसरी चुनावी वातावरण बन्छ?' बैठकमा सहभागी एमाले नेताहरूको प्रश्न थियो।
हामीले यसबारे उपमहासचिव ज्ञवालीलाई सोध्दा उनले बैठकमा गृहमन्त्रीको व्यवहारबारे आपत्ति जनाएको पुष्टि गरे।
'गृहमन्त्रीको व्यवहार र उहाँले पूर्वप्रधानमन्त्री केपी ओलीप्रति दिएका अभिव्यक्तिप्रति हामीले आपत्ति जनाएका हौं,' उनले भने।