नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुसभित्र नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन बाध्यकारी रहेको बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकाले विधानअनुसार विशेष महाधिवेशन बाध्यकारी हुने बताएका हुन्।
'अब मंसिरमा महाधिवेशन हुन सक्दैन। पुस मसान्तसम्म १५औं महाधिवेशन गरौं। नयाँ नेतृत्वले चुनाव हाँक्नुपर्छ, ताकि मतदातामा पनि उत्साह आओस्,' कोइरालाले भने, 'मैले मौनता साधेको छैन, कांग्रेस जन्मदेखि मध्यमार्गी पार्टी हो, मध्यमार्गीले नै देश हाँकेको छ, त्यसैले जित्छ।'
उनले अगाडि भने, 'चार वर्षदेखि मैले २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्छ भनेको हो, तर किन सकिएन? यो कार्यसमितिको म्याद थप्न हुन्न भनेकै हो।'
उनले विशेष महाधिवेशनका लागि पार्टीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएको उल्लेख गर्दै ४० प्रतिशतले हस्ताक्षर बुझाए मात्र पनि विशेष महाधिवेशन बाध्यकारी हुने बताए।
'४० प्रतिशतले हस्ताक्षर बुझाए पनि विशेष महाधिवेशन बाध्यकारी छ, तर ५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाउनुभएको छ, नियमित महाधिवेशन गरियो भने उहाँहरूलाई सम्झाउँला, नत्र विशेष महाधिवेशन विधानअनुसार बाध्यकारी छ,' कोइरालाले भने।
तर विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर रूजु गर्ने क्रममा थप विवाद हुन सक्ने उनले बताए।
हस्ताक्षर बढेर ६० प्रतिशत पुग्ने वा घट्न सक्नेतर्फ संकेत गर्दै उनले जे भए पनि पार्टीमा विभाजन मनस्थिति देखा पर्न सक्ने बताए।
'हस्ताक्षर रूजु गर्ने क्रममा वादविवाद हुन्छ र त्यसले कांग्रेसलाई अप्ठ्यारोमा लैजान सक्छ,' उनले भने, 'विशेष महाधिवेशन गर्ने हो भने केन्द्रीय समितिले नै निर्णय गरौं। सर्वसम्मत निर्णय हुन्छ।'
विधानमा केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिले आवश्यक ठाने विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ।
उनले पार्टी विभाजन हुन्छ कि भन्ने चिन्ता आफूलाई रहेको बताए।
'विशेष अधिवेशन माग गर्ने साथीहरूको हस्ताक्षर रूजु गर्ने दिनदेखि नै विभाजनको मनस्थिति सुरू हुन्छ,' उनले भने।
उनले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा पेस गरेको पुस १६ देखि १९ गतेसम्मको कार्यतालिकामा १५औं महाधिवेशन गर्न सकिने पनि बताए। तर पार्टीभित्र कतिपयले सबै तहको नियमित अधिवेशनमा जोड दिएको कोइरालाको भनाइ थियो।
उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि पार्टी चुनावमा जानुपर्ने उनको भनाइ थियो। तर निर्वाचनका लागि सरकारले शान्ति सुरक्षाको वातावरण बनाउनुपर्ने उनले बताए।
'पार्टीभित्र निर्वाचनमा जाऔं र संसद पुनर्स्थापना गरेर जाऔं भन्ने धार छ। म निर्वाचन पक्षमा छु। कांग्रेसको निर्णय भएको छैन। केही निवर्तमान सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन्, त्यो व्यक्तिगत अधिकारको कुरा हो,' उनले भने, 'पार्टीले निर्णय जे निर्णय गर्छ, त्यो उहाँहरूले पनि मानिहाल्नुहुन्छ।'