नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
यो पार्टीको अध्यक्षमा कविर सोब र संरक्षक रेशम चौधरी रहेका छन्।
संरक्षक चौधरीले सेतोपाटीसँग कुराकानी गर्दै नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको र दर्ता प्रमाण पत्र पनि प्राप्त भइसकेको बताए।
‘जेनजी पुस्ताका कविर सोब अध्यक्ष हुनुहुन्छ, म संरक्षक छु, ४५ सदस्यीय केन्द्रीय समिति छ,’ उनले भने।
अध्यक्ष कविर २५ वर्षका हुन्। स्नातक उत्तीर्ण उनी टीकापुर नगरपालिका १ का हुन्। उनी यसअघि राजनीतिमा सक्रिय थिएनन्।
संरक्षक चौधरीका अनुसार नाउपा नेपालको पार्टी कार्यालय सिनामंगलमा छ।
त्यही कार्यालयमा मंसिर ५ र ६ गते केन्द्रीय सदस्यहरूको शपथ र प्रशिक्षण हुनेछ।
साथै नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट आएका तर अद्यावधिक नगरिएका १५० जना केन्द्रीय सदस्यलाई पनि प्रशिक्षण दिइने उनले जानकारी दिए।
रेशम यसअघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक थिए। उक्त पार्टी अध्यक्षमा रञ्जिता श्रेष्ठ छिन्। नाउपा छाडेर रेशमले कविरको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गरेका हुन्।
पार्टी दर्ता निवेदन दिँदा जाँतो चिह्न प्रस्ताव भएको थियो।