नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीनिकट राष्ट्रिय युवा संघले बारामा आयोजना गरेको शान्तिपूर्ण सभामा दखल पुर्याउन खोजिएको बताएका छन्।
पार्टीको बागमती प्रदेश कमिटीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस दिन शान्तिपूर्ण कार्यक्रम राखिएको र एमालेका केन्द्रीय नेताहरू बारा जाने कार्यक्रम तय भएकाले प्रदर्शनकारीहरूले सिमरा विमानस्थलमै हमला गरेको बताए।
'बारामा माओवादी, राप्रपा, रास्वपा लगायत दलहरूले हमला गरे। शान्तिपूर्ण सभामा कसैले दखल दिन मिल्छ? हाम्रा नेताहरू जान्छन् भनेर एयरपोर्टमै हमला गराइयो,' उनले भने।
सरकारले पनि एमालेमाथि हमला नगरेको भनेर बाराका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको उनले बताए।
'एमालेलाई उत्तेजित बनाउने, जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई योभन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। योभन्दा बढी अगाढि बढ्छु भन्ने ठान्नुहुन्छ भने तपाईंहरूका लागि पनि हितकर हुने छैन,' उनले भने।
ओलीले वर्तमान सरकार नै अवैधानिक रहेकाले चुनाव गर्ने अधिकार नभएको बताए। उनले लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह गर्दै त्यसको पहलका लागि सम्पूर्ण दलहरूलाई पनि अपिल गरे।
अहिलेको सरकार गठन प्रक्रियालाई अदालतले उचित ठहर गर्न नसक्ने उनको भनाइ थियो। संसद पुनर्स्थापनापछि सर्वपक्षीय सरकार बनाउने उनले बताए।
एमालेले गत असोज ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको जनपरिचालनको निर्णय अनुसार कात्तिक २२ यता देशभरि कार्यक्रम गर्दै आएको छ।
कात्तिक २२ गते देशभरका वडामा वडा भेला गरिएको थियो। त्यसपछि कात्तिक २५ गते सबै पालिकामा पालिकास्तरीय र्याली आयोजना गरियो भने २९ गते सबै जिल्लामा जिल्ला स्तरीय जनसभा आयोजना भयो।
'आज (शनिबार) को कार्यक्रमपछि पहिलो चरणको जनपरिचालन समापन हुन्छ,' प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, 'त्यसपछि मंसिर २७ गते ११औं महाधिवेशन उद्घाटन क्रममा फेरि काठमाडौंमा विशाल जनसभा गर्नेछौं।'
ओलीको सम्बोधन, हेर्नुहोस् भिडिओमा —