अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष अमेरिकामा हुने जी२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई भाग लिन नदिने बताएका छन्।
दक्षिण अफ्रिकाले भर्खरै अफ्रिकामा पहिलो पटक जी२० शिखर सम्मेलन आयोजना गरेको थियो। दक्षिण अफ्रिकासँगको खटपटका कारण सो शिखर सम्मेलन बहिष्कार गरेका ट्रम्पले अर्को वर्ष आफ्नोमा हुने शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई भाग लिन नदिने भनेका हुन्।
अरू बहुराष्ट्रिय संस्थामा जस्तै जी२० मा पनि शिखर सम्मेलन आयोजना गर्ने देशको सरकार प्रमुखले अर्को संस्करण आयोजना गर्ने देशको सरकार प्रमुखलाई अध्यक्षता हस्तान्तरण गर्ने चलन छ।
ट्रम्पले शिखर सम्मेलन बहिष्कार गरेपछि अमेरिकाले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसालाई अमेरिकी कूटनीतिज्ञलाई अध्यक्षता हस्तान्तरण गर्न भनेको थियो। तर रामापोसाले समान हैसियत नभएको कनिष्ठ अधिकारीलाई हस्तान्तरण गर्दिन भने। त्यसपछि शिखर सम्मेलनमा नभएर दक्षिण अफ्रिकी विदेश मन्त्रालयमा भएको एक सामान्य कार्यक्रममा सोमबार अमेरिकालाई अध्यक्षता हस्तान्तरण गरियो।
त्यसपछि रिसाएका ट्रम्पले अर्को वर्ष अमेरिकामा हुने शिखर सम्मेलनमा भाग लिन नदिने बताएका हुन्। "त्यसैले, मेरो निर्देशनमा, दक्षिण अफ्रिकालाई अर्को वर्ष फ्लोरिडाको महान शहर मायामीमा आयोजना हुने २०२६ को जी२० को लागि निमन्त्रणा दिइने छैन," ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। "दक्षिण अफ्रिकाले विश्वसामु प्रमाणित गरेको छ कि यो कुनै पनि सदस्यताको लायक देश होइन," उनले थपे।
ट्रम्पले अमेरिकाले दक्षिण अफ्रिकालाई दिने सबै अनुदान र भुक्तानी पनि तत्काल लागू हुने गरी रोकेका छन्।
गत मे महिनामा ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसासँग ह्वाइट हाउसमा टेलिभिजन क्यामराकै अगाडि अशोभनीय व्यवहार गरेका थिए।
शताब्दीयौँ सम्म श्वेत (गोरो छाला भएका) हरूको दमन सहेर तीन दशकअघि मात्रै मुक्ति पाएको अश्वेत बहुल दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार (जेनोसाइड) भएको भन्दै ट्रम्पले रामापोसालाई झपारेका थिए।
त्यतिबेलादेखिकै खटपटका कारण ट्रम्पले दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलन बहिष्कार गरेका हुन्। त्यसपछि उनले आफ्नोमा हुने अर्को शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई निम्तो नदिने बताएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)