ऊर्जा मन्त्री कुलमान घिसिङले आइतबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको तस्बिर सार्वजनिक गरेपछि त्यसले राजनीतिक तरंग ल्याएको छ।
'उज्यालो नेपाल' पार्टी खोलेर राजनीतिमा हाम्फालेका ऊर्जा मन्त्री घिसिङले सामाजिक सञ्जाल फेसबुकमा आफू र बालेनको तस्बिर राख्दै 'देश बनाउने अभियानमा हामी सँगै छौं' लेखेका छन्।
दुई जनाको तस्बिर र साथमा एकताको सन्देशले बालेन र कुलमानको राजनीतिक सहकार्यबारे राजनीतिक अड्कलबाजी सुरू भएको छ।
बालेनले कुलमानको उज्यालो नेपाल पार्टीमै जोडिएर राजनीतिक यात्रा अघि बढाउन लागेको हुन सक्ने चर्चा पनि चलिरहेको छ।
कुलमानले बालेनसँगको संयुक्त तस्बिर र एकताको सन्देश सार्वजनिक गर्न रोजेको दिन पनि रोचक छ।
यो तस्बिर र सन्देश त्यस दिन सार्वजनिक गरिएको छ, जुन दिन दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको एकतासभा आयोजना गरिएको थियो।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा यी दुवै दलले बालेन र कुलमानसँग राजनीतिक सहकार्यको प्रयास गरेका थिए। त्यस निम्ति संयुक्त रूपमा र छुट्टाछुट्टै पनि विभिन्न चरणमा वार्ता अघि बढेको थियो।
विवेकशील साझाले बालेनसँग एकता गरी फागुन २१ को चुनावमा जाने तयारी गरेको थियो। त्यस निम्ति बालेन र उनको टिमसँग पटक-पटक छलफल हुँदा पनि कुनै निष्कर्षमा पुग्न नसकेको तत्कालीन विवेकशील साझाका एक नेताले जानकारी दिए।
रास्वपाले पनि आगामी चुनावका लागि बालेन र कुलमानसँग सहकार्य गर्न खोजेको थियो। यसका लागि दुवैसँग छलफलहरू भएको स्रोत बताउँछ।
यसबीच रास्वपाबाट बाहिरिएकी सुमना श्रेष्ठ पनि कुलमानको पार्टीमा जोडिनेबारे अनेक चरणमा कुराकानी भयो।
स्रोतका अनुसार जेनजी आन्दोलनपछिका दुई महिनामा समानान्तर रूपले भइरहेका यी कुराकानीबीच कुलमान र बालेनको संवाद पनि जारी थियो। त्यसै क्रममा शुक्रबार बालेनकै घरमा भएको छलफलपछि उक्त तस्बिर खिचेको कुलमान निकट स्रोत बताउँछ।
'उहाँहरूबीच मिलेर जाने सहमति भइसकेको छ। सहकार्यको मोडालिटीमा भने छलफल जारी छ,' स्रोतले भन्यो, 'त्यही एकताको सन्देश दिन यो फोटो सार्वजनिक गर्ने सहमति भएको थियो।'
उनका अनुसार बालेनकै सहमतिमा कुलमानले बाहिर सन्देश जाने गरी दुई जनाको फोटो सार्वजनिक गरेका हुन्। मिलेर जाने सहमति भए पनि बालेनलाई उज्यालो नेपाल पार्टीमा के जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन। त्यसबारे छलफल केन्द्रित रहेको स्रोत बताउँछ।
अहिलेसम्म कुलमान र बालेन दुवैले यो सहकार्यबारे आधिकारिक जानकारी दिइसकेका छैनन्।
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते हुँदैछ। त्यसमा कुलमान प्रमुख अतिथि छन्। त्यसैको पूर्वसन्ध्यामा कुलमान र बालेनको तस्बिर सार्वजनिक हुनुले पनि त्यसले राजनीतिक सन्देश दिन खोजेको बुझिन्छ।
उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुने बेलामै कुलमान र बालेन दुवैको नाम सार्वजनिक गर्नेबारे छलफल भएको थियो। कुलमानलाई नै अध्यक्ष राखेर पार्टी दर्ता गर्नेबारे पनि लामो समय छलफल चल्यो। तर मन्त्री रहुञ्जेल पार्टीको अध्यक्ष नहुने अन्तिम निष्कर्षमा कुलमान पुगे।
आखिरमा पार्टी दर्ता हुँदा बालेन र कुलमान दुवैको नाम राखिएन। कुलमान आफै अध्यक्ष रहेर उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गर्न उत्सुक थिए। तर बालेनले आफू औपचारिक रूपले जोडिने वा नजोडिनेबारे स्पष्ट जबाफ दिएका थिएनन्। उनको संलग्नता रहने कि नरहने भनेर लामो समय अलमल नै रह्यो।
पछिल्ला केही दिनमा भने उनीहरूबीचको छलफल सहमति उन्मुख रहेको स्रोत बताउँछ।
कुलमान मन्त्री पद छाडेर निर्वाचन अभियानमा सहभागी हुने तयारीमा छन्। त्यति बेला बालेन पनि चुनावी अभियानमा जोडिने सहमति छ। त्यसैलाई इंगित गर्दै कुलमानले यो तस्बिर सार्वजनिक गरेका हुन्।
***