प्रतिनिधि चयन उत्तरार्द्धमा पुगेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई आकांक्षी व्यवस्थापन गर्न चुनौतीपूर्ण भइरहेको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि ओलीलाई यसपटक आकांक्षी व्यवस्थापन गर्न केही सहज छ।
पोखरेललाई उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले समर्थन गरेका छन्। सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईको समर्थन पनि पोखरेललाई छ। यी नेताहरू इतर समूहतिर खुलेकाले पनि ओलीलाई आकांक्षी व्यवस्थापन गर्न सहज देखिएको हो।
एमालेको मौजुदा विधान पदाधिकारीको संख्या १५ छ। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, उपमहासचिव १, महासचिव १ र सचिव ७ रहने व्यवस्था छ। यसपटक वरिष्ठ उपाध्यक्ष हटाइएको छ। केन्द्रीय कमिटी बैठकले वरीयताक्रम निर्धारण गर्नेछ।
आकांक्षी व्यवस्थापन गर्न कठिन भएर पदाधिकारी संख्या बढाउन पनि नेताहरूले ओलीलाई सुझाव दिइरहेका छन्।
अध्यक्ष ओलीलाई महासचिव मिलाउन भने सकस पर्ने देखिएको छ। स्रोतका अनुसार अध्यक्ष ओलीसामु अहिलेसम्म तीन जनाले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन्।
स्रोतका अनुसार महासचिव शंकर पोखरेलले यही पदमा फेरि दोहोरिने इच्छा व्यक्त गरेका छन्।
'संस्थापन पक्षले उहाँ उपाध्यक्षमा बढुवा हुने रूपमा बुझिरहेको छ। तर उहाँले अध्यक्षसामु महासचिव नै बन्ने आकांक्षा व्यक्त गरिसक्नुभएको छ। अध्यक्षमा ओली नै दोहोरिने भएपछि अध्यक्षपछिको कार्यकारी पदमै बस्ने उहाँको चाहना देखिन्छ,' एक सचिवालय तहका नेताले भने, 'महासचिव बसेपछि पार्टीको कमान्ड आफ्नो हातमा हुने भएकाले उहाँको रूचि त्यता देखिएको हो।'
उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिव हुने चाहना व्यक्त गरेका छन्। यसबीच अध्यक्ष ओलीको विश्वासपात्र बनेर स्कुल विभागमार्फत् देश दौडाहा गरेका उनी महासचिव पाउनेमा आशावादी नै देखिन्छन्। तर ओलीले विश्वास गर्छन् कि गदैनन्, ओली समूहकै नेता यसै भन्न सक्दैनन्।
'उपमहासचिव ज्ञवालीले पनि महासचिवमा आकांक्षा राख्नुभएको छ। उहाँको स्वाभाविक दाबी पनि हो। तर अध्यक्षले अहिलेसम्म कसैलाई वचन दिइसक्नुभएको छैन,' ती नेताले भने।
महासचिवको आकांक्षा राख्ने तेस्रो व्यक्ति हुन्, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ।
ओलीसँग पछिल्लो मन्त्रिपरिषदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका गुरूङ प्रतिनिधि चयनअघि संस्थापनतिर खुलेर लागेको भन्दै सन्देश प्रवाह गरेका थिए। त्यसो गर्नुको कारण पनि पदको बार्गेनिङ हो भन्ने केही नेताको भनाइ छ।
'अहिलेसम्म ओलीसँग तीन जनाले महासचिवको आकांक्षा व्यक्त गरेका छन्। तर ओलीले उम्मेदवारी दर्ता गर्ने दिनसम्म कसैलाई पनि वचन दिने सम्भावना देखिँदैन,' ती नेताको दाबी छ।
प्रेस चौतारीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव गुरूङले आफूले महासचिव दाबी गरेको बताए।
'महासचिव नै दाबी गरिरहेको छु नि मैले। दाबी त गर्न पाइयो नि,' उनले भने।
स्रोत अनुसार गत मंसिर १२ गते गुरूङ र उपाध्यक्ष विष्णु पौडेलले सल्लाह गरेरै ओलीको पक्षमा खुलेको सन्देश प्रवाह गरेका थिए। त्यसअघि उनीहरूबीच पौडेलको भैंसेपाटीस्थित निवासमा छलफल भएको थियो।
उक्त भेटमा पौडेल र गुरूङबीच एकअर्कालाई स्वीकार गर्ने समझदारी समेत बनेको थियो।
'पृथ्वीसुब्बा गुरूङले ओलीसँग महासचिव प्रस्ताव गर्ने, ओली सहमत नभए विष्णु पौडेलले महासचिवमा दाबी गर्ने गरी समझदारी जुटेको छ। नत्र प्रतिनिधि चयनको मुखैमा ओलीतिर खुल्यौं भनेर सन्देश दिनुपर्ने आवश्यकता थिएन। यसको अर्थ ओलीलाई मनोवैज्ञानिक दबाब दिनु पनि हो,' ती नेताले भने।
एमालेमा गुरूङ र पौडेलको आ-आफ्नै प्रभाव छ। लुम्बिनीमा पौडेलको बलियो प्रभाव छ भने गण्डकीमा गुरूङको प्रभाव छ। यी नेता ओलीकै कित्तामा रहे पनि पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उनले समर्थन गरेको ईश्वर पोखरेल समूहसँग पनि संवादमा थिए।
ओलीले पार्टीभित्र सन्तुलन मिलाउने गरी आफूहरूलाई समेटेर लैजानुपर्ने उनीहरूले बताउँदै आएका छन्। त्यसमा ओली सकारात्मक रहेको उनीहरूको दाबी छ।
पोखरेल समूहमा पनि अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन्। उनीहरूले पौडेल र गुरूङलाई आफ्नो पक्षमा ल्याउने र उनीहरूले रोजेको पद दिने गरी छलफल अघि बढाएका थिए।
पौडेल र गुरूङ नआएको खण्डमा पोखरेल समूहमा अहिले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले महासचिवको आकांक्षा देखाइरहेका छन्।
इतर समूहका एक नेताले दिएको जानकारी अनुसार पोखरेल समूहमा पनि पाण्डेले महासचिवकै इच्छा व्यक्त गरेका छन्। उनले मुख भने खोलिसकेका छैनन्।
पाण्डे नै महासचिव उठेको खण्डमा विष्ट र भट्टराई दुवैले स्वीकानुपर्ने हुन्छ। सचिवमध्ये विष्ट वरीयताक्रममा माथि रहेकाले पोखरेललाई छान्न कठिन हुनसक्ने इतर समूहकै बुझाइ छ।
***