डेढ महिनाभन्दा लामो समयदेखि चलेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अन्ततः पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।
सोमबार सानेपामा भएको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको नियमित महाधिवेशनको कार्यतालिका पारित भएको छ।
कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेपछि महामन्त्री गगन थापाले त्यसमा अतिरिक्त प्रस्ताव पेस गरेका छन्।
खड्काले कार्यतालिका पेस गरेपछि थापाले अतिरिक्त धारणा राख्ने क्रममा महाधिवेशनको कार्यतालिका र समय अन्तरबारे प्रश्न गरेका थिए।
'कार्यवाहक सभापतिले नियमित महाधिवेशनको प्रस्ताव गरिसकेपछि महामन्त्री थापाले केही कुरा राख्न खोज्नुभयो,' बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, 'तर खड्काले तपाईंले बोलेपछि फेरि बहस दोहोरिन्छ भनेपछि महामन्त्रीज्यूले आफ्नो अतिरिक्त प्रस्ताव लिखित रूपमा राख्नुभयो।'
थापाको अतिरिक्त प्रस्ताव केन्द्रीय समितिमा दर्ज भएको छ।
अतिरिक्त प्रस्तावमा महामन्त्री थापाले भनेका छन्, 'यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न इमानदारीपूर्वक काम गर्नेछु। यही होस् भन्ने कामना गर्दछु।'
'कथमकदाचित पुसभित्र कार्यतालिका बमोजिम १५ औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पुस अन्तसम्म कुरिरहनुपर्दैन, पुसको उपयुक्त समयमै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्छ,' थापाले प्रस्तावमा भनेका छन्, 'किनकी उक्त अवस्थामा पार्टीको बृहत्तर हितका लागि आम निर्वाचनभन्दा अगाडि अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले योभन्दा अर्को विकल्प पार्टीलाई उपलब्ध हुने छैन।'
जेनजी आन्दोलनपछि कांग्रेसमा महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको बहस चुलिएको थियो। यो बहसको सुरूआत महामन्त्री थापाले ने गरेका थिए। उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले बलियो साथ दिएका छन्।
कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए।
त्यसैले हस्ताक्षर फिर्ता गराएर मात्र महाधिवेशनको कार्यतालिका ल्याउने अडानमा संस्थापन पक्ष थियो। तर महामन्त्रीद्वय थापा र शर्मा हस्ताक्षर फिर्ता नहुने अडानमा अडिग रहेपछि संस्थापन पक्ष कार्यतालिका ल्याउन बाध्य भएको थियो।