नेकपा एमालेको महाधिवेशन मिति जति–जति नजिकिँदै छ, पार्टीभित्र ध्रुवीकरण उत्तिकै बढ्ने क्रममा छ।
तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा लागेका केपी शर्मा ओली पक्ष र पहिलो पटक अध्यक्ष पदमा ओलीलाई चुनौती दिन अग्रसर बनेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समर्थकबीचको प्रचारयुद्ध पनि यति बेला उत्कर्षमा छ।
लामो समय ओलीकै निकट सहयोगी भनेर चिनिएका वरिष्ठ उपाध्यक्ष पोखरेलले मंसिर २७–२९ सम्म काठमाडौंमा हुने ११औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
अध्यक्षमा ओलीलाई चुनौती दिएका पोखरेल पक्षले प्रचार युद्धमा पनि ओली पक्षलाई काउन्टर दिएको छ।
ओली पक्षले उनको व्यक्तित्वको प्रशंसा गर्दै र देशको अस्तित्व जोगाउन ओलीकै नेतृत्व जरूरी रहेको नारा उल्लेख भएको प्रचार सामग्री धमाधम सार्वजनिक गरिरहेको छ। अर्कातिर, पोखरेल पक्षले देश र लोकतन्त्र रक्षाका लागि दृढ र सन्तुलित नेतृत्व चाहिने उल्लेख गरेर प्रचार सामग्री सार्वजनिक गरिरहेको छ।
ओली पक्षले उनको व्यक्तित्वलाई भव्य तुल्याउने प्रयास गरिरहँदा त्यसलाई काउन्टर दिने क्रममा पोखरेल पक्षले 'दृढ र सन्तुलित नेतृत्व' भन्ने वाक्य प्रयोग गरेको छ।
ओलीको प्रशंसा सहितका सामग्री महासचिव शंकर पोखरेल लगायतका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म तथा प्रदेश, जिल्लाका नेतादेखि भ्रातृ संस्थाका कार्यकर्तासम्मले प्रचार गरिरहेका छन्। ती सामग्रीमा देशको अस्तित्व जोगाउन केपी ओलीकै नेतृत्व चाहिने उल्लेख छ। त्यही आसयका नारा अंकित पोस्टरहरू सेयर गर्दै बहुसंख्यक नेता-कार्यकर्ताले सामाजिक सञ्जालको भित्ता रंग्याएका छन्।
उक्त पोस्टरमा नेताहरूले ओलीसँगै आफ्नो पनि तस्बिर राखेका छन्, जसमा उल्लिखित नारा छ — जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व।
अहिले 'नेपालको अस्तित्व नै खतरामा रहेको' दाबी गर्दै उनीहरूले फेरि पनि ओलीको नेतृत्व चाहिने बताइरहेका छन्।
ओली समूहले आक्रामक रूपमा प्रचार गरिरहेको अर्को पनि नारा छ, जसमा 'मान्छेले होइन, माटोले ओली खोजिरहेको' उल्लेख छ।
'मेरो होइन, माटोको बोली, फेरि एकपटक केपी ओली' नारा लेखिएका प्रचार सामग्री पनि ओली पक्षले छ्याप्पछ्याप्ती पारिरहेको छ।
अहिलेसम्म दुई पटक एमाले अध्यक्ष भएर मुलुकको नेतृत्व गरिसकेका ओली अध्यक्षमा ह्याट्रिक गर्ने दाउमा छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा पदच्यूत बनेका ओलीले भदौमा पार्टीको विधान महाधिवेशन आयोजना गरेर उमेर हद र दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने पार्टी विधान फेरेका थिए।
उनलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने भन्दै समर्थकहरूले उनको अपरिहार्यताबारे निरन्तर लेख्ने र बोल्ने गरिरहेका छन्। उनी आफै पनि प्रतिस्पर्धामा आउनेहरूलाई भीम रावलको त्रास देखाउँदै रोक्न खोजिरहेको इतर पक्षको आरोप छ।
ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउन संस्थापन पक्षले प्रचार युद्ध तीव्र तुल्याएपछि ईश्वर पोखरेलले नेतृत्व गरेको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समर्थन गरेको संस्थापन इतर पक्षले पनि काउन्टर दिन सुरू गरेको छ।
इतर पक्षको नारामा भने व्यक्तिको नाम उल्लेख छैन। लोकतन्त्र र देशको अस्तित्व रक्षा गर्न एमालेमा दृढ र सन्तुलित नेतृत्व चाहिने यो पक्षको नारा छ।
'जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेमा दृढ र सन्तुलित नेतृत्व' भन्ने नारासहित इतर पक्षले महाधिवेशनमा आफ्नो प्रचार गरिरहेको छ।
अध्यक्षका आकांक्षी ईश्वर पोखरेलदेखि उनको पक्षमा खुलेका नेताहरूले यही नारा र आफ्नो तस्बिर राखेर महाधिवेशनको प्रचार गरिरहेका छन्।
***