नेकपा एमालेमा भर्खरै सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यरूको कार्य विभाजन यही पुस २६ देखि २८ गतेसम्म बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले गर्ने भएको छ।
स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको चयन मात्र होइन, केन्द्रीय सदस्यहरूको कार्य विभाजन पनि त्यही बैठकले गर्ने तयारी भइरहेको छ। सम्भवतः अब बस्ने पहिलो सचिवालय बैठकले यसको प्रारूप तयार पार्ने छ।
एमालेका एक नेताले दिएको जानकारी अनुसार अब बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले उपाध्यक्ष, उपमहाचिव र सचिवहरूको ओहोदाक्रम पनि निर्धारण गर्ने छ।
गत पुस ३ गते सकिएको ११औं महाधिवेशनले १९ पदाधिकारी निर्वाचित गरेको छ। दोस्रो विधान महाधिवेशनले पारित गरेको विधानअनुसार उपाध्यक्षहरूको पदीय मर्यादाक्रम केन्द्रीय सदस्यले निर्धारण गर्ने छ।
यसअघि चितवन महाधिवेशनमा बन्द सत्रको हलले नै वरिष्ठ उपाध्यक्ष निर्वाचित गरेको थियो। ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए।
त्यसअघि आठौं र नवौंमा वरिष्ठ उपाध्यक्षको प्रबन्ध थिएन। उपाध्यक्षहरूको मर्यादाक्रम पछि केन्द्रीय कमिटीले तय गरेअनुरूप भएको थियो।
यसपटक गोदावरीमा भएको दोस्रो विधान महाधिवेशनले वरिष्ठ हटाएर पहिलो वरीयताको उपाध्यक्ष राख्ने प्रस्ताव पारित गरेको थियो। त्यही बेला वरिष्ठसहित उपाध्यक्षहरूको संख्या सातबाट घटाएर तीनमा सीमित गरिएको थियो। एघारौं महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले त्यसलाई फेरि बढाएर पाँच पुर्यायो।
वरिष्ठ उपाध्यक्ष पद भने रणनीतिक हिसाबले फेरि ब्युँताइएन। भदौ २० देखि २२ गतेसम्म चलेको दोस्रो विधान महाधिवेशनबाट ईश्वर पोखरेललाई नै रोक्न वरिष्ठ उपाध्यक्ष हटाइएको चर्चा एमाले वृत्तमा चलेको थियो।
एघारौं महाधिवेशनबाट त्यो पद नब्युँताउनुको कारण उपाध्यक्षमा निर्वाचित विष्णु पौडेललाई रोक्न हो भन्ने एमालेमा अहिले पनि चर्चा भइरहेको छ।
एमालेले वरीयताक्रम निर्धारण गर्दा पार्टी सदस्यता प्राप्त गरेको मिति र यसअघिको पदक्रमलाई ध्यानमा राख्छ। त्यस अनुसार पनि उपाध्यक्षहरूको वरीयतामा स्वतः रामबहादुर थापा 'बादल' पर्छन्।
२०७७ फागुन २३ गते नेकपा विघटन हुँदा एमाले र तत्कालीन माओवादी केन्द्र अलग अलग अस्तित्वमा फर्किएका थिए। त्यति बेला एमालेले आफूलाई नेकपाकै निरन्तरताका रूपमा व्याख्या गरेको थियो। किनभने, तत्कालीन माओवादीका प्रभावशाली नेता बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, दावा तामाङहरू एमालेमै रहेका थिए। माओवादी पृष्ठभूमिका १० हाराहारी नेता केन्द्रीय कमिटीमै थिए।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिसिएर नेकपा बन्दा ९ सदस्यीय सचिवालय थियो। त्यसमा अध्यक्ष केपी शर्मा ओली पहिलो वरीयतामा थिए। त्यसपछि पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेलको क्रमशः वरीयताक्रम निर्धारण गरिएको थियो।
सौराहामा भएको दसौं महाधिवेशनमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भए। उपाध्यक्षहरूको पहिलो वरीयतामा युवराज ज्ञवाली, दोस्रोमा अष्टलक्ष्मी शाक्य, तेस्रोमा रामबहादुर थापा बादल थिए। त्यसपछि विष्णु पौडेलको वरीयताक्रम थियो।
ज्ञवाली र शाक्यले पार्टीबाट स्वेच्छिक अवकाश लिइसकेका छन्। जितेकामध्ये बादल नै पहिलो वरीयताका हुन्। त्यसपछि विष्णु पौडेल आउँछन्। पौडेलपछि पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्तको वरीयताक्रम रहने छ।
‘उपाध्यक्षहरूको वरीयताक्रम अर्को केन्द्रीय कमिटीले तोक्नेछ। तर सामान्य बुझाइ के हो भने रामबहादुर थापा बादल नै पहिलो वरीयताका उपाध्यक्ष हुन्, यसमा कुनै विमति छैन,’ एमाले एक नेताले सेतोपाटीसँग भने।
उनकै कुरालाई आधार मान्ने हो भने तत्कालीन नेकपा माओवादीमा छँदा सैन्य कमान्डर रहेका बादल अब एमालेका पहिलो वरीयताका उपाध्यक्ष बन्ने छन्।