उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीका लागि गायिका डा.त्रिशला गुरूङ उम्मेदवार सिफारिस गरेको छ।
सोमबार अपराह्न ४ बजेसम्म समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। त्यसका लागि उज्यालो नेपाल पार्टीले गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो।
पार्टीका अनुसार उनलाई स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा सिफारिस गरेको हो।
‘स्वास्थ्य प्रणालीमा देखिएको असमान पहुँच, बढ्दो उपचार खर्च, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव र स्वास्थ्य बजेटको प्रभावहीन कार्यान्वयन प्रमुख चुनौतीका रूपमा रहेका छन्। डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी समस्यामाथि व्यवहारिक र प्रमाणमा आधारित बहस अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ,’ पार्टीले सामाजिक सञ्जालमा लेखेको छ।
उज्यालो नेपाल पार्टीले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका प्रमुख नकिम उद्दिनलाई पनि समानुपातिक सूचीमा सिफारिस गरेको छ।