नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा आफ्ना प्रमुख स्वकीय सचिव तथा विश्वासपात्र राजेश बज्राचार्यलाई समेत बाहिर राखेर प्रधानमन्त्री सुशीला कार्कीसँग तीन घन्टा एक्लाएक्लै भेटवार्ता गरे।
प्रधानमन्त्री निवासमा कार्की र ओलीबीच तीन घन्टा के कुराकानी भयो भनेर हामीले दुवैतर्फ चासो राख्यौं।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले बिहान १०ः३० बजे बालुवाटार आउने निम्तो पाएका थिए। तर कार्यालय समय भएकाले जाममा अलमलिए।
नेसनल भोलेन्टियर फोर्सका दुइवटा स्कर्टिङ गाडी, प्रहरीको नियमित स्कर्टिङ भ्यान र अन्तिममा सशस्त्रको स्कर्टिङ प्रबन्धसहित उनी आधा घन्टा ढिला गरी प्रधानमन्त्री निवास छिरेका थिए।
उनको साथमा नेसनल भोलेन्टियर फोर्सका १० जनाभन्दा बढीको सुरक्षा दस्ता र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसमेत थिए।
कुराकानी सहज होस् भनेर बज्राचार्य बाहिर लबीमै बसे। प्रधानमन्त्री तर्फबाट प्रेस संयोजक राम रावल उक्त संवादमा थिए। उनी पनि एक घन्टाभन्दा बढी साक्षी बसेनन्। कुराकानीको सहजताका लागि उनी पनि बाहिर निस्किए।
स्रोतका अनुसार कुराकानीको आरम्भमै प्रधानमन्त्री कार्कीले ओलीलाई 'अहिले बसाइ कस्तो छ?' भन्दै सोधेकी थिइन्।
ओलीले केही बेर गम खाएर एउटा कैदीको कथामार्फत् त्यसको जबाफ दिएका थिए।
ओलीले फुँदा गाँस्दै सुनाएको कथा अनुसार एक जना कैदीबन्दी १८ वर्षपछि रिहा भएछ।
कर्तव्य ज्यानसम्बन्धी कसुरमा सुरू र पुनरावेदन अदालतबाट दोषी ठहर भएका कैदी उपल्लो अदालतबाट जब रिहा भए, उनलाई जेलरले नम्र स्वरमा भने, 'अब तपाईं जान सक्नुहुन्छ।'
कैदी धेरै बेर अनकनाइरहे।
अन्तिममा बोले, 'जान त जाने? तर कहाँ जाने, कसरी जाने?'
जेलरले सपाट उत्तर दिए, 'यहाँबाट हिँडेरै बसपार्क पुग्न सकिन्छ। बसपार्क पुगेपछि आफू पुग्ने ठाउँसम्मको बस पाइहालिन्छ। केको सुर्ता?'
'बस त चढ्ने तर झर्ने कहाँ?' भन्ने जिज्ञासा राख्दै भर्खरै रिहा भएको बन्दीले आफ्नो व्यथा सुनाए, 'म जेल पर्दा श्रीमती भर्भराउँदी थिइन्। उनले छाडेर गएको उहिल्यै हो। हरण भइसकेकाले अब जायजेथा र घर पनि रहेन। त्यस कारण म झर्नु पो कहाँ?'
उनको जबाफ सुनेर जेलर अवाक् भए।
झापा विद्रोहपछि कर्तव्य ज्यान र राजकाज मुद्दा लगाएर १४ वर्ष जेल परेर रिहा भएपछि आफ्नो त्यस्तै अवस्था रहेको ओलीको भनाइ थियो।
ओलीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेल पर्दाको क्षण, त्यहाँको बसाइ र त्यसपछिका अवस्था विस्तारमा बताएका थिए।
जेलबाट रिहा भएपछि साथीभाइले खोजिदिएको डेरामा लामो समय बिताएको र त्यसपछि आफ्नो जीवनमा राधिका शाक्य गाँसिन आएको उनले सम्झे।
'जब मेरो जीवनमा राधिका आइन्, मैले आफ्नो जीवन उनको जिम्मा लगाएँ,' उनले भने, 'त्यति बेला एउटा कोठा पनि हाम्रो लागि विशाल र पुग्दो थियो।'
भदौ २४ गते सरकारबाट बाहिरिएपछि केही समय नेपाली सेनाको शरण परेका ओली गत असोज २ गते त्यहाँबाट बाहिरिएर भक्तपुर सूर्यविनायकस्थित गुण्डु पुगेका थिए। त्यहाँ महेश बस्नेत, किरण थापाहरूले अस्थायी निवास प्रबन्ध गरेका छन्। अध्यक्ष ओली अहिले त्यहीँ बस्दै आएका छन्। बस्नेतहरूले गुण्डुमै ओलीका निम्ति स्थायी घरसमेत बनाइरहेका छन्।
अहिले आफू बस्दै आएको गुण्डुको निवास पनि साँघुरो भएको ओलीले बताए।
संवादकै क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे सोधेका थिए।
सुवेदी अहिले अस्वस्थ छन्। उपचार गरेपछि केही दिन निको हुने र केही समयपछि अर्को व्यथा देखिने समस्याबाट आक्रान्त छन्। निजी चिकित्सकले भारत जान सुझाएका थिए। तत्पश्चात् उनलाई भारत लगेर उपचार भइरहेको छ।
संवादकै क्रममा प्रधानमन्त्री कार्कीले ओलीलाई पार्टीको 'स्वास्थ्य' बारे चासो राखेकी थिइन्।
अरू पार्टीको तुलनामा एमाले चुस्त, व्यवस्थित रहेको आफूले पाएको भन्दै 'कसरी यस्तो व्यवस्थित बनाउन सक्नुभयो?' भन्दै प्रशंसा समेत गरेकी थिइन्।
पुलकित सुनिएका ओलीले 'पार्टीमा कुनै समस्या नरहेको, निर्णय गर्न कठिन नरहेको' बताएका थिए।
उनले जनपरिचालनमा एमाले अब्बल रहेको बताउँदै त्यसलाई आफूले अझ सुदृढ तुल्याएकाले समयमै महाधिवेशन गरेर नेतृत्व अद्यावधिक गर्न सकेको आसय राखेका थिए।
त्यही क्रममा प्रधानमन्त्रीले 'टिकट बाँड्न पनि समस्या नहोला है?' भन्दै चासो राखेकी थिइन्।
जबाफमा ओलीले भने, 'म त जसले चुनाव जित्नसक्छ, उसैलाई टिकट दिन्छु, टिकट बाँड्न कुनै समस्या हुँदैन।'
ओलीले त्यसो भनिरहँदा प्रधानमन्त्री कार्कीले यसअघिको संवाद पनि सम्झिएकी थिइन्।
त्यति बेला समानुपातिक सूची बुझाउने समय नजिकिएको थियो। संवादमै रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले केही दिन थप्नुपर्ने हो कि भनिरहँदा ओलीले 'म त एकछिनमा टुंग्याइहाल्छु नि' भनेका थिए।
कुराकानी दौरान ओलीले कार्की प्रधानन्यायाधीश छँदाका केही घटना पनि सम्झिएका थिए।
खासगरी ओलीले कार्कीमाथि कांग्रेस, तत्कालीन माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेको प्रसंग निकालेका थिए।
'यहाँले न्याय प्रणाली जोगाउन खेलेको भूमिका, प्रधानन्यायाधीशमाथि महाअभियोगको हतियार प्रयोग गरिएको प्रसंग राख्दै त्यसमा एमालेले कसरी आफ्नो धारणा स्पष्ट गर्यो र त्यो हतियार प्रयोग हुन दिएन भन्ने ओलीले कुरा राख्नुभयो,' स्रोतले सेतोपाटीसँग भन्यो।
अोलीले कार्कीविरूद्ध ल्याइएको महाभियोगको चर्चा मात्र गरेनन्, अर्का तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध ल्याइएको त्यस्तै प्रस्तावबारे पनि विषय उप्काएका थिए।
एमाले यस खालका घटनाक्रममा स्पष्ट दृष्टिकोण राख्ने र न्याय पद्धति खल्बलिन नदिने पक्षमा उभिँदै आएको प्रसंग ल्याएर ओलीले प्रधानमन्त्रीको मन जित्ने प्रयास गरेका थिए।
लामो अन्तरंग संवादपछि अध्यक्ष अोली दिउँसो २ बजेतिर प्रधानमन्त्री निवासबाट बाहिरिएका थिए।
बुधबारको भेटलाई प्रधानमन्त्री निकटहरूले दुई कोणबाट बुझेका छन्।
पहिलो, देश निर्वाचनमा गइसकेको छ। सबभन्दा पहिला एमाले नै तयार भएको हो। यद्यपि उसले बाह्य मुखले प्रतिनिधिसभा पुनर्स्थापनाको नारा अघि सारेको थियो। त्यसमा पार्टीभित्र मतैक्य थिएन। केन्द्रीय कमिटी नै विभाजित भएको थियो। पार्टीका तत्कालीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले 'नोट अफ डिसेन्ट' लेखेका थिए।
अर्को, आफैले प्रधानमन्त्री सिफारिस गरेका कार्कीलाई ओलीले 'असंवैधानिक' भन्दै आएका थिए। त्यहाँ पनि ओलीको बोलीमा संगति मिलेको थिएन।
प्रतिनिधिसभा पुनर्स्थापना हुने छाँट नदेखेका ओली भित्रभित्रै चुनावी वातावरण बनाउन र पार्टी पंक्तिलाई तयार राख्न तल्लीन थिए।
कात्तिक २२ देखि नै वडा तहसम्मको भेलासँगै जनपरिचालनमार्फत् कार्यकर्ता पंक्तिलाई सडकमा उतारिसकेको एमालेले तोकिएको मितिमै चुनाव गराउने सरकारको प्रतिबद्धता बुझ्न पनि लामो समय प्रधानमन्त्री निवासमा बिताएको हुनसक्ने कार्की निकटहरूले बताएका छन्।
अर्कातिर, नेपाली कांग्रेस कलहमा फसेको छ। विशेष महाधिवेशन पक्षधरहरूले भेला आह्वान गरिसकेका छन्। विशेष महाधिवेशन गर्दा 'पार्टी फुट्दैन, फुटाउने होइन' भन्दाभन्दै कांग्रेसले विभाजनको बाटो समात्ने हो कि भन्ने चिन्ता पनि छँदै छ।
कांग्रेस गहिरो अन्तरकलहमा फसेपछि त्यसले चुनाव नै प्रभावित पार्ने हो कि? कतै सर्ने त होइन? भन्ने आशंकाबीच सरकारको नाडी छाम्न पनि ओलीले प्रधानमन्त्रीसँग लामो संवाद गरेको हुनसक्ने उनी निकटहरूको बुझाइ छ।
जे होस्, यो संवादले उनीहरूबीचको तिक्तता र असमझदारी दूर गर्ने प्रयास गरेको एमाले नेताहरू र स्वयं प्रधानमन्त्री निकटहरूले बताएका छन्।
***