राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबीच एकताको सहमति भए पनि विभिन्न कारणले कार्यान्वयन हुन सकेको छैन।
रास्वपा सभापति रवि लामिछाने र निवर्तमान मन्त्री कुलमान घिसिङबीच निरन्तर कुराकानी भए पनि विभिन्न विषयमा कुरा नमिल्दा एकता नै टुट्ने हो कि भन्ने अवस्थामा पुगेको नेताहरू बताउँछन्।
उज्यालो नेपालका एक नेताका अनुसार सभापति रवि र कुलमान घिसिङबीच निरन्तर संवाद भए पनि कुराकानी सकारात्मक देखिएको छैन।
‘आज पनि रवि र कुलमानजी कुराकानी गर्ने कुरा छ, नाम, पदाधिकारीदेखि केन्द्रीय सदस्य र समानुपातिक उम्मेदवार सूचीलगायत विषयमा गम्भीर असहमति छन्,’ ती नेताले भने।
उज्यालो नेपालले आफूहरूको अस्तित्व नै सकिने गरी एकता गर्न मानिरहेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी नाम परिवर्तन गर्नुपर्ने पक्षमा उज्यालो नेपालका कतिपय सदस्यहरू छन्।
‘राष्ट्रिय उज्यालो पार्टी वा उज्यालो स्वतन्त्र पार्टी नाम राख्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ ती नेताले भने, ‘उहाँहरू ठोस कुरा गर्नुहुन्न। नाम र चुनाव चिह्न हेरफेरका पक्षमा पनि देखिनुभएको छैन। हामी अस्तित्व नामेट गरी कसरी जाने भन्ने छ।’
साथै वरिष्ठ उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूमा पनि कुरा मिलिनसकेको ती नेताको भनाइ छ।
‘हाम्रो शक्तिलाई उहाँहरूले स्वीकार गर्नुभएको छैन। हामी १०० निर्वाचन क्षेत्रमा पुगिसकेका छौं, ५६ जिल्लामा प्रतिनिधित्व छ, संगठन बनिसकेको अवस्था छ,’ ती नेता भन्छन्, ‘समानुपातिकमा १८ जना समावेश गर्ने र तीमध्ये ६ जनाको नाम कलस्टरको सुरूतिर सांसद बन्ने गरी नै राख्ने भनेको हो, उहाँहरूले १४ जनाको नाम राखेर त्यो पनि अन्तिमतिर नाम राख्नुभएको देखिन्छ।’
उज्यालो नेपालमा ९४ जना केन्द्रीय सदस्य छन्। कुलमान घिसिङ पार्टीमा अहिलेसम्म कुनै पदमा छैनन्। उज्यालो नेपालका अधिकांश नेता रास्वपासँग पूर्ववत सहमति कार्यान्वन गरी एकतामै रहनुपर्नेमा छन् भने कतिपयले उज्यालो नेपाल पार्टी नामअनुसार पनि ब्राण्डिङ भइसकेकोले एक्लै अघि बढ्नुपर्नेमा छन्।
रास्वपाले पनि भर्चुअल रूपमा आज सचिवालय बैठक राखेको छ। यस विषयमा उक्त बैठकमा कुराकानी हुने रास्वपा नेताहरू बताउँछन्। पुस १४ गते कुलमान घिसिङ रास्वपा उपसभापति बन्ने गरी सहमति भएको थियो। पार्टीमा लागेको भन्दै आलोचना भएपछि उनले सरकारसमेत छाडेका थिए।
रास्वपा नेता गणेश पराजुलीका अनुसार 'अधिकतम लचकताका बावजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको' छ।