नेकपा एमालेले सप्तरी–२ बाट उम्मेदवार बनाएका जनमत पार्टीका पूर्वमुख्यमन्त्री सतिश सिंहले स्वाभिमान पार्टीबाट चुनाव लड्ने बताएका छन्। शनिबार मध्यरातसम्म बसेको सचिवालय बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
एमालेले पार्टी प्रवेश नै नगराइ उनलाई उम्मेदवार बनाएको थियो।
एमाले नेता लीलनाथ श्रेष्ठले सिंहसँग वार्ता भएर उम्मेदवार बनाएको बताए।
‘उहाँ प्रवेश त गरेको छैन। तर उहाँसँग सल्लाह भएर नै उम्मेदवार बनाएका हौं,’ उनले भने। उनी पार्टी प्रवेश गरेका हुन् त भन्ने सेतोपाटीको जिज्ञासामा श्रेष्ठले उम्मेदवार बनाउने, प्रवेश गराउने नीति रहेको उनले बताए।
‘उम्मेदवार पनि बनाउँदै गर्ने, प्रवेश गराउने गरिरहेका छौं,’ उनले भने।
तर सिंहले भने माघ ६ गते मनोनयन दर्ता स्वाभिमान पार्टीबाट हुने बताएका छन्।
‘प्रतिनिधि सभा चुनावको लागि माघ ६ गते मनोनयन दर्ता स्वाभिमान पार्टीबाट हुनेछ,’ उनले भनेका छन्। उनी २०८१ जेठ २५ गतेदेखि २०८२ असोज २८ गतेसम्म राजीनामा दिएका थिए। भदौ २३को आन्दोलनपछि मुख्यमन्त्रीबाट राजीनामा दिने बताएका सिंहले पछि पद छाड्न आनाकानी गरेका थिए। दलले फिर्ता बोलाउँदा पनि पद त्याग्न अस्वीकार गरेपछि सदनमा जनमतका सांसद विभाजित भएका थिए। विश्वासको मत लिने अड्डी कसेमा उनले अन्ततः पदबाट राजीनामा दिएका थिए।
एमालेको उम्मेदवारको सूचीमा नाम देखेपछि हामीले उनलाई सोधेका थियौं।
उनले एमालेले समर्थन गर्ने बताएको जानकारी दिए।
‘म एमाले प्रवेश गरेका छैन। उहाँहरूले हामीलाई समर्थन गर्ने भन्नुभएको हो,’ उनले भने।
जनमत पार्टीका नेता चन्दन सिंहले पनि पूर्वमुख्यमन्त्री सिंह जनमतमा नरहेको बताए।
‘उहाँको भाइले स्वाभिमान पार्टी गठन गर्नुभएको छ, त्यसैबाट लड्ने बताउनुभएको छ,’ उनले भने। २०७९ सालको प्रदेश सभा निर्वाचनमा सिंह सप्तरी–२ (२) बाट निर्वाचित भएका थिए।