नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङ–२ को टिकट होल्ड गरेका छन्।
शनिबार बसेको पार्टी सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले आफ्नो नाम दाङ–२ मा प्रस्तुत गरेका थिए। तर अध्यक्ष ओलीले अहिले खाली राख्नुस् भनेर होल्ड गरेको एक सचिवालय सदस्यले जानकारी दिए।
'महासचिव शंकर पोखरेलले दाङ–२ मा नाम प्रस्तुत गर्नुभएको थियो। तर अध्यक्षले अहिले खाली राख्नुस् भन्नुभयो। महासचिवले दाङ–१ मा पनि उम्मेदवार प्रस्ताव गर्नुभएको थियो,' ती नेताले भने, 'तर अध्यक्षले अहिले होल्ड गर्नुस् भन्नुभयो।'
महासचिवले दाङ–१ मा जगत पोखरेलको नाम प्रस्ताव गरेका थिए। सचिवालय बैठकले दाङ–३ को मात्रै उम्मेदवारी टुंग्याएको थियो।
घनश्याम पाण्डे त्यहाँबाट उम्मेदवार बनेका छन्।
एमालेका एक नेताले बताए अनुसार महासचिव शंकर पोखरेललाई सुरक्षित तुल्याउन उक्त क्षेत्र होल्ड गरिएको हो। २०७४ को निर्वाचनमा पोखरेल दाङबाट प्रदेशसभामा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा पोखरेल तत्कालीन माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका थिए।
'अहिले उहाँलाई सुरक्षित तुल्याउन अध्यक्षले उपाय खोजिरहेको हुनुपर्छ,' ती नेताले भने, 'उहाँले आफू निकट सबैलाई सुरक्षित ठाउँमा पठाउनुभएको छ।'
ती नेताका अनुसार सचिव राजन भट्टराई काठमाडौं–४ मा उम्मेदवार बन्न चाहेका छैनन्। उनले काठमाडौं–५ मा उम्मेदवार बन्न खोजेका छन्। सचिवालय बैठकले दुवै क्षेत्र होल्ड गरेको छ। भट्टराई काठमाडौं–४ बाट सिफारिस भएका छन्।
भट्टराईको चर्चा यसअघि नै काठमाडौं–५ मा भएको थियो। त्यहाँको निर्वाचन क्षेत्रीय कमिटी बैठकमा उनको नाम प्रस्ताव गरिए पनि सिफारिसमा भने परेको थिएन।
उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ छाडेर पाल्पा–२ मा पुगेका छन्। त्यहाँ यसअघि ठाकुर गैरेले चुनाव जितेका थिए।
महासचिव पोखरेललाई सुरक्षित गर्न नेपाली कम्युनिस्ट पार्टीसँग अघोषित साथ खोजेको आभास पनि सचिवालय सदस्यलाई भएको एक नेताले बताए। रूकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' उम्मेदवार बन्ने तयारी गरेका छन्। एमालेले त्यहाँ खाली राखेको छ।
ओली निकट सचिव भानुभक्त ढकाल पनि सुरक्षित स्थान खोज्दै जन्मथलो तेह्रथुम पुगेका छन्। उनी मोरङ–३ बाट निर्वाचन लड्दै आएका थिए। २०७४ को निर्वाचनमा उनी त्यहाँबाट निर्वाचित भएका थिए। २०७९ सालमा भने पराजित भएका थिए। यसपटक मोरङ–३ बाट नजित्ने आकलनसहित उनले क्षेत्र परिवर्तन गरेका हुन्।
एमालेले बिनामापदण्ड उम्मेदवार छनोट गरेको भन्दै सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका थिए। उनले बैठकमा नोट अफ डिसेन्ट राख्ने बताएको एक पदाधिकारीले जानकारी दिए। उनले आज लिखित असहमति दर्ज गर्ने तयारी गरेका छन्।
भट्टराईले यसअघि निर्वाचन जितेका अनुहारलाई प्राथमिकता दिनुपर्ने, तलका जनप्रतिनिधिहरूलाई कार्यकाल छँदै माथि उम्मेदवार बनाउने कुरा रोक्नुपर्ने बताएका थिए।
एमालेले मधेस, बागमती लगायत प्रदेश सभामा निर्वाचित सांसदहरूलाई राजीनामा दिन लगाएर उम्मेदवार बनाउने भएको छ। मधेस प्रदेश सभामा चार जना र बागमतीमा दुई जना हाराहारी प्रदेश सभा सदस्य राजीनामा दिएर संघीय सांसद लड्ने तयारी गरेका छन्।
'तल जितेका जनप्रतिनिधिलाई राजीनामा दिएर उम्मेदवार बनाइनु गलत अभ्यास हो। एक त उहाँहरूको कार्यकाल, जिम्मेवारी, पार्टीको प्रतिबद्धता बाँकी नै छ, अर्को त्यहाँ उपचुनाव गर्नुपर्ने हुन्छ,' भट्टराईको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने।
अर्को भट्टराईले प्रतिनिधि सभाको उम्मेदवार छान्दा पार्टी एकतालाई ध्यानमा राख्नुपर्ने बताएका थिए। महाधिवेशनमा प्रतिस्पर्धा गरेको, फरक गुटमा लागेको आँखाबाट हेर्दा एकताको भावना ओझेल पर्ने उनले बताएका थिए।