उम्मेदवार छनोटमा एकलौटी गरेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सचिवालय निर्णयविरूद्ध नोट अफ डिसेन्ट (असहमति) दर्ता गराएका छन्।
शनिबार बसेको सचिवालय बैठकले १४० भन्दा बढी निर्वाचन क्षेत्रको उम्मेदवारी टुंग्याएको थियो।
अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै उपमहासचिव भट्टराईले त्यसविरूद्ध लिखित असहमति दर्ज गराएका हुन्, जसमा चार बुँदा समेटिएका छन्।
भट्टराईको निर्वाचन क्षेत्र सचिवालय बैठकले होल्ड गरेको थियो। उनी उठ्दै र जित्दै आएको ताप्लेजुङमा एमालेले क्षितिज थेवेलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
शनिबार बसेको सचिवालय बैठकले यसअघि चुनाव जितेका तारा लामा तामाङ, ठाकुर गैरे, गोकुल बास्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा लगायतलाई पुनः उम्मेदवार बनाएको थिएन। यसमध्ये केही नाम आज सच्चिएका छन्। तामाङ, साँवालाई एमालेले टिकट दिने निर्णय भएको नेताहरूले बताएका छन्।
‘मापदण्ड बनाएर उम्मेदवार छानौं’
मुलुकको विशिष्ट राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको भन्दै भट्टराईले उक्त निर्वाचनमा उम्मेदवार छनौट गर्दा स्पष्ट मापदण्ड बनाउन भनेका छन्।
मापदण्ड नबनाइ उम्मेदवार छनौट गर्दा योग्यता, क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा तथा निरन्तरताभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरतालाई आधार मानिएको देखिएको भन्दै त्यसप्रति असहमति राखेका हुन्।
कुनै ठाउँमा त्यही विशेषताका व्यक्तिलाई उम्मेदवार बनाइएको र अर्को ठाउँमा त्यस्तै विशेषताका व्यक्तिलाई छनौटबाट बञ्चित गरिएको भन्दै उनले असहमति राखेका हुन्।
जसले गर्दा पार्टी निर्णयप्रति देशव्यापी रूपमा एक श्वरले समर्थन प्राप्त गरेको नदेखिएको उनले बताएका छन्।
‘प्रतिस्पर्धाको आँखाबाट नहेरौं’
एमाले उपमहासचिव योगेश भट्टराईले उम्मेदवार चयनलाई महाधिवेशनमा गरिएको प्रतिस्पर्धाको आँखाबाट हेरिएको बताएका छन्।
‘हामीले हालै पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गरेका छौं। त्यस अवसरमा नीति र नेतृत्वका सन्दर्भमा प्रतिस्पर्धा भएको विदितै छ,’ भट्टराईले बुझाएको असहमतिमा उल्लेखित भाषा उद्धृत गर्दै एक नेताले भने, ‘प्रतिनिधिसभाको उम्मेदवार छनोटका बेला महाधिवेशनमा गरिएको प्रतिस्पर्धाका बेलाको पक्षधरता प्रष्ट रूपमा देखिन्छ।’
यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने भट्टराईको विश्लेषण छ। पार्टी भनेको विविधता बीचको एकता हो भन्ने कुरा उम्मेदवार छनोटका क्रममा पूरै नजरअन्दाज गरिएको उनले बताएका छन्। यो आजको निर्णयको गम्भीर भुल भएको उनले बताएका छन्।
‘पुरानो क्षेत्र छोडेर सुरक्षित क्षेत्र खोज्न निस्कँदा सन्देश राम्रो गएन’
उपमहासचिव भट्टराईले प्रभावशाली नेताहरू चुनौतीपूर्ण क्षेत्रमा उम्मेदवार भएर परिणाम निकाल्दा आम कार्यकर्तामा उत्साह आउने सन्दर्भ उल्लेख गरेका छन्। २०४८ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट मदन भण्डारी उम्मेदवार बन्दा र विजयी हुँदा देशभर सन्देश गएको उनले बताएका छन्।
तर अहिले नेताहरू पुरानो क्षेत्र छोडेर सुरक्षितक्षेत्र तिर गएको उनले टिप्पणी गरेका छन्।
यसले एकातिर सकारात्मक सन्देश प्रवाह नभएको र अर्कातिर पदीय हैसियत कम भएका स्वाभिमानी कार्यकर्तामाथि देखादेख अन्याय भएको उनको ठहर छ।
यी विषयलाई आधार मानेर उम्मेदवार छनौट गरिएको भए पार्टीमा अभूतपूर्व एकता कायम हुने भट्टराईको विश्वास छ। यसले चुनावी अभियानमा व्यापक उत्साह पैदा हुने भट्टराईले बताएका छन्। यस मामलामा आजको निर्णय गम्भीर रूपमा चुकेको पनि उनको भनाइ छ।
पार्टीले आफ्नो प्रक्रियाबाट निर्णय गरिसकेको सन्दर्भमा त्यसमाथिको समीक्षा उचित समयमा हुने उनले बताएका छन्। तथापि आजको चुनौतीपूर्ण समयमा एमालेको विजय पहिलो शर्त रहेको भन्दै सम्पूर्ण पार्टी सदस्यहरूलाई विचलित नहुने, सुदृढ एकता र उत्साहका साथ चुनावी अभियानमा सक्रिय हुन उनले आग्रह गरेका छन्।