कान्तिपुर मिडिया ग्रुपले नेताहरूको रेटिङ गर्ने ‘एप्रुभल रेटिङ’ वेबसाइट (rate.ekantipur.com) बन्द गरेको छ।
सोमबार कान्तिपुरले आफ्नो साइटमा सूचना राख्दै उक्त रेटिङ बन्द गरेको हो।
‘नेताहरूको रेटिङप्रति निर्वाचन आयोग र प्रेस काउन्सिलले व्यक्त गरेको सरोकारलाई सम्बोधन गर्दै यो रेटिङ बन्द गरिएको छ,’ रेट इकान्तिपुरको साइटमा उल्लेख गरिएको छ।
आयोगले यसलाई आचारसंहिता विपरीत भएको भन्दै नेपाल प्रेस काउन्सिललाई पत्र लेखेको थियो।
निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले सर्वेक्षण गर्ने र एप्रभुल रेटिङ गर्ने वेबसाइटहरूका विषयमा छलफल गरेको थियो।
आयोगले अहिलेसम्म ‘रेट माइ नेता’ (ratemyneta.com), एक्जिट पोल नेपाल (exitpollnepal.com), नेपाल पोल (Neppoll.com), एचओआर २०२६ (Hor-2026.vercel.app), नेपाल राइटस् (elections.nepalwrites.com) र पोलिमार्केट ( Polymarket.com/event/Nepal-house-of-representatives-election-winner) गरी ६ वटा वेबपोर्टल ब्लक गर्न पत्राचार गरेको थियो।
आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा फैलिरहेको मिथ्या सूचना ‘मिस इन्फरमेसन’ रोक्न आयोगले काम गरिरहेको बताएका थिए।
उनले १२२ वटा सामाजिक सञ्जालका पोस्टबारे कारबाही गर्न साइबर ब्युरोलाई, १५ वटा प्रकाशित सामग्रीबारे प्रेस काउन्सिललाई र ६ वटा दुष्प्रचार गर्ने वेबसाइट बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको जानकारी दिएका थिए।
निर्वाचन आयोगले यस्ता वेबसाइटहरूले आचारसंहिताको दफा ४ (त) उल्लंघन गरेको उल्लेख गर्दै पत्राचार गरेको हो।
उक्त दफामा ‘उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न भएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने’ व्यवस्था छ।
यो पनि: