फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल उम्मेदवार छैनन्।
यदि यसपटक पनि उनी चुनाव लडिरहेका हुन्थे भने उनका पुराना मित्र एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता विजयकुमार गच्छदारसँगै आठौं पटक चुनावी दौडमा हुने थिए। त्यसो त कांग्रेस नेता अर्जुननरसिंह केसी पनि आठौं पटक नै चुनावी दौडमा छन्। तर, उनी यसपटक समानुपातिक उम्मेदवार बनेका छन्।
नेकपा नेता खनाल यसपटक चुनावी प्रतिस्पर्धामा नहुँदा इलाम-१ मा पहिलोपटक उनीबेगरको प्रतिस्पर्धा हुँदैछ। २०४८ यता लगातार यो क्षेत्रमा चुनाव लड्दै आएका खनाल २०७९ को चुनावमा पराजित बनेका थिए।
त्यसो त २०५६ मा पनि कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजय सहेका खनालले त्यस बाहेकका चुनावमा भने लगातार जित हात पारेका थिए। एमालेको अध्यक्ष र प्रधानमन्त्रीसम्म बनेका थिए।
अहिलेको एमालेको मातृ संस्था हो नेकपा माले। मालेको संस्थापकहरूमध्येका एक खनाल सहितका नेताहरूले संगठन बनाएको इलाम सहितका पूर्वी पहाडलाई एमालेको बलियो पकड क्षेत्र मानिन्छ।
उनै खनालले निर्वाचन लड्दै आएको इलाम-१ यसपटक एमालेका काजीमान कागते, कांग्रेसका निस्कल राई, नेकपाका रणबहादुर राई, रास्वपाका विमल गदाल, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू लगायतका उम्मेदवार चुनावी सफलता हात पार्न दौडधुपमा छन्।
उनीहरूबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीबाट तुलसीकेसरी प्रजापति छुजु, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरूङ, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेकपा (माओवादी) बाट नारदमणि साम्पाङ, जनता समाजवादी पार्टीबाट लीलाबहादुर सुनुवार तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रामप्रसाद लिम्बूसहित यो क्षेत्रमा कूल १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
एमालेका पनि संस्थापक मध्येका एक नेता खनालले मूल पार्टीमा हुन्जेल चार पटक जितेको इलाम १ मा २०७९ को चुनावमा उनी आफै पराजित बनेका थिए। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीबाट निर्वाचन लडेका उनी आफ्नै कार्यकर्ता एमालेका महेश बस्नेतसँग पराजित बनेका थिए। कांग्रेस, माओवादी सहितका दलहरूको गठबन्धनले पनि खनाललाई त्यसबेला प्रतिनिधि सभामा पुर्याउन सकेन।
त्यसबेला बस्नेतले २ हजार ६ सय ६४ मतान्तरले खनाललाई हराएका थिए। बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत ल्याएका थिए।
अघिल्लो चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका ‘हाइप्रोफाइल’ नेता खनाललाई हराएका बस्नेतलाई एमालेले यसपटक टिकट दिएन। माघ ५ गते रातिसम्म पनि टिकट आफैले पाउने भन्दै कार्यकर्तालाई बताइरहेका बस्नेतको ठाउँमा कागतेले टिकट पाएको एमाले नेताहरू बताउँछन्।
पछिल्लो समय सन्दकपुर, माइजोगमाई सहितका ठाउँहरू थपिए पनि इलामको भूगोलको बहुसंख्यक हिस्सा एउटै रहँदै आएको छ।
२०४८ र ०५१ को चुनाव जितेका झलनाथ खनाल २०५६ मा त्यही क्षेत्रमा कांग्रेसका प्रसाईंसँग पराजित भएका थिए। त्यसपछि संविधान सभाका दुवै निर्वाचन २०६४ र २०७० मा एमालेबाट झलनाथ नै विजेता बनेको यो क्षेत्रमा २०७४ मा पनि उनैले चुनावी सफलता पाएका थिए।
२०७९ को चुनावमा इलाम १ मा समानुपातिकतर्फ एमाले पहिलो भएको थियो। २० हजार ५६४ मतसहित एमाले पहिलो बन्दा कांग्रेस १६ हजार ४५० मतसहित दोस्रो र एकीकृत समाजवादी ८ हजार २१ मतसहित तेस्रो भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ४५१, मंगोल नेसनल अर्गनाइजेसनले २ हजार ११५, माओवादीले १ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३०० र जनता समाजवादी पार्टी नेपालले १ हजार १८२ मत प्राप्त गरेका थिए।
इलाम-१ मा सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिकाको १०, १३ र १४ र माई नगरपालिकाको १, २, ३, ४ र ५, ९ र १० नम्बर वडा समेटिएको छ। यसपटक यहाँ १ लाख १२ हजार ३२० जना मतदाता छन्।
२०७९ को स्थानीय निर्वाचनमा सूर्योदय नगरको मेयरका दुई प्रतिस्पर्धी एमालेका कागते र नेकपाका रणबहादुर राई प्रतिनिधि सभामा पनि भिडन्तमा छन्।
उनीहरूको चुनावी रिम्याच दोहोरिँदा कांग्रेसले यहाँ ३५ वर्षे युवा निस्कल राईलाई उम्मेदवार बनाएको छ।
कागते र राई त्यसबेला मेयरमा भिड्दा नेकपा एसका राईले दोस्रोपटक चुनावी सफलता पाएका थिए। कागते प्रदेश सभाका पूर्वसांसद हुन्। प्रदेशसभा त्यागेर स्थानीय चुनाव लड्न जाँदा उनी विफल बनेका थिए।
यसरी दुई जना पुराना र स्थापित नेताहरूसँग कांग्रेसका युवा उम्मेदवार राई र नयाँ दल रास्वपाका गदाल सहितको चुनावी भिडन्त चाखलाग्दो बनेको छ।
नयाँ पार्टीहरूले तराईका सहरी क्षेत्रमा ठूला दलहरूलाई चुनौती दिइरहेका बेला पहाडी इलाकामा भने त्यस्तो प्रभाव अहिलेसम्म नदेखिएको स्थानीयबासीको बुझाइ छ।
जनजाति बहुल मतदाता भएको यो क्षेत्रमा दलहरूले सोही समुदायका उम्मेदवार अघि सारेर जातीय मत तान्ने प्रयास गरेका छन्।
एमालेले धेरैपटक सफलता पाइसकेको यो क्षेत्रमा यसपटक उसको विरासत भत्किन्छ कि कायम रहन्छ भन्ने प्रश्नको उत्तर फागुन २१ मा हुने मतदानले दिनेछ।