अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा लामो समयपछि व्यक्तिगत आयकरको सीमामा ठूलो परिवर्तन गरेका छन्। यसले ४० लाख रूपैयाँभन्दा बढी व्यक्तिगत आम्दानी गर्नेलाई ठूलो लाभ हुने भएको छ।
उनले एकातर्फ मध्यम वर्गलाई सहयोग पुग्ने गरी आयकरको न्यूनतम सीमाको दायरा बढाएका छन् भने उच्च आय हुनेलाई लाभ पुग्ने गरी अधिक कर लाग्ने सीमा घटाएका छन्।
विगतमा वार्षिक ५५ लाख रूपैयाँ आम्दानी गर्ने व्यक्तिले औसत ३० प्रतिशत अर्थात १६ लाख ६० हजार रूपैयाँ आयकर थियो। कर तिरेपछिको आम्दानी ३८ लाख ४० हजार रूपैयाँ हुन्थ्यो। नयाँ व्यवस्था अनुसार त्यही ५५ लाख रूपैयाँ आम्दानी गर्नेले २० प्रतिशत अर्थात ११ लाख आयकर बुझाए पुग्ने भएको छ। कर तिरेपछिको आम्दानी ४४ लाख रूपैयाँ हुनेछ।
सरकारले आयकरको व्यवस्था संशोधन गर्दै १० लाख रूपैयाँसम्मको आम्दानीमा १ प्रतिशत, १० देखि १५ लाखमा १० प्रतिशत, १५ देखि २५ लाखमा २० प्रतिशत, २५ देखि ४० लाखमा २७ प्रतिशत र त्योभन्दा माथिको आम्दानीमा २९ प्रतिशत कर लगाउने व्यवस्था गरेको छ। यसले धेरै कमाउनेलाई सबभन्दा बढी लाभ हुने भएको छ।
सरकारले यसअघि आम्दानीका आधारमा ६ वटा सीमा तोकेर १ देखि ३९ प्रतिशतसम्म कर लगाउने गरेको थियो। अब यो संख्या १ देखि २९ प्रतिशतमा सीमित गरिएको छ भने करको सीमा पनि ५ वटामा सीमित गरिएको छ। यस अनुसार माथिल्लो सीमा निकै घटाइएको छ।
यसअघि ५० लाखभन्दा माथिको आम्दानीमा सबभन्दा धेरै कर लगाइने गरेको थियो भने अब ४९ लाखभन्दा बढी आम्दानीमा सबभन्दा धेरै कर लाग्नेछ। विगतमा माथिल्लो दर ३९ प्रतिशत थियो भने अहिले यसलाई २९ प्रतिशतमा झारिएको छ।
यस अनुसार यो बजेटले आयकरमा 'प्रोग्रेसिभ' नीति अपनाएको देखिन्छ।
पहिले वार्षिक ५ लाख रूपैयाँसम्म आम्दानी गर्नेले सरकारलाई १ प्रतिशत आयकर तिर्नुपर्थ्यो। यो ५ हजार रूपैयाँ हुन्छ।
त्यसपछि थप २ लाखमा १० प्रतिशत कर लाग्थ्यो। अर्थात, दुई लाखको १० प्रतिशतका दरले २० हजार रूपैयाँ थप कर बुझाउनुपर्थ्यो।
त्यसपछिको ३ लाखमा ३० प्रतिशत कर अर्थात ९० हजार रूपैयाँ थपिन्थ्यो। त्यसपछिको ३ लाखमा ३६ प्रतिशत अर्थात १० लाख ८० हजार तिर्नुपर्थ्यो भने त्यसपछिको ५ लाखमा ३९ प्रतिशत अर्थात १ लाख ९५ हजार रूपैयाँ तिर्नुपर्थ्यो।
अहिले गरिएको कर संशोधनबाट सुरूको १० लाखलाई १ प्रतिशत अर्थात १० हजार बुझाए पुग्छ। त्यसपछिको थप ५ लाखलाई १० प्रतिशत अर्थात ५० हजार बुझाउनुपर्छ भने त्यसपछिको थप १० लाखका हकमा २० प्रतिशत अर्थात २ लाख बुझाउनुपर्ने हुन्छ।
त्यसपछिको १५ लाखलाई २७ प्रतिशत अर्थात ४ लाख ५ हजार बुझाउनुपर्छ। त्यसपछिको १५ लाखमा २९ प्रतिशत अर्थात ४ लाख ३५ हजार बुझाउनुपर्ने हुन्छ।
यसरी हिजोको तुलनामा ५५ लाख रूपैयाँसम्मको आम्दानीलाई करिब ५० प्रतिशतको भार कम परेको छ। त्योभन्दा माथिका हकमा १ करोड रूपैयाँसम्म योभन्दा पनि कम भार पर्ने हुन्छ।
कर विज्ञ शेषमणि दाहाल अहिलेको आयकर नीतिले उच्च मध्यम र उच्च आम्दानी गर्नेलाई सबभन्दा बढी लाभ पुग्ने बताउँछन्।
'सबभन्दा कम आय हुने अर्थात वार्षिक ५ लाखसम्म आम्दानी गर्नेलाई अहिलेको कर नीतिबाट खासै लाभ हुँदैन। तर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्ने र त्योभन्दा धेरै आम्दानी गर्नेलाई धेरै लाभ हुन्छ,' उनले भने।
अहिले वार्षिक औसत आय १५१५ डलर छ। औसत रूपमा नेपालीले २ लाख ३० हजार रूपैयाँ बराबर आम्दानी गर्छ। औसतभन्दा दोब्बर आम्दानी गर्नेले पनि अहिलेको आयकर नीतिबाट थप छुट पाउँदैन।