धनुषा क्षेत्र नम्बर ४ मा लगातार दुई पटक चुनाव जितेका नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पनि प्रतिस्पर्धामा छन्।
यो क्षेत्रमा २०७४ र २०७९ को दुवै निर्वाचनमा उनका निकटतम प्रतिद्वन्दी थिए- नेपाली कांग्रेसका नेता महेन्द्र यादव।
२०७४ मा २२ हजार ५३२ मत ल्याएर महासेठ विजयी हुँदा कांग्रेसका यादवले १९ हजार ९९१ मत ल्याएका थिए। त्यो निर्वाचनमा एमाले-माओवादी गठबन्धन थियो भने कांग्रेस एक्लै थियो।
२०७९ सालमा पनि दुई नेतामध्ये महासेठ थोरै मत अन्तरले विजयी भए। महासेठले ३२ हजार २३६ मत ल्याउँदा यादवले ३२ हजार ११२ मत ल्याएका थिए।
समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै मत ल्याएको थियो। एमालेले २६ हजार ९१९ मत ल्याउँदा कांग्रेसले २५ हजार २८ मत ल्याएको थियो। तेस्रोमा जसपाले ६ हजार ७६७ मत ल्याएको थियो।
तत्कालीन नेकपा एकीकृत समाजवादीले ५ हजार २७४ मत ल्याउँदा जनमत पार्टीले ४ हजार १० मत पाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २८ सय मत पाउँदा माओवादीले २२ सय मत मात्र पाएको थियो।
यस क्षेत्रमा पर्ने वडाहरूको उपस्थितिलाई हेर्ने हो भने नेपाली कांग्रेस अगाडि छ। दोस्रोमा एमाले छ।
जनकपुर उपमहानगरका ९, १३, १४,१९,२१ र २२ गरी ६ वटा वडा, लक्ष्मीनिया गाँउपालिका (७ वटा वडा), मिथिलाबिहारी नगरपालिकाका २, ६, ७, ८,९ र १० (६ वटा वडा) यो क्षेत्रमा पर्छन्।
त्यस्तै क्षिरेश्वर नगरपालिकाका १, २, ३, ४, ५, ६, ७ र १० (८ वटा वडा), मिथिला नगरपालिकाका वडा १, २, ३, ५, ६, ७, ८, ९,१० र ११ (१० वटा वडा) र बटेश्वर गाँउपालिका (५ वटा वडा) पर्छन्। अर्थात् यो क्षेत्रमा ४२ वटा वडा पर्छन्।
४२ वटा वडामध्ये कांग्रेसले १९, एमाले १२, जसपा ४, माओवादी २, एकीकृत समाजवादी ३, लोसपा र स्वतन्त्र उमेदवार १\१ स्थानमा विजयी भएका थिए।
त्यो बेलाको माओवादी र एकीकृत समाजवादी मिलेर अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ भने जसपा र लोसपा मिलेर जसपा बनिसकेको छ।
यो निर्वाचनमा पनि विगत देखिका चिरपरिचित प्रतिस्पर्धी महासेठ, यादव र नेकपाबाट संजयकुमार महतो छन्।
त्यस्तै रास्वपाबाट राजकिशोर महतो, जनमत पार्टीबाट इन्द्रजितकुमार यादव र जसपाबाट कृष्णचन्द्रप्रसाद साह छन्। यो क्षेत्रमा पार्टीका र स्वतन्त्र गरी ३७ उमेदवार छन्।
यो क्षेत्रका उमेदवारमध्ये सबैभन्दा अनुभवी महासेठ हुन्। मधेसमा उम्मेदवार बनेका एमाले उम्मेदवारमध्ये सबैभन्दा 'हेबी वेट' नेता पनि उनै हुन्। उनी एमालेका तीन उपमहासचिव समेत हुन्।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पराजित भएका महासेठ २०६५ मा भएको उपनिर्वाचनमा भने विजयी भएका थिए।
धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचन जितेका तत्कालीन नेपाली कांग्रेसका महामन्त्री रामवरण यादव राष्ट्रपति बनेपछि त्यो क्षेत्रमा उपनिर्वाचन भएको थियो। महासेठले कांग्रेसका चन्द्रमोहन यादवलाई पराजित गरेका थिए। २०७० को निर्वाचनमा भने रामवरणका छोरासमेत रहेका कांग्रेस उमेदवार चन्द्रमोहन यादवसँग महासेठ पराजित भए।
६४ वर्षीय महासेठले सिँचाइ, भौतिक र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
निर्वाचन क्षेत्रमा काम गरेको र आफ्नो वितगदेखिको अनुभवका कारण जनताले फेरि जिताउने उनको दाबी छ।
'म २०२८ सालदेखि आजसम्म राजनीतिमै सक्रिय छु। यहाँको समस्यालाई नजिकबाट बुझेको छु। मेरो सक्रियता र निरन्तरता नै मेरो सम्पति हो,' उनले भने, 'जनताले यसपटक एमाले/कांग्रेस जस्ता राष्ट्रिय शक्तिलाई चाहेका छन्। त्यसमा पनि एमालेको भूमिका अझै रहन्छ भन्ने जनताले राम्रोसँग बुझेका छन्।'
कांग्रेसका उम्मेदवार महेन्द्र यादव पनि २०६४ र ०७० मा समानुपातिक सांसद थिए। उनले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेसका निवर्तमान सहमहामन्त्री रहेका ६३ वर्षीय यादव नेपाल तरूण दलका अध्यक्षसमेत भइसकेका छन्।
कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएकाले आफ्नो जित सुनिश्चित रहेको यादवको दाबी छ।
'मधेसमा एमालेको स्थिति खस्किँदो छ। यसपालि जनताले कांग्रेसलाई अवसर दिने भनेको सुनेको छु,’ उनले भने, ‘हामीले कांग्रेसको अवस्था सुधार्दै पनि गएका छौं। त्यसैले जनताले हामीलाई मत दिन्छन् भन्ने मलाई विश्वास छ।'