फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अपेक्षित मत ल्याउन सकेन।
प्रत्यक्षतर्फ ८ स्थानमा मात्र जित हात पारेको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा १५ स्थानमा दोस्रो भयो।
नेकपाले धनुषा–१, सिन्धुपाल्चोक–२, रूकुम पूर्व, रोल्पा, सल्यान, डोल्पा, कालिकोट र रूकुम पश्चिममा जित हासिल गरेको छ।
नेकपा दोस्रो भएका १५ स्थानमा सोलुखुम्बु, सिराहा–४, महोत्तरी–१, सर्लाही–२, ३, रौतहट–२, सिन्धुली–२, सिन्धुपाल्चोक–१, चितवन–३, मनाङ, जुम्ला, हुम्ला, अछाम–१, कैलाली–३ र कञ्चनपुर–१ छन्।
यो निर्वाचनमा नेकपाका प्रभावशाली नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावल पनि पराजित भए। नेपाल रौतहट–१ बाट पराजित भए भने श्रेष्ठ सर्लाही–३ बाट र रावल अछाम–१ बाट पराजित भए।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तत्कालीन माओवादी केन्द्रले १८ र एकीकृत समाजवादीले १० सिट जितेको थियो।
गत कात्तिकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपालको एक हिस्सा), नेकपा (समाजवादी), नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), देशभक्त समाजवादी मोर्चा (गोपाल किराँती नेतृत्व), नेकपा (चिरन पुन समूह ) माओवादी कम्युनिस्ट केन्द्र/अन्य साना नेकपा समूहहरू, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह, नेकपा माओवादी विद्रोही समूह, जनता समाजवादी पार्टी (जसपा) को एकीकरण पक्षधर समूह लगायत अन्य साना वाम समूहहरू मिलेर नेकपा बनेको थियो।
तर यो एकताको प्रभाव निर्वाचन परिणाममा देखिएन।
नेकपाको ९९ स्थानमा त जमानत नै जफत भयो। नेकपाको इलाम–२, झापा–१, २, ३, ४, ५, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१, २, ३, ६ मा जमानत जोगिएन। सुनसरी–१, २, ३, ४ मा पनि धरौटी जफत भयो।
सप्तरी–१, २, ३, ४, सिराहा–१, २, धनुषा–३, ४, महोत्तरी–२, ३, ४, सर्लाही–१, ४, रौतहट–३, बारा र पर्साका सबै निर्वाचन क्षेत्रमा धरौटी जफत भयो।
बागमतीमा सिन्धुली–१, रसुवा, नुवाकोट–२, काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा जमानत जोगिएन भने काभ्रेपलाञ्चोक–२, चितवन–१, २ मा पनि जमानत जफत भयो।
गण्डकीअन्तर्गत लमजुङ, कास्कीका तीनवटै निर्वाचन क्षेत्र, तनहुँ, स्याङ्जा, नवलपरासी बर्दघाट सुस्तापूर्वका सबै क्षेत्रमा जमानत जोगिएन। मुस्ताङ, म्याग्दी, पर्वतमा पनि जमानत जफत भयो।
लुम्बिनीमा कपिलवस्तु–२, प्यूठान, दाङ–३, बर्दिया–१, २ बाहेक कतै पनि धरौटी जोगिएन। लुम्बिनीमा रूकुम पूर्व संयोजक प्रचण्ड र रोल्पामा वर्षमान पुनले जितेका छन्।
कर्णालीमा चार स्थान जितेको नेकपाले सुर्खेतका दुवै क्षेत्रमा धरौटी जोगाउन सकेन।
सुदूरपश्चिमतर्फ बाजुरा, कैलाली–२, कैलाली–४, दार्चुला, कञ्चनपुर–३ मा धरौटी जोगाउन सकेन।