ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका छन्।
वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका हुन्। उनीहरू कानुनी परामर्शका लागि एमाले अध्यक्ष ओली निवास पुगेका हुन्।
नेकपा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी अधिकारीहरू पुर्जीसहित आएको जानकारी दिइन्। अध्यक्ष ओलीले केही बेरमा गिरफ्तारी दिइने बताइन्।
‘उहाँहरू (प्रहरीहरू) आउनु भएको छ। उहाँहरू कागजातसहित आएपछि के हुन्छ र! अब गिरफ्तारी दिनुहुन्छ,’ उनले सेतोपाटीसँग भनिन्।
एमाले नेताहरूका अनुसार गुण्डुमा शुक्रबार रातिदेखि नै निवासभित्र प्रवेश गर्ने क्रममा एमालेका नेता कार्यकर्ताले अवरोध गर्न खोजेका थिए। केहीबेर धकेलाधकेलसमेत भएको थियो।
धकेलाधकेलका क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको एमालेका कार्यकर्ताले बताएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए।