नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा 'बादल' बनेका छन्।
बुधबार च्यासलमा बसेको संसदीय दल बैठकपछि नेता चयन गर्न निर्वाचन भएको थियो। सांसदहरू बादल र सुहाङ नेम्वाङले फारम लगे पनि बादलले मात्र बुझाएको निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
उनका अनुसार अपराह्न ४ बजेसम्म फारम बुझाउने समय थियो। त्यो अवधिमा एक जनाले मात्र फारम बुझाए। त्यसपछि बादल निर्विरोध रूपमा संसदीय दल नेता निर्वाचित भएको आचार्यले जानकारी दिए।
सुहाङले आजै बसेको संसदीय दल बैठकमा युवालाई अघि बढाउनुपर्ने बताएका थिए। साथै, आफू संसदीय दल नेता बन्न इच्छा राखेका थिए।
एक नेताका अनुसार धनकुटाका राजेन्द्र राई र संखुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएकाले सुहाङले उम्मेदवारी दिन फारमसमेत लगेका थिए।
फारम बुझाउने बेला महासचिव शंकर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङ प्रस्तावक र समर्थकविहीन बने र फारम नै दर्ता गर्न पाएनन्।
नेकपा एमालेले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा ल्याउन सकेन। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित चुनाव उठेका ११ जना पदाधिकारी पराजित भए। पूर्वपदाधिकारी, पूर्वस्थायी कमिटी सदस्य समेतले चुनाव जित्न सकेनन्। पूर्वपोलिटब्युरो सदस्य गणेश ठगुन्नाबाहेक अधिकांश पराजित भए।
बादल समानुपातिक प्रणालीबाट छानिएका हुन्। उनीसहित सचिव पद्मा अर्याल, पूर्वउपाध्यक्ष गुरू बराल पनि समानुपातिबाटै सांसद छानिएका छन्।
पार्टीको पहिलो वरीयताको उपाध्यक्ष भएको र अध्यक्ष ओली समेतको रोजाइमा परेपछि बादल नै दल नेता चुनिए।
बादलसँग नेकपा एमालेको साइनो लामो छैन। २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा बादलले उनलाई साथ दिएका थिए।
तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले तत्कालीन प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कदमलाई असंवैधानिक र प्रतिगमनको संज्ञा दिँदै सडक आन्दोलन गर्दा बादल ओलीको पक्षमा दर्बिलोसँग उभिएका थिए। उनले प्रतिनिधिसभा विघटनको विरोधको कुनै औचित्य नरहेको र आन्दोलनको उपादेयता नरहेको बताएका थिए। त्यसरी सडक आन्दोलन गर्नु प्रतिक्रान्ति र कम्युनिस्ट आन्दोलनविरोधी काम भएको टिप्पणी गरेका थिए।
संविधान र पार्टी आन्दोलनको रक्षाका लागि नै ओलीले सुझबुझपूर्ण कदम चालेको भन्दै ओली कदमको मुक्तकण्ठले प्रशंसा गर्ने बादल तत्कालीन समयमा गृहमन्त्री थिए।
२०७७ पुस ५ मा ओलीले संसद विघटन गरेको विषयले नेकपालाई विग्रहको बाटो देखायो। एमाले र माओवादी केन्द्र एकीकृत भएर २०७५ जेठ ३ गते बनेको नेकपा विघटन भयो।
२०७८ भदौमा नेकपा एमाले पनि विभाजन भयो। माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेता अलग भएर एकीकृत समाजवादी गठन गरे।
यी सबै घटनाक्रममा ओलीलाई नै साथ दिँदै आएका बादल २०७८ मंसिरमा भएको एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्ष चुनिएका थिए। ११औं महाधिवेशनमा उनी पहिलो वरीयताको उपाध्यक्ष बने।
जेनजी आन्दोलनबाट सत्ताच्यूत बनेका ओली निर्वाचनमा समेत पराजित भएपछि संसदीय फाँटको कमान गर्ने जिम्मेवारी बादलको काँधमा आएको हो।
तत्कालीन माओवादी केन्द्रमा छँदा उनी पार्टी महासचिव थिए। यद्यपि उनको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग कतिपय सवालमा वैचारिक विमति थियो। त्यसो त मोहन वैद्य, रामबहादुर थापा बादल, सिपी गजुरेल, नेत्रविक्रम चन्द 'विप्लव' ले २०६९ असार ४ गते एनेकपा माओवादीबाट अलग भई माओवादी आन्दोलनको धारलाई नयाँ दिशा दिने उद्घोष गरेका थिए। २०७३ जेठ ६ गते वैद्य नेतृत्वको उक्त पार्टी छाडी उनी पुनः माओवादी आन्दोलनमै समाहित भएका थिए।
बादलको राजनीतिक आन्दोलन लामो छ।
उनी आन्दोलनको सुरूआतदेखि नै वामपन्थी आन्दोलनको अंग बने।
७० वर्ष उमेर पार गर्नै लागेका बादल २०१२ जेठ ८ जन्मिएका हुन्। गुल्मीमा जन्मिएका बादलका बुबा भारतीय सेनाबाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल थिए।
गुल्मीमै प्रारम्भिक शिक्षा पूरा गरेका बादल उच्च शिक्षा पढ्न चितवनस्थित तत्कालीन रामपुर कृषि क्याम्पस झरेका थिए।
कृषिमा स्नातक गरेका बादल पढाइका क्रममा तत्कालीन सोभियत संघसमेत गएका थिए। इन्जिनियरिङ पढ्न गएका उनी अध्ययन पूरा नगरी फर्किए नेपाल फर्किएका थिए।
अध्यक्ष प्रचण्डसँग उनको भेट २०३१ मा रामपुरमा क्याम्पस पढ्दा नै भएको थियो।
तत्कालीन समयमा उनले अमिक शेरचनबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए।
२०३७ सालदेखि औपचारिक रूपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका बादल २०३८ मा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन बहिष्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेर जेलसमेत चलान भएका थिए।
सोही अभियोगमा उनले भरतपुर र वीरगन्ज जेलमा केही महिना बिताएको उनका सहकर्मीहरू बताउँछन्। तत्कालीन समयमा उनी १० महिनाजति जेल परेका थिए।
बादल २०४२ मा नेकपा (मशाल) को केन्द्रीय सदस्य बनेका थिए भने २०४४ मा बागमती अञ्चल इन्चार्ज भएका थिए।
नेकपा माओवादीले २०५२ देखि हतियाबन्द संघर्ष सुरू ग¥यो। माओवादीले सुरू गरेको उक्त 'जनयुद्ध'मा उनले सुरूआतमा पूर्वी कमान्डको नेतृत्व गरेका थिए। पछि उनको भूमिका सैन्य कमान्डरका रूपमा रह्यो।
पार्टी शान्ति प्रक्रियामा अवतरण भएपछि बादल पार्टीको महासचिव, संगठन विभाग प्रमुखसमेत बनेका थिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका बादल २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा उनको मन्त्रिपरिषद्का रक्षामन्त्री बनेका थिए। तर प्रचण्ड नेतृत्वको पहिलो प्रधानमन्त्रीय काल ९ महिना मात्रै रह्यो।
२०७४ सालमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका बादल ओली प्रधानमन्त्री भएका बेला गृहमन्त्री बनेका थिए।
राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि उनी छोटो अवधिका लागि पुनः गृहमन्त्री बनेका थिए। उनकी पत्नी नैनकला थापा पनि राजनीतिमा सक्रिय थिइन्। पत्नी नैनकला पनि २०७८ जेठमा छोटो अवधिका लागि सञ्चारमन्त्री भएकी थिइन्। २०७८ असारमा सर्वोच्च अदालतको परमादेशमार्फत् ओली नेतृत्वको सरकार ढलेको थियो।
बादलको परिवार बेलाबखत विवादमा पनि आउने गरेको छ। बादलका छोरा नक्कली भुटानी शरणाथी प्रकरणमा जोडिइ पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामासमेत पठाइएका थिए।