नेकपा एमालेले संसदीय दल नेता रामबहादुर थापा 'बादल' ले सदनमा बिहीबार दिएको अभिव्यक्ति सच्याएको छ।
शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका कार्यवाहक अध्यक्षसमेत रहेका बादलले दिएको अभिव्यक्ति सच्याएको हो।
बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति एमालेको सम्बन्ध पूर्ववत्एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने भन्दै दल नेता बादलको अभिव्यक्ति सच्याएको हो।
बिहीबार सम्बोधनका क्रममा दल नेता बादलले नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की नेतृत्वको यसअघिको सरकार, गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको सहयोगमा रास्वपाले अभूतपूर्व विजय निकालेको बताएका थिए।
शुक्रबारको बैठकले बादलले सदनमा दिएको अभिव्यक्ति सच्याएको छ।
'बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,' बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार दल नेता बादलको बिहीबारको अभिव्यक्तिप्रति महासचिव शंकर पोखरेलले समेत ठिक भएन भन्ने दृष्टिकोण राखेका थिए।
'पार्टीले जनादेशको सम्मान गर्नुपर्छ। जनादेशको सम्मान नहुने गरी धारणा राख्नु हुँदैन,' महासचिव पोखरेलले बैठकमा राखेको धारणाको सार खिच्दै ती पदाधिकारीले भने।
उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले चुनावको वस्तुपरक समीक्षा हुनुपर्ने बताएका थिए। उनीहरूले नेपाली सेना, कर्मचारीतन्त्र, अदालत आदिलाई दोषारोपण गरेर ठीक निष्कर्षमा पुग्न नसकिने धारणा राखेका थिए।
'जनमतको सम्मान गर्नुपर्छ। संसदीय दल नेता बादलजीको अभिव्यक्तिले पार्टीलाई घाटा पुर्याएको छ। जनमतको अपमान हुन पुगेको छ। नेपाली सेना, कर्मचारीतन्त्र, अदालतप्रति पार्टीको अविश्वास बढाएको छ। यसलाई सच्याउनुपर्छ। हाम्रो पार्टीको नीति यो होइन। पार्टीको नीतिअनुरूप धारणा राख्नुपर्छ,' उनीहरूले भनेका थिए।
यसमा तीन जना नेताको समान धारणा रहेको सचिवालय सदस्यको भनाइ छ।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, उपमहासचिव रघुवीर महासेठ, सचिव शेरधन राईले दल नेता बादलको अभिव्यक्तिको बचाउ गरेका थिए।
सुरूमा बादलले पनि 'पार्टीकै लाइन अनुसार बोलेको छु, मेरो अभिव्यक्ति पार्टीको दृष्टिकोण, वस्तुगत अवस्थाभन्दा भिन्न छैन' भन्दै बचाउ गरेका थिए।
तर धेरैजसो सचिवालय सदस्यले सच्याउनुपर्ने बताएपछि उनले 'साथीहरूको त्यही धारणा हो भने यसलाई मिलाएर जाऔं' भनेको अर्का एक नेताले बताए।
ती नेताका अनुसार बिहीबार प्रतिनिधिसभाको बैठकमा बादलको अभिव्यक्तिपछि विष्णु पौडेल, गोकर्ण विष्ट, योगेश भट्टराई सहितका नेता छलफलमा जुटेका थिए।
यसले पार्टीलाई 'ड्यामेज' गर्ने भन्दै सच्याउनुपर्ने निष्कर्ष निकालेका थिए।
एक नेताका अनुसार सुरूमा उपाध्यक्षद्वय पौडेल र विष्ट छलफलमा जुटेका थिए।
त्यो छलफलमा उपमहासचिव योगेश भट्टराई पनि मिसिए।
अभिव्यक्ति सच्याउनुपर्नेमा तीन जनाको मत मिलेपछि त्यहीँबाट कार्यवाहक अध्यक्षसमेत रहेका रामबहादुर थापा 'बादल' र महासचिव शंकर पोखरेललाई समेत फोन गरेर बैठक बोलाउन भनेका थिए।
'उपाध्यक्ष विष्णु पौडेलले कार्यवाहक अध्यक्ष र महासचिव पोखरेललाई फोन गरेर बैठक बोलाउन भन्नुभएको हो। उहाँहरू राजी भएर बैठक बोलाएपछि अभिव्यक्ति सच्याइएको छ,' ती नेताले भने।
सचिवालय तहका एक नेताका अुनसार शुक्रबारको बैठकमा महासचिवले आफूसँग सल्लाह भएर बादलले त्यसप्रकारको अभिव्यक्ति दिएको संकेत उनले दिएका थिएनन्। महासचिवले उनको अभिव्यक्तिको बचाउन पनि गरेनन्।
ती नेताका अनुसार बिहीबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बादल त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
त्यस आधारमा उनले अध्यक्ष केपी ओलीसँग उनले परामर्श गरेको लख सचिवालय सदस्यले काटेका छन्।
जेनजी आन्दोलनको क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा ओली पक्राउ परेका छन्। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको हो।
'सदन सुरू भएको दिन बिहान अध्यक्ष भेट्न बादलजी अस्पताल जानुभएको रहेछ। अध्यक्षसँग परामर्श नगरी उहाँ आफैले त्यसो बोल्नुभयो भन्ने हामीलाई पनि लागेको छैन,' ती नेताले भने।