विशेष महाधिवेशन माग गर्दै नेकपा एमालेका राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले हस्ताक्षर सुरू गरेका छन्।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले अनपेक्षित पराजय बेहोरेको भन्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले नेतृत्व परिवर्तनको वैधानिक बाटो समातेका हुन्।
नेकपा एमालेको गत महाधिवेशनले पारित गरेको विधानमा विशेष महाधिवेशनको प्रबन्ध छ।
मौजुदा विधानको धारा ७३ मा ठोस कार्यसूची र उचित कारण दर्शाइ दुई–तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले लिखित रूपमा विशेष महाधिवेशनको माग गर्न सक्छन्। उक्त माग पत्र दर्ता गरेको मितिले ६ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने छ।
यसरी विधानले देखाएको बाटो समातेर विशेष महाधिवेशन माग गर्दा पनि आयोजना नगरिएमा महाधिवेशन माग गर्ने कमिटी वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले महाधिवेशन आयोजक कमिटी बनाएर विशेष महाधिवेशन आयोजना गर्न सक्नेछन्।
विगतदेखि नै नेतृत्व परिवर्तनको आवाज उठाइरहेका इतर समूह र केही युवा नेताले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराइरहेका हुन्। अहिले ४०० जनाभन्दा बढी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले हस्ताक्षर गरिसकेको एक नेताले बताए।
अनेरास्ववियुका उपमहासचिव कमल जोशीले एमालेलाई समयसापेक्ष रूपान्तरण गर्न अब युवा नेतृत्व अपरिहार्य भइसकेको बताए।
'नेतृत्वले बुझ्नुपर्छ कि इतिहासको ब्याजले मात्रै भविष्यको राजनीति सुरक्षित हुँदैन। जब पार्टीले आफ्नै युवाहरूको ढुकढुकी सुन्न छाड्छ, तब युवाहरू आफै परिवर्तनको नयाँ अध्याय लेख्न बाध्य हुन्छन्,' उनले सेतोपाटीसँग भने।
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गराइएको पत्रमा संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा एमालेले सबैभन्दा कमजोर निर्वाचन परिणाम भोग्न बाध्य भएको उल्लेख छ।
'प्रत्यक्षमा १६५ सिटमा ९ (७.४५ प्रतिशत) र समानुपातिकमा १३.४ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताको अविश्वास प्रकट गरेको अवस्था छ,' अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै हस्ताक्षर गराइएको पत्रमा भनिएको छ, 'राजधानी रहेको काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा नेकपा एमालेको उम्मेदवारको जमानत जफत हुनु गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ।'
पार्टीका अधिकांश चर्चित नेताहरू भारी मतान्तरले जनताको मतबाट पराजित भएको भन्दै यस अवस्थाको कारणले जनताको भावना अनुसार पार्टी नचलेको अनुभूति गर्न सकिने उनीहरूको ठहर छ।
त्यसैले इतिहासको संगीन घडीमा उभिएको यस अवस्थामा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीले मात्र समीक्षा गरेर निकास निकाल्न नसक्ने विशेष महाधिवेशन माग गरिरहेकाहरूको निचोड छ।
'नेकपा एमाले पार्टीमार्फत देश र जनताको हितमा काम गर्न अझ धेरै सशक्त भएर जनताको मन र मस्तिष्कमा बस्न यस्तै अवस्था सिर्जना हुँदाखेरी उपयोग गर्न भनेर एमालेको विधानमा समेत विशेष महाधिवेशन व्यवस्था गरेको छ। यस्तो अवस्था आउनुको पछाडि विगतको वस्तुनिष्ठ सहित निर्मम समीक्षा र एमालेको आगामी बाटो तय गर्न एमालेको विधान, २०४९ (दोस्रो विधान महाधिवेशन २०८२, ११औं राष्ट्रिय महाधिवेशन २०८२ को संशोधन सहित) को धारा ७३ को (क) बमोजिम विशेष महाधिवेशनबाट नै सम्पूर्ण विषय टुंगो लगाउन वाञ्छनीय हुने भएकाले हामी एघारौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूले कम्युनिस्ट आन्दोलन र एमालेको रक्षा र हितका लागि हस्ताक्षर गरी केन्द्रीय कमिटी मार्फत विशेष महाधिवेशन छिटो भन्दा छिटो माग गर्दछौं,' पत्रमा भनिएको छ।
उनीहरूले विधानको धारा ७३ (क) बमोजिम विशेष महाधिवेशन नबोलाए विधानको धारा ७३ (ख) स्वत आकर्षित भई धारा ७३ (घ) बमोजिम विशेष महाधिवेशनले महाधिवेशनका लागि विधानका विभिन्न धारामा तोकिएको सम्पूर्ण अधिकार र कर्तव्य पालना गर्न सक्ने पनि जानकारी गराएका छन्।

एमालेको ११ औं महाधिवेशनमा कूल २२६३ जना प्रतिनिधि थिए। विशेष महाधिवेशनका लागि ११३२ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर आवश्यक हुन्छ। प्रारम्भिक अवस्थामै ४०० जनाभन्दा बढीले हस्ताक्षर गरिसकेको उनीहरूको दाबी छ।
अहिले उनीहरूले निर्वाचन क्षेत्र छुट्ट्याएर राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर गराइरहेका छन्। यसमा सचिवालय तहका नेताहरू नै अप्रत्यक्ष जोडिएको र अगुवाइसमेत गरिरहेको उनीहरूको दाबी छ।
गत महाधिवेशनमा अध्यक्ष ओलीले ११६३ मत प्राप्त गरी तेस्रो पटक अध्यक्ष निर्वाचित भएका थिए। प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत ल्याएका थिए।
पदाधिकारीमा अध्यक्ष ओली समूहकै वर्चस्व थियो। १९ सदस्यीय पदाधिकारीमा २ जना मात्रै पोखरेल समूहबाट निर्वाचित भएका थिए। उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्रै पोखरेल समूहबाट जित निकालेका थिए। केन्द्रीय कमिटीमा पनि ओली समूहले एकलौटीप्रायः जित हासिल गरेको थियो।
तर चार महिना नबित्दै एमालेमा विशेष महाधिवेशनको माग उठेको छ।
अध्यक्ष ओली हाल प्रहरी हिरासतमा छन्। यद्यपि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। गत भदौ २३ गत भएको जेनजी प्रदर्शनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको हो।
नेपाली कांग्रेसले पनि गत पुस अन्तिम साता विशेष महाधिवेशन गरेको थियो। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई नियमित महाधिवेशनबाट धकेल्दै लगेपछि गगन थापा समूहले हस्तक्षेप गरी विशेष महाधिवेशन गरेको थियो।
थापा विशेष महाधिवेशनबाटै सभापति चुनिएका थिए।