नेकपा एमालेमा माओवादी पृष्ठभूमिका नेताहरूको 'स्वीकारोक्ति' बलियो देखिएको छ।
गत मंसिर अन्तिम साता भएको ११ औं महाधिवेशनमा माओवादी पृष्ठभूमिका नेताहरूले लोकप्रिय मत प्राप्त गरेका थिए।
पछिल्ला जिम्मेवारी वितरणमा पनि माओवादी पृष्ठभूमिका नेताहरूले नेतृत्वको विश्वास जितेका हुन्।
माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका सैन्य कमाण्डरको भूमिकामा रहेका रामबहादुर थापा ‘बादल’ले एमाले संसदीय दल नेता बनेका छन्।
उनी 'जनयुद्ध'को सुरूआतदेखि नै माओवादी आन्दोलनको हिस्सा थिए।
२०७७ मा नेकपा विघटन भएपछि एमालेमै रहेका बादलले एमालेमा उपयुक्त जिम्मेवारी पाउँदै अहिले कार्यवाहक अध्यक्षको भूमिकामा पनि छन्।
यस्तै अवसर पाउने अर्का नेता हुन्- माओवादी पृष्ठभूमिकी लीला भण्डारी।
आइतबार राष्ट्रिय सभाको उपाध्यक्ष उनी निर्विरोध भएकी छन्। यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ। नेपाली कांग्रेस, नेकपा, जसपासहितको समर्थनमा भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध भएकी हुन्।
राष्ट्रिय सभामा एमालेका १० जना मात्रै सांसद छन्। एमालेले उपाध्यक्ष लिएर अरू दललाई संसदीय समिति छाडेको थियो।
राजनीतिक करिअरको बीचमा माओवादी आन्दोलनमा समाहित भए पनि भण्डारी सुरूआतमा भने एमाले थिइन्। उनी २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षपछाडि नेकपा एमालेमा आबद्ध भएकी थिइन्।
राजनीतिको आरम्भमा उनी अनेरास्ववियुको स्कुल प्रारम्भिक कमिटी सदस्य थिइन्।
२०५३ मा जिल्ला तहको संगठनमा पुगेकी भण्डारी २०५५ सालमा तत्कालीन नेकपा (माओवादी) तर्फ आकर्षित भएकी थिइन्। एमाले विभाजन भएका बेला उनी माओवादीमा लागेकी थिइन्।
विक्रम् संवत् २०५५ सालदेखि २०५७ सालसम्म तत्कालीन माओवादीको जनसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला कमिटीमा थिइन्। उनी उक्त संगठनको जिल्ला सचिवसमेत बनिन्। माओवादीको भूमिगत कार्यकर्ता भइन्।
२०५७ पछि उनी माओवादी जिल्ला सदस्य, एवम् एरिया इन्चार्ज, २०६० मा कञ्चनपुर जिल्ला सेक्रेटरी, २०६१ मा चुरे विशेष जिल्लाको नेतृत्वमा पुगेकी भण्डारी २०६२ देखि २०६४ सम्म माओवादीको केन्द्रीय सदस्य र बर्दिया जिल्ला सहइञ्चार्जको भूमिका निर्वाह गरिन्।
२०६४ देखि २०७२ सम्म उनी नेकपा (माओवादी) को पोलिटब्युरो सदस्य थिइन्।
तत्कालीन एकीकृत माओवादी विभाजन भएर बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी बन्दा उनी उक्त दलको सचिवालय सदस्य थिइन्। पार्टीले उनलाई सुदूरपश्चिम इन्चार्जसमेत बनाएको थियो। २०७२ सालदेखि २०७५ सालसम्म उनी त्यही भूमिकामा थिइन्।
२०७५ मा माओवादी आन्दोलनमै फर्किएकी भण्डारी एमालेसँगको एकतापछि नेकपामा केन्द्रीय सदस्य थिइन्। नेकपा विभाजनपछि एमालेमै रहेकी भण्डारी २०७८ को १० औं महाधिवेशनपछि पोलिटब्युरो सदस्य थिइन्।
गत माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी हुन्।
हाल उनको स्थायी वतन धनगढी उपमहानगरपालिका–३ हो। राष्ट्रिय सभा उपाध्यक्षको विशेष संवैधानिक भूमिका हुँदैन। सभा सञ्चालनमा अध्यक्षलाई सहयोग गर्ने, तोकिएका कामहरू गर्ने बाहेक अन्य परिभाषित जिम्मेवारी छैन।
एमालेमा पूर्वमाओवादीले एकपछि अर्को गरी जिम्मेवारी पाउनुलाई फरकफरक पृष्ठभूमि र राजनीतिक स्कुलिङको अन्तरघुलनका रूपमा यसलाई बुझ्नुपर्ने नेताहरूले बताएका छन्।