नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष निकालेको छ।
गत चैत २४ गते काठमाडौंको जोरपाटीमा बसेको पार्टी जिल्लाको विस्तारित बैठकले अब एमालेको मूल नेतृत्व हस्तान्तरण होइन पुस्तान्तरणकै दिशामा जानुपर्ने निष्कर्ष निकालेको हो।
बैठकमा काठामाडौं कार्यक्षेत्र रहेका पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय सल्लाहकार, राजधानी प्रदेश कमिटीका पदाधिकारीहरू, जिल्ला कमिटीका सदस्यहरू, नगर र वडा कमिटीका पदाधिकारीहरू समेत थिए।
छलफलको निष्कर्षका आधारमा प्रतिवेदन तयार पारी उनीहरूले माथिल्ला कमिटीमा बुझाउने तयारी गरेका छन्।
अध्यक्ष दीपक निरौलाका अनुसार उक्त सुझाव प्रतिवेदन अब बागमती प्रदेश र केन्द्रीय कमिटीलाई पनि पठाइने छ। एमालेले तहगत कमिटीबाट चैत मसान्तभित्र चुनावी समीक्षा मागेको थियो।
केन्द्रमा एमालेले अहिलेसम्म चुनावी समीक्षा गरेको छैन।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा एमालेले काठमाडौंमा एक सिट पनि जितेको थिएन। १० सिटमध्ये २ ठाउँमा मात्रै जमानत जोगाउन सकेको थियो। ४ ठाउँमा तेस्रो र ६ ठाउँमा चौथो बनेको थियो।
यसआधारमा समीक्षामा बसेको काठमाडौं जिल्ला कमिटीले हारका १२ वटा कारण निकालेको छ।

पहिलो कारण युवा पंक्ति आकर्षित हुन नसकेको उल्लेख गरेको छ।
‘पार्टीप्रति युवापंक्ति आकर्षित हुन नसक्दा युवाको मत पार्टीले प्राप्त गर्न सकेन। नेतृत्वप्रति युवाको आक्रोशका कारण पार्टीले नकारात्मक परिणाम व्यहोर्नुपर्यो,’ हारका कारणमा भनिएको छ।
पार्टीले जनतालाई भदौ २३ र २४ को कारण र तथ्य बुझाउन नसकेको पनि उल्लेख छ।
‘हामीले जनतालाई भदौ २३ र २४ को घटनाको तथ्य बुझाउन सकेनौं। जनभावाना र जनअपेक्षालाई बेवास्ता गर्यौं। यसको फाइदा अराजकतावादी पपुलिष्टहरूले उठाए। विदेशी चलखेल यसै मैदानमा हुन पुग्यो,’ एमाले काठमाडौंको चुनावी समीक्षा रिपोर्टमा उल्लेख छ।
निर्वाचन परिणामलाई लिएर एक अर्काप्रतिको दोषारोपण सान्दर्भिक, सामयिक र उपयुक्त नभएको एमाले काठमाडौंले बताएको छ। अब सिंगो पार्टीको सुधारको योजना अघि बढाइनुपर्ने उल्लेख छ।
‘निर्वाचन परिणामलाई लिएर एक अर्काप्रतिको दोषारोपण सान्दर्भिक, उपयुक्त छैन। सुधारको आवश्यकता हामी सबै तहमा र सबैमा छ। त्यसैले सिंगो पार्टीको सुधारको योजना अघि बढाइनुपर्छ,’ हारका कारण बताउँदै समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘पार्टीले गत निर्वाचनमा हार व्यहोर्नुका पछाडि हामीले नेपाली कांग्रेससँग गरेको गठबन्धनको औचित्य व्यवहारमा प्रमाणित गर्न सकेनौं। संविधान संशोधनको तयारीका कामहरू गर्न सकेनौं।’
एकै पुस्ताका नेतृत्व निरन्तर निर्वाचनमा देखिँदा पनि मतदातामा विकर्षण पैदा भएको एमाले काठमाडौंले बताएको छ। नयाँ दललाई कमजोर आँक्दा पनि पार्टीले पराजय व्यहोरेको उनीहरूको बुझाइ छ।
‘नयाँ दलप्रति कमजोर आकलन गर्नु र पार्टी अध्यक्ष र नेतृत्वलाई सीमित घेराभित्र राखी आधारभूत सूचनाबाट विमुख गराउँदै भ्रममा राखिनु मुख्य कारणहरू हुन्। त्यसैले अबको पार्टीमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र आमूल सुधार गरिनु जरुरी छ,’ एमाले काठमाडौंले किटान गर्दै भनेको छ।
सरकारमा रहेका बखत उठेका भ्रष्टाचार र सुशासनका मुद्दाहरूलाई किनारा लगाउन नसक्दा पनि पार्टी युवा आक्रोशको केन्द्रमा परेको उनीहरूको विश्लेषण छ। अझ कांग्रेसका मन्त्रीहरूबाट भएका बेथितिलाई समेत एमालेले प्रतिरक्षा गर्दा चुनावमा त्यसको मूल्य चुकाउनुपरेको पनि उनीहरूले बताएका छन्।
‘हाम्रो पार्टी सरकारमा रहेका बखत उठेका भ्रष्टाचार र सुशासनका मुद्दाहरू, अझ कांग्रेसका मन्त्रीहरूबाट भएका बेथितिलाई समेत हामीले प्रतिरक्षा गर्नुपर्दा आम जनतामाझ हाम्रो लोकप्रियता घट्न गयो। सामाजिक सञ्जालमाथिको नियन्त्रणले युवा आक्रोशलाई थप बढायो र त्या निर्वाचनसम्म पनि निरन्तर रहिरह्यो,’ एमाले काठमाडौंको विश्लेषण छ।
फागुन २१ को निर्वाचनको परिणाम तत्कालको प्रतिक्रिया मात्रै नभएको उनीहरूको समीक्षा छ।
२०७४ को निर्वाचनपश्चात नै पार्टीको जनमतमा देखिएको न्यूनीकरणप्रति सचेत हुन नसक्दा र उक्त परिणामहरूलाई श्रृंखलाबद्ध ढंगले विश्लेषण गर्न नसक्दा यो परिणाम आकलन गर्न नसकिएको उनीहरूले विस्तारमा चर्चा गरेका छन्।
निर्वाचनपूर्व महाधिवेशन (११ औं महाधिवेशन) मा देखिएको समूहबन्दी, समूहगत चुनावले पनि परिणाममा असर पारेको उनीहरूको बुझाइ छ।
‘११ औं महाधिवेशनमा देखिएको पार्टीभित्रको समूहबन्दी र खुलेआम समूहगत निर्वाचन प्रचारले पार्टीभित्र दुईदलीय प्रतिस्पर्धाजस्तो परिस्थिति निर्माण भयो र यो तिक्तता पछिसम्मै कायम रहँदा निर्वाचनमा अपेक्षित परिचालन र प्रभावकारिता रहन सकेन,’ समीक्षा प्रतिवेदनमा भनिएको छ।
पार्टीले भावी प्रधानमन्त्री भनी प्रस्तुत गरेको अध्यक्ष केपी ओलीप्रति आम जनता नकारात्मक भएको एमाले काठमाडौंले बताएको छ।
त्यस्तो परिवेशमा पार्टीको प्रधानमन्त्रीको उम्मेदवारलाई स्थापित गर्न प्रचारात्मक र संगठित पहलहरू हुन नसकेको पनि एमाले काठमाडौंले बताएको छ।
‘यसले हामी सुरूदेखि नै रक्षात्मक बनेको प्रमाणित हुन्छ। यसै कारणले पनि पार्टी नेतृत्वप्रतिको लाञ्छनालाई प्रतिवाद नहुँदा यस्तो परिणाम आयो। मातहत तहमा निर्वाचन केन्द्रीत बैठक, आधारभूत तहमा भेलाहरू राख्ने अभ्यासलाई व्यवस्थित ढंगले लागू गर्न सकिएन। तसर्थ निर्वाचनमा पार्टीको संगठित परिचालन हुन सकेन,’ उनीहरूको निष्कर्ष छ।
विगतमा सञ्चालन गरिएका पार्टी निर्माणका अभियानहरूबाट प्राप्त निष्कर्ष र सुझावहरूको कार्यान्वयनमा उदासीनता रहँदा पार्टी प्रणालीमा अपेक्षित सुधार हुन नसकेको एमाले काठमाडौंले बताएको छ। यसका कारण निर्वाचन प्रभावित हुन पुगेको उनीहरूले बताएका छन्।
‘डिजिटल प्रचारमा रहेको सीमितता, कतिपय स्थानमा निर्वाचन परिचालन कमिटी समयमा नै गठन हुन नसक्नु, गठन भएका पनि सक्रिय ढंगले परिचालन हुन नसक्नु र उम्मेदवार छनौटमा देखिएका केही असन्तुष्टिहरूलाई सम्बोधन गर्न नसक्दा पनि निर्वाचन परिणाम अपेक्षित हुन सकेन,’ एमाले काठमाडौंले भनेको छ।
समीक्षा प्रतिवेदनमा अध्यक्ष ओलीले नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको घरमा भेटिएको जलेको पैसालाई एआईद्वारा निर्मित भन्दा गलत सन्देश गएको उल्लेख छ। अध्यक्ष ओलीका यस्ता अभिव्यक्तिले थप विकर्षण पैदा गरेको उनीहरूले बताएका छन्।
सचिव महेश बस्नेतले बालेन शाहले जनकपुरमा चुनावी अभियानका सन्दर्भमा बोलेको ‘छौँरा’ शब्दलाई तोडमोड गर्दा मधेसी समुदायको भावनामा आघात पुगेको, पार्टीका उम्मेदवारहरूले स्पष्टीकरण दिँदै हिँड्नुपरेकाले पनि भोट घटेको एमाले काठमाडौंले बताएको छ।
पार्टी केन्द्रलाई १२ बुँदे सुझाव
पार्टी सञ्चालनका सन्दर्भमा विधानका व्यवस्था, नीति सिद्धान्तको अक्षरशः पालना हुन नसकेको, व्यक्तिकेन्द्रित संगठन र अभ्यासहरू बढेका कारण पार्टी संगठन कमजोर हुन पुगेको उनीहरूले बताएका छन्। यसर्थ अहिलेको परिस्थिति उत्पन्न हुनुमा पार्टीको मूल नेतृत्व र नीतिगत कमजोरीहरू देखिएकाले यहीँबाट सुधार गर्नुपर्ने उनीहरूको जोड छ।
पार्टी सञ्चालनमा एमालेले आत्मसात गरेको सिद्धान्त; सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीको सही ढंगले पालना हुन नसकेको भन्दै यसले गर्दा संगठनहरू कमजोर हुने र व्यक्ति हावी हुने अवस्था सिर्जना भएको भन्दै यथाशीघ्र सुधारको माग गरेका छन्।
पार्टीका विभन्न तहको नेतृत्वमा रहेका नेतृत्वपंक्तिको जीवनशैली, आचरण, अभिव्यक्ति र व्यवहार उपयुक्त नदेखिएको उनीहरूको ठहर छ। यसलाई जनताले नरूचाएको एमाले काठमाडौंले बताएको छ। यसबारे समयमा नै पार्टीले यस विषयमा सबै तहका नेतृत्वलाई सचेत गराउन जरुरी रहेको पनि उनीहरूले औंल्याएका छन्।
विद्यमान कमिटी प्रणाली असंगतीपूर्ण रहेको, कमिटीका आकार ठूलो भएको, नेताको संख्या बढ्ने तर मैदानमा काम नहुँदा कार्यकर्ता पंक्ति घट्दै जाने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन्। अहिलेको कमिटी आकार, ढाँचा र गठन प्रक्रियामा सुधार गर्न सुझाव दिएका छन्।
‘पार्टी र जनताबीचको सम्बन्ध टाढिएको छ। मातहत कमिटीहरूले जनताको सूचना र गुनासा लिने र माथिल्लो कमिटीमा पठाउने कार्यहरू नियमित भइरहेका छैनन्। पार्टीको उच्च निकायसम्म जनताका जायज सरोकारहरूको सूचना पुग्न सकेको छैन। यसमा सुधार गरिनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।
विगतमा पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गर्न चाहना राख्दाराख्दै उनलाई पार्टी सदस्यताको हकबाट विमुख गरिएको भन्दै समीक्षा प्रतिवेदनमा नेतृत्वको आलोचना गरिएको छ। यसले पार्टी पंक्तिमा मात्र नभइ आम जनतामा पनि निराशा उत्पन्न गराएको विश्लेषण गरिएको छ।
‘तसर्थ पूर्व राष्ट्रपतिलगायत यस्ता संवैधानिक प्रमुख भएका व्यक्तिहरूको कार्यकालपछि पार्टीमा हैसियत के हुने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ,’ प्रतिवेदनमा भनिएको छ।
विगतमा पार्टीले कायम गरेको उमेरहद र कार्यकाल सीमाको व्यवस्थाले नयाँ नेतृत्व विकासको बाटो खुला गरेको सन्दर्भ प्रतिवेदनमा उल्लेख छ।
‘उक्त व्यवस्था हट्दा नयाँ पुस्तामा निराशा छायो र नयाँँ पुस्तालाई आकर्षण गर्न सकिएन। अतः उक्त व्यवस्थालाई कायम गर्न उपयुक्त हुन्छ। पार्टीभित्र गोपनीयता, अनुशासनको पालना कमजोर हुँदा पाटी भित्र बहस र फरक मतको प्रस्तुति सहज नहुँदा सार्वजनिक टिकाटिप्पणी गर्ने, गोपनीयता पालना नगर्ने प्रवृत्ति हुर्कंदो छ। यसलाई नियन्त्रण र विधिसम्मत बनाइनु जरूरी छ,’ प्रतिवेदनमा भनिएको छ।
आगामी दिनमा पार्टीले जनसांख्यिक वस्तुस्थितिको आधारमा संगठन निर्माण र परिचालन तथा भावी निर्वाचनहरूका लागि सम्भावित उम्मेदवारहरू, विशेष गरी युवा पंक्तिका उम्मेदवार, तयार गर्दै स्थापित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको निचोड बताइएको छ।
सहरी मतदाताहरूको मनोभाव बुझ्न नसक्दा र उनीहरूलाई प्रभावमा राख्न नसक्दा पार्टीले निर्वाचनमा हार व्यहोर्नुपरेको सन्दर्भ उल्लेख छ।
‘पार्टीभित्र हुर्किएको अवसरवादबाट लाभ लिएका अवसरवादीहरूलाई पार्टीले उपयुक्त ढंगले अनुशासनमा राख्ने र पार्टीप्रति योगदान दिन परिचालित गर्ने कार्यमा विगतमा भएको कमजोरीहरू सुधार गर्न जरुरी छ। जबजको मान्यताअनुसार जनाधारित कार्यकर्ता पार्टीले जनता र उनीहरूसँगको व्यवहार र अपेक्षा तथा कार्यकर्ता र कार्यकर्ताको योग्यता जिम्मेवारीमा स्पष्ट भई सोहीअनुसार परिचालन हुनुपर्नेमा विगतमा यसो हुन सकेन, यसमा सुधार गरिनुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ।
समग्रमा पार्टीभित्र देखिएको विसंगती, विकृति, संगठन प्रणालीमा देखिएका कमजोरी, पार्टी नीतिहरूको सान्दर्भिकता र राष्ट्रिय रूपमा नै उठेको पार्टी नेतृत्वको सान्दर्भिकताका विषयमा गम्भीर छलफल, विश्लेषण, समीक्षा हुन जरूरी रहेको प्रतिवेदनमा उल्लेख छ। यसको सम्बोधनको खाँचो पनि औंल्याइएको छ।
विविध कारणले पार्टी जिम्मेवारीबाट बाहिर पुगेका र पार्टी गतिविधिप्रति निरन्तर समर्पित कार्यकर्ता नेता पंक्तिलाई पार्टीको अभियानमा उपयुक्त जिम्मेवारीसहित जोड्न जरुरी रहेको पनि औंल्याइएको छ।
‘पार्टीको स्थापित विधिको माध्यमबाट हाल उठेका यी प्रश्नको जतिसक्दो चाँडो समाधान निकाल्ने र पार्टीलाई जनअपेक्षा अनुरूप पुनर्गठन र पुनर्संरचनाका पहलहरू गर्न तयार हुनुपर्छ,’ प्रतिवेदनको सुझाव खण्डमा उल्लेख छ।