सरकारले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएपछि त्यहाँबाट दशरथ रंगशालास्थित 'स्क्रिनिङ सेन्टर' जानेमा अहिलेसम्म १५ परिवार छन्।
त्यहाँ अहिले काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाले छुट्टाछुट्टै रूपमा विवरण 'इन्ट्री' गरिरहेको छ।
उनीहरूको बसोबास र खानपिनको समन्वय भने काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
सहरी विकास मन्त्रालयका तर्फबाट सजीकरण र समन्वय गरिरहेकी उपसचिव कविता केसी बोगटीले सबभन्दा पहिला उनीहरूको लगत संकलन गरी देशभरि अन्यत्र कतै जग्गा-जमिन भए/नभएको यकिन गरिने र त्यसपछि वैकल्पिक व्यवस्था गरिने जानकारी दिइन्।
'त्यो बेलासम्म उहाँहरूको बसोबास र खानपिनको व्यवस्था यहीँ हुनेछ,' उनले भनिन्।
सुकुम्बासी बस्तीबाट ल्याइएका सामान रंगशाला ल्याइपुर्याइएको छ। गाडीबाट भने झारिएको छैन। सुकुम्बासी परिवारका सामान लोड गरिएका गाडी अहिले रंगशालाको मुख्य प्रवेशद्वारबाट भित्र राखिएको छ।
रंगशाला ल्याइएका सुकुम्बासी परिवारका सदस्यलाई महानगरपालिकाले चाउचाउ, बिस्कुट, पानी खुवाइरहेको छ। उनीहरूको तथ्यांक र अन्य विवरण संकलनको काम रंगशालाको पश्चिमतर्फको प्यारापिटमुनि भइरहेको छ।
यहाँ ठूलो भिडभाड छैन। सबै काम सहज ढंगमा भइरहेको छ।
अहिलेसम्म रंगशालाको होल्डिङ सेन्टर पुगेका परिवारमा रौतहट घर भएकी मनीषा यादव र उनका ५ र ३ वर्षका बच्चा छन्।
त्यस्तै, दिनेश चेपाङ, इन्द्रबहादुर गुरूङ, बबिता बुढाथोकी, कृष्णबहादुर तामाङ, साउन्चा पोडे, अम्बिका दर्जी, पनिता थापा मगर, शिवकुमार चौधरी, कमल खपाङ्गी, मानबहादुर थिङ, गायत्रीमाया श्रेष्ठ, विनोद तामाङ, पुष्पा कसाई, रवानी अंसारीको परिवारलाई रंगशाला लगिएको छ।
यीमध्ये कमल खेपाङ्गी, गायत्रीमाया श्रेष्ठ र पुष्पा कसाईको परिवारलाई होल्डिङ सेन्टर पठाइएको छ।
यसबीच सुकुम्बासीहरू थापाथलीको बस्ती छाडेर हिँडन थालेपछि डोजर, एक्स्काभेटर परिचालन गरी यहाँका झुपडी र भौतिक संरचना भत्काउन थालिएको छ। अहिलेसम्म करिब ७० प्रतिशत संरचना भत्काइसकेको महानगर नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बताएका छन्।
यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीलाई राख्न पाँचवटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ।
नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ। खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि राख्ने भएको छ।