आज काठमाडौंमा दिनभरजसो पानी पर्यो।
केही सुकुम्बासीहरू परिवार दशरथ रंगशालामा भेला भएका छन्। त्यहाँ काठमाडौं महानगरलगायत सरकारी निकायद्वारा विवरण संकलनको काम भइरहेको छ।
दशरथ रंगशालामै आइपुगेका छन् ७० वर्षे ज्ञानबहादुर तामाङको दम्पती।
उनीहरू ४० वर्षदेखि सिनामंगल क्षेत्रमा बस्दै आएका थिए। शनिबार डोजरले उनीहरूको घर भत्काइदियो, सामान ओतमा राख्न पाएनन्।
‘दर्के झरीले हाम्रो सामान सबै भिजायो, सडकमै राखेका थियौं,’ ज्ञानबहादुरले सेतोपाटीसँग भने, ‘हामी यहाँ आयौं, सिरक दसना पनि भिजायो होला, ओत लगाउन पाएको थिएन।’
घर भत्काउन डोजर आउँदैछ भन्ने सुनेर ज्ञानबहादुरको परिवारले सामान घरबाहिर ल्याएका थिए।
‘तर सिंनामंगलमा अहिले भत्काउँदैन रे भन्ने सुनेर बाहिर निकालिसकेको सामान पनि घरभित्र लगेर राखेँ,’ उनले भने, ‘केहीबेरमा डोजर आएर घर भत्काउन थाल्यो, हतारहतार सामान झिकेका थियौं, त्यो पनि जोगाउन सकिएन।’
उनले सरकारले जहाँ लैजान्छ त्यही गएर बस्ने पनि बताए।
‘हामीलाई सरकारले जहाँ लैजान्छ त्यहीँ जाने हो, घरमा अहिले सन्तान थिएनन्, हामी बुढाबुढी मात्रै थियौं,’ उनले भने।
उनको मात्र होइन, सामान ओतमा राख्न नपाएका सुकुम्बासीहरूको सामान आजको झरीले भिजाएको छ।
दशरथ रंगशालामा पनि कतिपय सुकुम्बासी परिवारका सामान ल्याइएको छ। ती पनि बाछिटाका कारण भिजेका छन्।