पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले घरमै आराम गरिरहेका छन्।
केही दिनयता ओलीको शल्यक्रिया गरेको घाउमा संक्रमण बढेको छ। यसले बाह्य भेटघाट बन्द गरिएको छ। परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न दिइएको छैन।
केही दिनयता ओली गुण्डुस्थित आफ्नो निवासको भुइँतलामा समेत नओर्लिएको पार्टीका एक नेताले बताए। उनका अनुसार संक्रमण बढेपछि पत्नी राधिका शाक्यले भेटघाट बन्द गरिदिएकी छन्।
अध्यक्ष ओली नतंग्रिँदा नेकपा एमालेकै स्वास्थ्य बिग्रिएजस्तो भएको छ। प्रतिनिधिसभा निर्वाचन सकिएको दुई महिना पूरा हुन लाग्दा पनि एमालेले चुनावको समीक्षा गरेको छैन। पार्टीको नियमित बैठक र छलफल ठप्पप्रायः छ। ओली पूर्ण रूपमा ठिक नहुँदासम्म पार्टी बैठक बस्ने सम्भावना कम रहेको नेताहरू बताउँछन्।
नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी सचिवालय बैठक तत्काल बस्ने सम्भावना नरहेको बताए। अध्यक्ष ओली पूर्ण रूपमा ठिक भइनसकेकाले बैठक बस्न ढिलाइ भइरहेको उनले बताए।
एमालेले यसअघि वैशाख अन्तिममा केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको थियो। अध्यक्ष ओलीको स्वास्थ्य प्रतिकूल बनेपछि बैठक अनिश्चित बनेको एक पदाधिकारीको भनाइ छ।
पित्तथैलीको शल्यक्रिया गरेका ओली २१ दिनपछि गत वैशाख २५ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। चैत १४ गते पक्राउ परेका उनी वैशाख २६ गते हाजिरी जमानीमा रिहा भएका थिए। तर पित्तथैलीको पत्थरी निकाल्नुपर्ने भएकाले उनको चैत ३० गते शल्यक्रिया गरिएको थियो।
अहिले एमाले कार्यकर्ता पंक्तिमा विशेष महाधिवेशनको माग पनि भुसको आगो बनिरहेको छ।
बुद्धिजीवी परिषदका अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी, राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र कार्की लगायतले विशेष महाधिवेशन माग गर्दै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर गराइरहेका छन्।
विगतमा ओलीकै पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल समेत अब अध्यक्ष ओलीबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुगिसकेका छन्। उनीहरू ओलीको सम्मानजनक बहिर्गमनको पक्षमा छन्।
त्यसबाहेक इतर समूहले त पार्टी पुनर्गठनको माग पहिलेदेखि नै उठाइरहेका थिए। उक्त समूहमा उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायत नेताहरू थिए।
यसले शारीरिक प्रतिकूलतासँगै ओलीलाई सचिवालय सदस्यहरूले नै राजीनामा माग्ने भय पनि छ।
'पटक पटक ओलीलाई विश्वास गर्दा हामीमाथि ठूलो धोका भएको छ। यसपटक हामी त्यो गल्ती गर्ने पक्षमा छैनौं। हामीले खोजेको ओलीको बिदाइ नै हो तर त्यो सम्मानजनक हुनेछ,' विगतमा ओली पक्षमै रहेका एक पदाधिकारीले भने।
गत मंसिर अन्तिम साता भएको ११औं महाधिवेशनपछि पार्टी संरचनामा ओली सुविधानजनक बहुमतमा थिए। १९ सदस्यीय सचिवालयमा ओलीको एकलौटी थियो। केन्द्रीय कमिटीमा झन्डै दुई-तिहाइ उनको पक्षमा थिए।
निर्वाचनमा २५ सिटसहित तेस्रो स्थानमा खुम्चिएपछि विगतमा आफ्नो समूहमै रहेकाहरूले अध्यक्षबाट राजीनामा माग्न थालेकाले ओली दबाबमा छन्। त्यसैले उनी सकेसम्म बैठक धकेल्ने मनस्थितिमा देखिन्छन्। उनलाई स्वास्थ्यले पनि साथ दिइरहेको छ।
'सचिवालय बैठक बस्नासाथ उनले राजीनामाको दबाब खेप्नुपर्नेछ। उपाध्यक्ष विष्णु पौडेल सहितका नेताहरू अब ओली सहितको एमाले अघि बढ्न नसक्ने निष्कर्षमा पुगिसक्नुभएको छ। त्यसमा नेताहरू थपिने क्रम जारी छ। सचिवालय तहमै ओलीले छाड्नुपर्छ भन्ने मत बलियो बन्दै गएपछि तल पनि त्यसको प्रभाव परिहाल्छ। अहिले ओलीलाई भय यसैको हो,' अर्का पदाधिकारीले भने।
केही दिनअघि महासचिव शंकर पोखरेलले पार्टी निर्वाचनको समीक्षा चरणमा रहेको बताएका थिए। अनलाइन प्रश्नावली बनाएर तल पठाइएको र त्यसै आधारमा तलबाट समीक्षात्मक रिपोर्ट तहगत कमिटी हुँदै माथि आउने क्रममा रहेकाले केही दिनभित्रै अध्यक्ष ओलीकै उपस्थितिमा बैठक बसेर चुनावी समीक्षा गरिने उनले बताएका थिए।
त्यसपछि पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने उनको भनाइ थियो।
'निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ,' उनले भनेका थिए।
महासचिव पोखरेलले नै पार्टी पुनर्गठन गर्ने बताएपछि एमाले पंक्तिले यसलाई अर्थपूर्ण रूपमा लिएको छ।
इतर समूह भने ओली समूहभित्रै विभाजन पर्खिरहेको छ। ओली समूहभित्रै राजीनामाको चर्को आवाज नउठ्दासम्म पुनर्गठनको आधार बलियो नहुने बुझाइमा उनीहरू देखिन्छन्।
ओली समूहभित्रका असन्तुष्ट नेता–कार्यकर्तासँग उनीहरू संवादमा त छन्, तर संस्थापन पक्षकै नेताहरू मुखर हुनुपर्ने उनीहरूको तर्क छ।
'एक त हाम्रो उपस्थिति नै कमजोर छ। अर्को, उनीभित्रैबाट राजीनामाको माग नउठेसम्म ओली कमजोर पनि हुँदैनन्,' इतर समूहका एक नेताले भने।