नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्षहरूले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्।
उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्तले परिस्थिति मूल्यांकन गरेर अध्यक्ष ओलीले निकास दिनुपर्ने धारणा राखेको एक नेताले बताए।
'आजको सचिवालय बैठकमा नेताहरूले खुलस्त कुरा राख्नुभएको छ। अध्यक्ष अोलीको नेतृत्वमा अब आन्दोलन अघि बढ्न नसक्ने र परिस्थिति मूल्यांकन गरेर अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने विषय उठेको छ,' ती नेताले भने।
बैठकमा अध्यक्ष ओलीको कार्यविभाजन प्रस्तावमाथि धारणा राख्ने क्रममा उपाध्यक्षहरूले आज राजीनामा शब्दको प्रयोग गरेनन्। तर निकास दिनुपर्छ भन्ने समान धारणा रहेको बताएका थिए।
उपाध्यक्ष रामबहादुर थापा बादलले मात्रै ओलीको पक्षमा बोलेका थिए। उनले आफूले चैत १९ गते प्रतिनिधिसभा बैठकमा बोलेको कुरा सही भएको निचोड राखेका थिए।
'जेनजी आन्दोलनमा सेनाको भूमिका के थियो, हामी सबैलाई थाहा छ, त्यो सफ्ट कू नै हो। चुनावमा पनि सेनाको भूमिका शंकास्पद थियो। हामीलाई षड्यन्त्रपूर्वक हराइएको हो,' उनले भनेका थिए। अध्यक्ष ओलीले त्यसमा समर्थन जनाएका थिए।
उपाध्यक्ष विष्णु पौडेलले अहिलेको परिस्थितिको समग्र समीक्षा हुनुपर्ने र पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनले पहिलो विधान महाधिवेशन, दसौं राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टी लोकतान्त्रीकरणको विषय, कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु त्रुटिपूर्ण रहेको भन्दै यो प्रावधानलाई पुनः पार्टी आन्दोलनको अंग बनाउनुपर्ने धारणा राखेका थिए।
उनले आफूले उठाउँदै आएको पार्टी संगठन र नेतृत्व पुनर्गठनको विषयलाई सचिवालय बैठकमा राखेका थिए।
पृथ्वी सुब्बा गुरूङले पनि अहिलेको परिस्थिति मूल्यांकन गर्नुपर्ने धारणा राखेका थिए। पार्टी कमजोर अवस्थामा रहेको भन्दै समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्तले पनि पार्टीको कार्यशैली, नीति, दृष्टिकोणमा बृहत् समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
आठौं सचिवालय बैठक शनिबार पनि बस्नेछ। शनिबारको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव र सचिवहरूले धारणा राख्नेछन्। उपमहासचिव लेखराज भट्टले बैठकमा अहिलेसम्मकै सघन छलफल भएको बताए।
‘आज उपाध्यक्षहरूले राम्रैसँग विषय राख्नुभयो। सायद यसरी छलफल भएको पहिलोपटक होला। नेताहरूले लामो र खुलेर आफ्नो विचारहरू प्रस्तुत गर्नुभएको छ। भोलि हाम्रो पालो आउँछ,’ उनले भने।
उनले कार्यविभाजन प्रस्तावमा सुझाव आउनसक्ने र आवश्यक पर्दा संशोधन हुन सक्ने धारणा राखे।
सचिवालय बैठक भोलि बिहान ११ः३० बजे ओलीनिवास गुण्डुमै बस्नेछ।