नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा ६० वर्षमाथिका बिदा भएर त्यसभन्दा तलका पुस्तालाई पार्टी आन्दोलन जिम्मा लगाउनुपर्ने धारणा राखेका छन्।
शनिबार अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसेको आठौं सचिवालयको तेस्रो दिनको बैठकमा बोल्दै उनले पार्टी आन्दोलन पुस्तान्तरणको प्रस्ताव राखेको एक नेताले बताए।
‘६० वर्ष पूरा भइसकेको हामी सबै बिदा भएर त्यसभन्दा मुनिकालाई नेतृत्व गर्न दिऔं,’ भट्टले प्रस्ताव राख्दै भनेका थिए।
अर्का पदाधिकारीका अनुसार भट्टले पनि पुनर्गठनको पक्षमा धारणा राखेका थिए।
‘उहाँले ६० वर्षभन्दा माथिको सबै बिदा हुनुपर्ने धारणा राख्दै पुनर्गठनकै पक्षमा आवाज मुखरित गर्नुभयो,’ उनले भने।
उनीअघि बोलेका महासचिव शंकर पोखरेलले पार्टी यथास्थितिमा चल्न नसक्ने बताएका थिए।
‘पार्टी आन्दोलन यही अवस्थामा चल्नैन। समग्र पुनर्गठन गरेर जानुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका थिएनन्। उनले उठाउँदै आएको पुनर्गठनको विषयलाई सचिवालय बैठकमा स्पष्टसँग राखेका थिए।
उपमहासचिव लेखराज भट्टका अनुसार शनिबारको बैठकमा ९ जना पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए। बैठक भोलि ११ः३० बजे पुनः अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्नेछ।
बैठकमा ४ जना सचिवहरूले धारणा राख्न बाँकी छ।